सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना महामारी र त्यसपछिको जीवन

मङ्गलबार, २५ चैत २०७६, १५ : ११
मङ्गलबार, २५ चैत २०७६

-सिर्जना तिम्सिना 

महामारीका प्रकोप इतिहासका कैयौँ कालखण्डमा मानव जीवनमा दोहोरिरहेका घटना हुन् । कोरोनाभाइरस (कोभिड–१९) त्यसैको निरन्तरतामा हाम्रो जीवनमा आइपरेको अप्रत्यासित परिघटना हो । यसले गर्दा अचानक हाम्रो जीवनशैली बदलिदियो ।

छोटो समयमै विश्वका अर्बाैं मानिसलाई अङ्कमाल गर्नबाट छुटायो । हात मिलाउनबाट छेकेको छ । सार्वजनिक ठाउँमा भेला हुन, यात्रा गर्न र मनोरञ्जन गर्न बार लगाएको छ । त्यति मात्रै हैन यो पङ्क्ति लेख्दै गर्दा ७४ हजारको प्राण खाइसकेको छ । त्यो सानो भाइरसले १३ लाखभन्दा धेरैलाई एकान्तवास, आईसीयू र भेन्टिलेटरमा थुनिराखेको छ । त्यही कोरोना अझै फैलिँदै तपाईं हामीतिर लम्किरहेको छ, जो अहिलेसम्म सुरक्षित महसुस गरिरहेका छौँ । थाहा छैन हामी बोल्दै गर्दा, लेख्दै गर्दा, हिँड्दै गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा गर्दै कतिखेर एकान्तवास जानुपर्ने हो । कतिलाई चितामै पुर्याउने पो हो कि ? यो हाम्रो जीवनकै अनिश्चितता बनेर आएको छ । 

डिसेम्बर ३०, २०१९ अघिको हाम्रो सुख र दुःख सहितको स्वतन्त्र जीवन एकाएक निराशा, सङ्कुचनमा परिणत गरेको छ । खुला आँखाले नदेखिने यो भाइरसले मान्छेको जिन्दगी नै रोकिदिएको छ । हाम्रो फोक्सो र घाँटीमा आक्रमण गरेर जीवन नाश पार्दैछ । हामी सामाजिक सञ्जालका माध्यमले आफ्ना जिम्मेवारी पूरा गर्दैछौँ, आफ्ना दुखः र सुख साझा गर्ने प्रयास गरीरहेका छौँ । मानिसको त्यो आनन्दमयी जीवन दुखःमा बदलिएको छ । तसर्थ कोरोना महामारीअघि र पछि तपाईं र हामीले पाएको फरक अनुभूति दुई फरक अध्याय हुन् । यसपछि हाम्रो जीवन शैली, संस्कृति र कार्यशैलीमा परिवर्तन हुन सक्छ । 

डिसेम्बर अन्त्य २०१९ बाट फैलिएको यो महामारीबाट बच्नका लागि चीन, अमेरिकालगायत विश्वका ३१  देशका वैज्ञानिक खोज अनुसन्धानमा जुटिरहेका छन् । करिब ४० प्रकारका भ्याक्सिन परीक्षण पनि भइरहेको छ । केही पशुमा र केही मानवमै परीक्षण हुँदैछन् भन्ने खबर सार्वजनिक हुँदैछन् तर यसले सफलता पाउन कति समय लाग्ने हो निश्चित छैन । ६ महिना एक वर्ष वा डेढ वर्षभन्दा बढी लाग्ने शोधकर्ताहरूको अनुमान छ ।

अहिले मानव जातिसँग अहिले कोरोनाविरुद्ध भ्याक्सिन तयार छैन तर पृथ्वीलाई पूरै नष्ट पार्नसक्ने परमाणु बम र स्टेल्थ पाइटर जेट र युद्धपोतहरू छन् । पैसा छ प्रविधि छ । तर कोरोना विरुद्धको हतियार छैन । त्यसैले नै कोरोना विरुद्धको युद्धमा हाम्रो विजय कहिले ? यो निश्चित छैन । यसलाई अहिले हामीसम्म आउन नदिने एक मात्र विकल्प सामाजिक दूरी, एकान्तवास र सङ्घर्ष गर्नु नै हो । कोरोना महामारुविरुद्ध एकान्तवास बाहेक अरु उपाय छैनन् । यसविरुद्ध भ्याक्सिन र ओखती बनेपछि यसलाई खुल्ला रूपले चुनौती दिनेछौँ । हामीले विजयको गीत गाउने छौँ । हाम्रो जीवनलाई नयाँ अध्यायमा लाने छौँ । 

अहिले धेरैको रोजगारी गुमेको अवस्था छ । छाक टार्न नसकेकोमा चिन्ता छ । व्यापारी कसैलाई मालामाल हुने स्थिति छ । कसैलाई घाटाको भयङ्कर भारीले सडकमा ल्याउन पनि सक्ला । यसको लेखाजोखा कोरोनालाई जितरे हाम्रो रोकिएको जीवन सुचारु नहँुदासम्म तथ्याङ्कीय पूर्वानुमान गर्न सकिँदैन । 

कोरोनाको भ्याक्सिन तयार भएपछि पनि यसले पटक पटक फर्किएर मानव जीवनमा हमला गर्न सक्दछ । दादुरा, पहेँलो ज्वरो जस्ता अनेकौँ नयाँ महामारीहरू हाम्रो जीवनमा दोहोरिन सक्छ । 
 अब हाम्रो जीवनमा नियमित मास्क लगाउने नयाँ संस्कृतिको रूपमा कायम रहन सक्छ । अङ्कमाल नगर्ने टाढैबाट अभिवादन (नमस्कार) गर्ने चलन बढ्न सक्नेछ  । भिडभाड गरिरहनु हुँदैन भन्ने चेतनामा आइरहन सक्छ । कोरोनाले मानिसलाई सधैँ त्रस्त बनाइरहने छ । 

 ठूला कर्पोरेट कार्यालयहरू, बाक्लो मात्रामा जम्मा भएर काम गर्नुपर्ने मजदुरहरूलाई दूरीसहित काम गर्ने अवस्था बन्न सक्छ । घरैबाट इन्टरनेट र प्रविधिका माध्यमले काम गर्ने संस्कृति बढ्न सक्छ ।  अहिले न्युयोर्क, इटालीमा वा बढी जनसङ्ख्या भएका जुनसुकै ठाउँमा अत्यधिक सङ्क्रमित भएको देखिन्छ । त्यस कारण मानिसहरूको बसोबास र सहरी संस्कृतिमा परिवर्तन आउन सक्छ । सहरका बाक्ला बस्तीका भवन, मानिसको भीडभन्दा अलि वरपर प्राकृतिक सौन्दर्यको छेउछाउमा अर्थात गाउँतिर बास बस्न मन पराउने हुन सक्छ । ठूला अपार्टमेन्ट र कम्लेक्समा दूरी कायम गरिन सक्छ ।  अब रेस्टुरेन्ट, होटलहरूमा सामाजिक दूरी कायम हुने गरी पुनर्संंरचना हुनेछन् । 

प्रकृतिको अत्यधिक दोहन घट्न सक्छ । त्यसले वातावरण संरक्षण गरी जैविक विविधताको संरक्षण पनि गर्नेछ । लकडाउनपछि काठमाडौँको,  दिल्लीको आकाश स्वच्छ देखिनु, चीनको वायुप्रदूषण कम हुनु त्यसका सकरात्मक प्रभावहरु हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप