शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ स्वास्थ्यमा कोरोनाले लामै असर गर्नेछ

मैले त घरलाई नै समय दिएको रहेनछु : लकडाउन परिवारसँग समय बिताउने अवसर पनि
मङ्गलबार, २५ चैत २०७६, १० : ५७
मङ्गलबार, २५ चैत २०७६

कोरोनाका कारण यतिखेर कडीकडाइ ‘लकडाउन’ छ र आमनागरिकहरु घरमै बन्धकजस्तैको स्थितिमा छन् ।  सामान्य जीवनभन्दा सकसपूर्ण भएपछि लकडाउनको यो समय वास्वतमा घरपरिवारसँग विताउने अवसर पनि हो । पारिवारसँग अझ सामिप्यता बढाउने समय हो । यसले कतिपय मानिसलाई आफ्नो धरातल सम्झाएको छ । 

अहिलेको ‘लकडाउन’लाई मुलुकका विभिन्न क्षेत्रमा जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरुले कसरी सदुपयोग गरिरहेका छन् भनेर विगत केही समयदेखि हामीले लडकडाउन डायरी प्रकाशित गर्दै आएका छौं । यसै सिलसिलामा हामीले यसपटक सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको लकडाउन’ डायरी प्रस्तुत गरेका छौं । पढौं उनकै शब्दमाः

घरको काममा सघाइरहेको छु

परिवारमा मेरो छोरो अमेरिकामा छ । म श्रीमती र छोरी यहाँ छौं । हामी मिलेर घरमा काम गर्छौं । फुलमा पानी हाल्छौं । संगै बसेर भाडा माझ्छौं, खाना पकाउँछौं, टिभी हेर्छौं । यसो समय मिलाएर किताब पनि पढ्छु । अहिले ‘द म्याजिक अफ थिंकिङ बिज’ भन्ने किताब पढिरहेको छु ।  ‘रिच ड्याड र पुअर ड्याड’ भर्खर पढिसकें । संगीत पनि सुन्छु । साँझ ६ देखि ८ बजेसम्म योगाभ्यास गर्छु । म ठुलो दुर्घटनाबाट बाँचेको हुनाले पनि योगा गर्नुपर्छ ।

कात्तिकको  ५ गते बर्दिबासबाट शाखा भ्रमण गरेर फर्कदा हामी चढेको गाडी पल्टियो  । पथलैया र अमलेखगंजको बीचमा गाडी पल्टेको गाडीले मेरो घाँटीमा गहिरो चोट लाग्यो । घाँटी अझै पनि दुख्दैछ । यसैले घाँटीको त्यो दुखाइलाई कम गर्नका लागि पनि व्यायाम गर्छु ।

बैंक खोलेर सेवा दिएका छौं

हामीले यस्तो अवस्थामा पनि बैंक खोलेर सेवा दिइरहेका छौं । हरेक दिन ११ बजेदेखि १ बजेसम्म बैंक खुला रहन्छ ।  ग्राहकलाई असर नपर्ने गरी सेवा दिनुपर्छ भन्ने उदेश्यले हाम्रा कर्मचारीहरु अत्यन्त उत्साही ढंगले काम गरिरहनु भएको छ । हाम्रा शाखाहरुले दिइरहेका सेवाको अनुगमन गर्न म आफैं पनि भनेर विभिन्न शाखाहरु घुमेको छु ।  दैनिक कमसेकम २५/३० वटा सिटिजन्स बैंकको शाखा खुलिरहेका छन् । कारोबार पनि भइरहेको छ । ग्राहकहरु आएका छन् । तर म घरमै बसेर काम गरिरहेको छु । यद्यपि कहिलेकाहाही कार्यालय जान्छु ।  म प्रत्येक दिन १६/१७ घण्टा काम गर्छु । डिजिटल फर्ममा काम गरिरहेका छौं । लकडाउन भनेर चुपचाप बस्ने कुरा पनि आएन । बैंकका धेरै कुरालाई तत्काल समाधान गर्नुपर्ने हुनाले हरदम तम्तयारीकै अवस्थामा रहनुपर्ने हुन्छ ।

अहिले हामी सबै मानव जाति मनलाई शान्त राख्ने प्रयासमा हामी हिँडिरहेका छौ । कोरोनाभाइरसद्वारा सिर्जित अहिलेको अवस्था  गम्भीर भएकाले नेपाल सरकार पनि गम्भीर देखिएको छ ।  यसमा हामीले साथ दिनुपर्छ । खासगरी हामी समाजमा काम गर्ने भएकाले हाम्रो सेवा भनेको पैसासँग सम्बन्धित सेवा हो । व्यक्तिले पैसा पाउनु भएन भने सामान किन्न पनि गाह्रो हुन्छ । बाहिरबाट सामान ल्याउने, एलसी खोल्ने जस्ता व्यापारिक गतिविधिका लागि बैंक मै पुग्नुपर्छ ।

उग्र होइन सन्तुलित हुनुपर्छ 

मानिस धेरै उग्ररुपले अघि बढ्नु हुँदैन, सबैकुरामा सन्तुलित हुनुपर्छ । उग्रताले अप्ठ्यारो ल्याउन सक्छ भन्ने पाठ अहिलेको परिस्थितिले सिकाएको छ । परिवारसँग घुलमिल हुने, एकले अर्कालाई काममा सहयोग गर्ने र अझै बढी सामिप्यताको लागि कोरोनाले बाटो पनि देखाएको छ । जस्तोसुकै परिस्थतिमा अतालिनु हुदैन । हरेक परिस्थितिमा अनुशासित हुनुपर्छ । म धेरै जसो कार्यालयको काममा नै व्यस्त भएको रहेछु । घरमा केही सघाउँनै पाएको रहेनछु भन्ने अनुभुति अहिले भएको छ । अलि फरक ढंगले सोच्ने हो घरमा काम गरेर रमाउने अवसरकै रुपमा अहिलेको परिस्थिति आएको छ । अघिपछि शनिवारको दिन बिदा हुन्थ्यो त्यो बेला पनि केही गर्न भ्याइन्नथ्यो, खालि दिमागमा काम काम काम मात्रै भइरहन्थ्यो ।

ब्याजदर घटाएर राहत दिँदैछौं

ब्याजदर घटाउँने सन्दर्भमा आज (चैत २३) मा बैठक बसिरहेको छ । आजै बैठकले निक्षेपको ब्याजदर टुङ्गो लगाउँनेछ । अहिलेको यस्तो परिस्थितिमा  बाँच्यौं भने अरु बेला पनि बाँच्न सकिन्छ त्यसैले अहिलेको परिस्थितिलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउन खोजेका हौं । यतिखेर हामीले सोच्नैपर्ने कुराः आफू पनि बाँच्नु पर्यो, उद्योग धन्दाहरुलाई पनि बाँच्न दिनु पर्यो र समाजलाई बचाउन पर्यो ।

२/४ दिनमा सबै बैंकले ब्याजदर घटाउँछन् । यसले लागत घट्छ र बेस रेट घट्छ । यसले व्यापारीहरुलाई पनि राहत दिन्छ ।

त्रासको मानसिकताबाट उन्मुक्ति पाउन समय लाग्छ

‘लकडाउन’पछि पनि सामान्य अवस्थामा फर्कन केही समय गाह्रो हुन्छ ।  सजिलै बैकिङ प्रणाली अघि बढ्ला जस्तो लाग्दैन । थला परेको चिजलाई उठ्न समय लाग्छ ।  बैंकको नाफा घट्ने स्थिति देखेको छु । त्रासको अवस्थाबाट सामान्य अवस्थामा आउन मानसिक अवस्थाको कुरा पनि हुन्छ । शारीरिक अवस्था सबै ठिक भएपनि मानसिक त्रासदीबाट उन्मुक्ति पाउन समय लाग्छ । बैंकिङ स्वास्थ्यमा कोरोनाले लामै असर गर्ने मेरो अनुमान छ ।

बैंकको नाफा घट्नु भनेको राज्यको कर पनि घट्नु हो

बैंकिङ प्रणाली तत्काल पुरानै अवस्थामा आउन सक्ने देखिदैन । अहिले ४ प्रतिशतको सिआरआरलाई ३ प्रतिशतमा झारिएको छ । एटिएम कार्ड जहाँसुकै निःशुल्क चलाउनु भनिएको छ । यसले ग्राहकलाई सजिलो भएपनि बैंकको नाफा घटेको छ । बैंकको नाफा घट्नु भनेको राज्यले पाउने करको पनि कटौती हुनु हो । भविष्यमा कतिपय कुराको सुधार गर्ने ठाउँ पनि रहला । अहिले डिजिटल कारोबारलाई जोड दिइएको छ, जसले डिजिटल कारोबार गर्न सिकाएको छ ।

नियामक पनि सजग छन् । अर्थव्यवस्थ सकारात्मक भएको बेला एक्कासी कोरोनाका कारण देशमा ‘लकडाउन’ भएको छ । बैंकको परिधिमा हेर्दा पनि यसले गाह्रो अवस्था सृजना गरेको छ । सबै जना काममा फर्कने वातावरण हुन पनि समय लाग्ला ।

विदेशतिर बसेको व्यक्ति निश्चित समय बसेपछि थकाइ लाग्छ र नैपालमै केही गरु भनेर स्वदेश नै फर्कन्छन् । अहिलेको अवस्थामा गाउँमा गएकाहरुमा उत्पादनमुखी सोच आउन सक्छ । अब उत्पादन मै जोड दिनुपर्छ भन्ने सोच आउँला । जमिनको महत्व पनि बढ्ला । तर कति होला त्यस्ता जमात भन्ने मात्र हो । मजदुरी गरेर बस्नेहरुको हकमा होइन यहाँ गरे नि त्यहाँँ गरे पनि उही भनेर बस्ने होलान् । त्यसले उद्योगलाई कामदार नपाएर असर गर्ला तर बैंकिङ क्षेत्रलाई धेरै असर गर्ला जस्तो लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप