आइसोलेसनमा राखिएका १७ को ‘रिपोर्ट नेगेटिभ’, एक मात्रै क्वारेन्टाइनमा

कोरोना भाइरसको परीक्षण गरिएका १७ जनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोरोना भाइरससँग मेलखाने लक्षण देखिएका कारण आइसोलेसनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।
अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।
“पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ”, उनले भने । उनका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ ।
वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि रु २० लाख उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण शुरु गरेको हो । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएर मण्डनदेउपुर नपास्थित क्वारेन्टाइनमा बसेका आठमध्ये हाल एक बाँकी छन् । “अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै पठाइयो, उहाँहरुको निगरानी भइरहेको छ”, झाले भने ।
पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नपा–१२ कोलाँतीस्थित मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा मृत्यु भएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् । उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताए ।
यसैबीच काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले क्वारेन्टाइन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नपा र सात गाउँपालिकामा ३२१ श्ययाका क्वारेन्टाइन व्यवस्थित भएका हुन् । जसअनुसार बनेपा नपामा ६५, धुलिखेलमा ६०, पनौतीमा २० र मण्डनमा २०, पाँचखाल १०, नमोबुद्ध नपामा १८ तथा खानीखोला गाउँपालिकामा १५, तेमालमा पाँच, चौँरीदेउरालीमा पाँच, बेथानचोकमा आठ, रोशीमा १०, महाभारतमा ६५ र भुम्लु गाउँपालिकामा २० श्ययाका क्वारेन्टाइन व्यवस्थित गरिएका हुन् ।
पाँचखालमा वडा प्रवेशमा रोक !
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा एक वडाबाट अर्को वडामा जान नपाइने भएको छ । कार्यपालिकाको बैठकमा उक्त निर्णय गरिएको नगरप्रमुख महेश खरेलले बताए । “कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढिरहेका बेला सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि उक्त निर्णय गरेका हौँ”, खरेलले भने । उनका अनुसार तरकारी, दूध, औषधि तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते