शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक १३ डीआईजीको दरबन्दी कटौती : अस्वस्थ चलखेलको खतरा

मङ्गलबार, २५ चैत २०७६, ०९ : २१
मङ्गलबार, २५ चैत २०७६

काठमाडौँ । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको १३ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको हो ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) नै नगरी हचुवाको भरमा सरकारले डीआईजीको दरबन्दी कटौती गरेको प्रहरी अधिकारीहरुको आरोप छ । प्रहरी नियमावलीमा प्रहरी संगठनमा कुनै पनि दरबन्दी थप्न तथा घटाउन ओएन्डएम सर्वेक्षण गर्नुपर्ने प्रावधान छ ।

गृह मन्त्रालयले प्रशासनतर्फका डीआईजीको दरबन्दी २६ बाट १९ मा झार्ने प्रस्ताव गरेको थियो । सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले १३ मात्र राख्ने निर्णय गरेको स्रोतले बतायो ।

मन्त्रालयका एक अधिकारीका अनुसार धेरै डीआईजी हुँदा राज्यलाई आर्थिक भार पर्ने भएकाले घटाउन लागेको र नयाँ प्रहरी ऐनअनुसार समायोजनमा जाँदा धेरै डीआईजी नचाहिने भन्दै दरबन्दी घटाइन लागेको हो । 

स्रोतका अनुसार सात प्रदेशमा सात, महानगरीय प्रहरी कार्यालयमा एक, तीनवटा ब्यूरोमा तीन, प्रहरी एकेडेमीमा एक तथा प्रहरी मुख्यालयमा एक गरी १३ वटा डीआईजीको दरबन्दी राख्न लागिएको छ ।

डीआईजी बढुवा समयमै नहुँदा प्रहरीका महत्त्वपूर्ण विभाग र ६ प्रदेश एसएसपीको भरमा चलेका छन् ।

यसरी एक्कासी दरबन्दी कटौती गर्दा प्रहरी अधिकारीको करिअरमा असर पर्ने बताइएको छ । पटक–पटक डीआईजी दरबन्दी कटौतीबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच विवाद हुँदै आएको थियो ।


डीआईजी दरबन्दी कटौतीको निर्णयले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीलगायत उच्च प्रहरी अधिकारी असन्तुष्ट छन् । आईजीपी ज्ञवालीका अनुसार यसको असर फिल्डमा खटिने प्रहरी अधिकारीलाई समेत पर्नसक्छ । यो निर्णयको प्रहरी बढुवामा तत्काल असर देखिनेछ ।

थोरै मात्र पद हुँदा अस्वस्थ चलखेल हुने सम्भावना बढ्नसक्ने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले बताए । उनले भने, ‘थोरै पद हुँदा बढुवा पनि ढिलो हुन्छ, यसले प्रहरीमा नैराश्यता पनि छाउँछ ।’

डीआईजी दरबन्दी कटौती नगरेको अवस्थामा २२ एसएसपी डीआईजीमा बढुवा हुने थिए । अब १० जनामात्रै बढुवा हुनेछन् । बढुवाको मुखमा रहेकाहरू एसएसपीबाटै अवकाश पाउने अवस्थासमेत आउने सम्भावना छ ।

तीनवटा ब्याचका एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा छन् । बढुवाका लागि एसएसपीहरु शक्तिकेन्द्र धाइरहेका बेला कटौती निर्णयले उनीहरु झनै तनावमा छन् । सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

रिक्त रहेको डीआइजीका लागि एसएसपीहरु धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक र सहकुल थापा दाबेदारका रुपमा देखिएका छन् ।

यस्तै प्रदीपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप