शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीका बीच आयरल्याण्डका प्रधानमन्त्री डाक्टरी सेवामा फर्कने

मङ्गलबार, २५ चैत २०७६, ०८ : ४९
मङ्गलबार, २५ चैत २०७६

आयरल्याण्डका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारीका बीच हप्ताको एकदिन डाक्टरको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने योजना बनाएका छन् ।

लियो भाराद्कारले किङ्ग्स कलेजबाट औषधी विज्ञान अध्ययन गरेका हुन् भने डब्लिनको ट्रिनिटी कलेजबाट डाक्टरको तालिम पनि लिएका छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनले सात वर्ष डाक्टरी पेशासमेत गरेको रोयटर्सले जानकारी दिएको छ ।

पूर्व चिकित्सक  भाराद्कार आयरल्याण्डको मेडिकल रजिस्ट्रीमा पुनः समावेश हुँदै उनले आयरल्याण्डको स्वास्थ्य सेवा कार्यकारीलाई आफ्नो डाक्टरी सेवाको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले एबीसी न्यूजलाई सोमबार जानकारी दिए ।

‘उनका परिवारका थुप्रै सदस्य र साथीहरु स्वास्थ्य सेवामा कार्यरत छन् । उनले सानै प्रयासमार्फत् भएपनि सहयोग गर्न चाहेका छन्,’ प्रधानमन्त्री कार्यालयले बताएको छ ।

भाराद्कारका बुवा डाक्टर हुन् भने आमा नर्स हुन् । द आइरिस टाइम्सका अनुसार उनकी पार्टनर, दिदी– बहिनी र भिनाजु–ज्वाईं पनि स्वास्थ्य क्षेत्रमा नै कार्यरत छन् ।

यद्यपि, प्रधानमन्त्रीले कस्तो खालको स्वास्थ्य सेवा प्रदान गर्नेछन् भन्नेबारे उनको कार्यालयले कुनै जानकारी त दिएको छैन तर द आइरिश टाइम्सका अनुसार प्रधानमन्त्रीले फोनमार्फत् अपोइन्टमेन्ट लिएर सहयोग गर्नेछन् ।

आयरल्याण्डमा कोभिड–१९ को संक्रमणको आशंका भएकाहरुलाई सुरुमा फोनमार्फत् जानकारी लिन र त्यसपछि मात्र अस्पताल जान आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप