शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथामको कामसँगै बजेटको तयारी गरौँ : मुख्यमन्त्री पौडेल

सोमबार, २४ चैत २०७६, २१ : ००
सोमबार, २४ चैत २०७६

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगसँगै आगामी बजेटको समेत तयारी गर्न निर्देशन दिएका छन् । आज प्रदेश सरकारका मन्त्री एवं सचिवसहितको बैठकमा बोल्दै उनले उक्त निर्देशन दिए ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकमा बजेट बनाउने विषयमा प्रारम्भिक छलफल भएको छ । छलफल कार्यक्रममा बजेटलाई परम्परागतभन्दा पृथक ढङ्गले प्रस्तुत गर्नुपर्नेमा सहभागी मन्त्री तथा सचिवले सहमति जनाए ।

जति सङ्कट भए पनि आन्तरिक रुपमा आगामी बजेटका विषयमा छलफल गर्न केही समस्या नहुने मुख्यमन्त्री पौडेलले बताए । “अहिलेको समयमा भौतिक दूरी कायम गर्दै, भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौँ काममा जुटौँ”, उनले भने ।

गएका वर्षमा बनाएका बजेटको समीक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गरे । आफूहरु हरेक कुरामा परिवर्तन गर्छौं भनेर निर्वाचित भएर आएकाले कामको गति बढाउन ढिला गर्न नहुने उनको भनाइ थियो । 

“कुरा मात्र नयाँ हैन, अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परिवर्तन ल्याउन सरकारले हरसम्भव प्रयास गर्नुपर्छ, नयाँ विचार नयाँ योजनाका साथ काम गर्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भने । 

जनताले अनुभूत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्वपूर्ण कुरा समावेश गरेर योजना बनाउन पनि उनले आग्रह गरे ।

 “सानासाना योजनामा पैसा छरेर परिवर्तन हुन सक्दैन अनि जनताले पनि अनुभूत गर्न सक्दैनन् त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौँ, लगानी उत्पादनसँग जोडाँै, आधारभूत आवश्यकतालाई जोड दिने गरी बजेट बनाऔँ”, पौडेलले भने । 

विगतमा भन्दा फरक अनुभूति हुने गरी बजेट ल्याउन छलफल गराउन शुरु गरिएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । अहिले मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भए पनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको मन्त्री ढुङ्गेलको भनाइ छ ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, सामाजिक विकासमन्त्री युवराज दुलाल, योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिवको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप