शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा एम्बुलेन्समार्फत कोरोना बिरामी बोक्न यस्तो तयारी

सोमबार, २४ चैत २०७६, १९ : २२
सोमबार, २४ चैत २०७६

काठमाडौं । नेपाल एम्बुलेन्स सेवा (फोन नं १०२) ले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन आवश्यक पर्ने आपत्कालीन स्वास्थ्य प्राविधिक र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पिपिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराई आजदेखि सेवा प्रदान गर्ने समझदारी भएको छ ।

कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको नेपाली सेनाको छाउनीस्थित ‘कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र अपरेशन’ (सिसिएमसी ओप्स) मा स्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवाबीच आज उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीअनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालयका चार र काठमाडौँ महानगरपालिकाको एक गरी पाँचवटा थप एम्बुलेन्सलाई कोरोना भाइरससम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्ने गरी तयार पारी एम्बुलेन्स सेवाअन्तर्गत सञ्चालनमा ल्याइने छ । उल्लिखित एम्बुलेन्स सञ्चालनमा आपत्कालीन स्वास्थ्य प्राविधिकको थप आवश्यकता भएमा सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराइने सेनाको सिसिएमसी ओप्सले जनाएको छ ।

साथै सञ्चालनमा आउने थप एम्बुलेन्सका लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौँ महानगरपालिकाले नै व्यहोर्नेसमेत उक्त समझदारीमा उल्लेख छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सिसिएमसी ओप्सअन्तर्गतका क्लस्टर संयोजकलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप