शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँकै उत्पादन मकै, कोदो र फापर राहतमा

सोमबार, २४ चैत २०७६, १५ : ३६
सोमबार, २४ चैत २०७६

–रामबहादुर थापा

बागलुङ । कोरोना भाइरस (कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीका अनुसार शनिबार वडा नं १ का ३३ विपन्न परिवारलाई १० र १५ पाथीका दरले मकै–कोदो वितरण गरियो । यस्तै प्रतिपरिवार दाल दुई किलो चिनी दुई किलो, तेल एक लिटरसहित नुहाउने–हात धुने साबुन प्रदान गरिएको जनाइएको छ । 

आइतबार वडा नं ३ का २५ परिवारलाई राहत बाँडिएको उनले बताए । बाँकी वडा नं. २ का २५, ४ का २६ र ५ का २३ परिवारलाई आज राहत वितरण गरिने उनको भनाइ छ । बिहान बेलुका हातमुख जोड्नै कठिन भएका परिवारको वडागत तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिएको हो । ‘तत्काललाई गाउँकै उत्पादन राहतमा प्रयोगमा गर्ने निर्णय भएकाले सोहीअनुसार गरेका छौँ’, अध्यक्ष घर्तीले भने, ‘स्थानीय उत्पादन जैविक र पौष्टिक पनि हुन्छ ।’

राहतस्वरुप बाँड्नका लागि गाउँपालिकाले गाउँका किसानबाट ६० मुरी मकै र २० मुरी कोदो खरिद गरेको थियो । चार जनाको परिवारलाई १० र त्योभन्दा धेरै सदस्य भएका परिवारलाई १५ पाथीका दरले अन्न वितरण गर्ने गरिएको छ ।

बजारबाट नकिनी गाउँमै उब्जाउ भएको अन्नपातलाई राहतमा प्रयोग गर्ने गाउँपालिकाको सोचलाई धेरै रुचाएका छन् । कोरोना भाइरसविरुद्ध शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न घरेलु उत्पादनले सघाउने विश्वाससमेत गरिन्छ ।

ताराखोला स्थानीय उत्पादनका हिसाबले अगाडि छ । त्यहाँको मुख्य नगदेबाली भाँगो र आलु हो । गाउँपालिकाले कुनै परिवार छुटेका भए पनि राहतमा समेट्ने योजना बनाएको छ । अवस्था हेरेर राहतका थप कार्यक्रम ल्याउने बताइएको छ । जिल्लाका दशै स्थानीय तहले सङ्कटको यस घडीमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । लकडाउनले दैनिक ज्याला मजदूरी गरेर परिवार धान्ने चर्को मारमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप