शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा यसरी खुवाइदैछ निःशुल्क खाना (भिडियो रिपोर्ट)

सोमबार, २४ चैत २०७६, १३ : २०
सोमबार, २४ चैत २०७६

लकडाउनको १३ औं दिन । पशुपितनाथको मन्दिर सुनसान थियो । तर मन्दिर छेउमा रहेको माधवराज सुमार्गी स्मृति भवनमा भने तीन–चार सय मानिसहरुको भीड थियो ।

उनीहरु गेटको दायाँबाया लामो लाइन बनाएर बसेका थिए । लाइनमा बालबालिकादेखि बृद्धसम्म थिए । कोही भूइँमा बसेका थिए, कोही उभिएका थिए । उनीहरु कुनै कुराको प्रतिक्षा गरिरहेका थिए । त्यो प्रतिक्षा कुनै ठूलो कुरा प्राप्तिका लागि थिएन, मात्र एक छाक निःशुल्क खानाको थियो ।

सोही लाइनमा थिए संखुवासभाका प्रेम लाक्पा शेर्पा । उनले आफूलाई ट्रेकिङ भरियाका रुपमा चिनाए । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन जारी गरेपछि काम नभएकाले बाध्यताले खाना खान बौद्धबाट पशुपतिसम्म हिँडेर आएको उनले बताए ।

कपनमा कोठा भाडा लिएर बसेका शेर्पाले आफ्नी एक छोरी जर्मनमा र छोरा भारतमा बस्ने बताउदै कोरोनाको संक्रमण फैलिएपछि उनीहरुको पीर लागिरहेको बताए । अचेल हरेक दिन उनी खाना खान पशुपतिनाथ पुग्ने गरेका रहेछन् ।

चावेलमा सानो चिया पसल चलाउने सोनाम लामाको पसल अचेल बन्द छ । दैनिक कमाई रोकिएपछि उनी पनि पशुपतिमा खाना खान आउने गरेका छन् । उनीहरु जस्तै केही न केही समस्या परेका ब्यक्तिहरु खाना खाने लाइनमा कहिले पालो आउला भनेर पर्खिरहेका थिए ।

बिहान साढे ११ बजे खाना पाक्यो ।

हातमा पञ्जा लगाएर स्वंयसेवकहरु ठूला ठूला डेक्चीमा तरकारी र दाल चलाइरहेका थिए । किचेन बाहिरको ठूलो हलमा लहरै कुर्सीहरु राखिएका थिए । ३ फिट दुरीको फरकमा राखिएको कुर्सीसँगै पानीको बोतल राखिएको थियो ।

एकजना स्वंयसेवक हलको ढोकाबाट कराए – ‘ल अब खाना खान भित्र पठाउनुस्’ ।

विजयचोक युवा क्लबका अध्यक्ष सन्तोष नेपालले भने–‘पहिला बुढाबुढी, असक्त र बालबालिकालाई मात्र पठाउनुस् ।’

सोहीअनुसार बुढाबुढी हलभित्र खाना खान प्रवेश गरे ।

सन्तोषले उनीहरुलाई भित्र हात धुने ठाउँ देखाएर साबुन पानीले हात धुन आग्रह गरे ।

एकजना बृद्धाले एउटा हातमात्र धारामा पखालिन् । उनको नाम प्रेममाया आलेमगर । पक्षघातका कारण उनको अर्को हात नचल्ने रहेछ । मागेर गुजारा गर्ने गरेकी उनले  खाना मिठो भएको बताइन् । 

खानामा भात, दाल, तरकारी र अचारको व्यवस्था गरिएको थियो । एकचोटीको खानाले नपुग्नेहरु थपी थपी खाइरहेका थिए ।

पहिलो दोश्रो दिन पशुपतिनाथ मन्दिर आसपासमा मागेर गुजारा गर्नेहरु मात्र खाना खान आउने गर्थे । लकडाउनको समय लम्बिएपछि पछिल्लो दिनमा ज्यालादारी काम गर्ने श्रमिक पनि खाना खाने लाइनमा मिसिएका छन् । पचास प्रतिशत हाराहारी श्रमिकहरु खाना खान आउने सन्तोष नेपालले बताए । केही बाहिरी जिल्लाबाट काठमाडौँमा छोटो समयको कामका लागि आएर घर फर्किन नपाएकाहरु पनि छन् । खाना खान होटल रेष्टुरेन्ट कहिँ नखुलेका बेला उनीहरुलाई यसले राहत पु¥याएको छ ।

प्रचण्डनाथ शर्मा कामका लागि काठमाडौ आएका थिए तर उनी लकडाउनमा फसे । अहिले उनी चावहिलमा दाजुहरुको घरमा बसेका छन् तर उनले १३ गतेदेखि नै पशुपतिमा आएर खाना खाने गरेको बताए । उनले यसरी निःशुल्क खाना खुवाउनु राम्रो भएको बताए । तर धेरै भीड हुने भएकोले सुरक्षा अपनाउन आग्रह पनि आग्रह गरे ।

रामबहादुर थापा ज्यामी काम गर्छन्, उनी काठमाडौको तिनकुनेमा बस्छन् । पशुपतिमा खाना खुवाउने गरेको थाहा पाएपछि आइतबारबाट उनी पनि खाना खान आएका थिए ।

पशुपति क्षेत्र विकास कोषसहित चार वटा संस्थाले लकडाउनको भोलिपल्टबाट अर्थात चैत १२ गतेदेखि निःशुल्क खाना खुवाउन थालेका थिए । 

यस्तो छ निःशूल्क खाना खाने प्रक्रिया

पहिले गेटमा नाम र ठेगाना दर्ता गरिन्छ । खाना खानका लागि पहिला जो लाइन बस्छ उसको पालो छिटो आउँछ । त्यसपछि उनीहरुलाई साबुन पानीले हात धुन लगाएर खाना खाने प्लेट दिइन्छ । लाइनमा बस्दा १ मिटर दुरी कायम गरेर लाइनमा बस्न लगाइने गरिएको छ ।

उनीहरुले बढी खाना मागेर फ्याँक्न पाउँदैनन् तर भोकले मागेजति थपी थपी खान पाउँछन् । खाना खाएपछि उनीहरु आफैले प्लेट सफा गर्नुपर्छ ।

यसरी निःशुल्क खाना खुवाउने काममा स्थानीय युवा क्लबका सदस्यहरु खटिएका छन् । उनीहरुले खाना बनाउने, खाना बाँड्ने तथा प्लेट सफा गर्न सहयोग गर्ने गरेका छन् ।

यो कार्यमा पशुपति क्षेत्रविकास कोषसँगै सिर्जनशील यूवा क्लब, मानव सेवा धर्म, विजयचोक युवा क्लब र सुभारम्भ क्लबका सदस्यहरु सक्रिय भएर लागेका छन् ।

दैनिक दुई हजार जनालाई खाना खुवाउन समस्या छैन : कार्यकारी निर्देशक खतिवडा

अहिले दैनिक चार सय हाराहारीले निःशूल्क खाना खाने गरेपनि २ हजार जनासम्मलाई खुवाउन सकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले अझै धेरैलाई खाना खुवाउन समस्या नभएको बताए ।

लकडाउनपछि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत परेवा र बाँदरलाई चारो खुवाउन गएका थिए । तर त्यहाँ रहेका मानिसहरुले आफूलाई पनि खाने कुरा खुवाउन भनेपछि यो कामको सुरु भएको खतिवडाले रातोपाटीलाई बताए ।

उनले भने–‘बाँदरलाई चारो हाल्दै गर्दा केही व्यक्ति आएर हामी दुई तिन दिन देखी भोकै छौँ । हामीलाई पनि खाने कुरा दिनुस् न भनेपछि हामीले तुरुन्तै सोच्यौँ यहाँ त मजदुरहरु हुनुहुन्छ, मन्दिरमा आश्रितहरु हुनुहुन्छ । त्यसै दिन हामीले सुमार्गी भवनमा सुनील वैद्यजीलाई भन्ने वित्तिकै उहाँले ल मिलाइहाल्छु भन्नुभयो र त्यसैदिन हामीले एक सय जनालाई खाना खुवायौँ ।’

त्यसपछि प्रत्येक दिन साढे ११ बजेदेखि १ बजेसम्म खाना खुवाउन थालेको खतिवडाले बताए ।

खाना खुवाउनका लागि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव ढकाल, कार्यकारी निर्देशक खतिवडा र परिषद सदस्य राजु खत्री केही कर्मचारी मिलेर आवश्यक चामल, दाल, तरकारीका लागि पहल गरिरहेका छन् ।

कार्यकारी निर्देशक खतिवडाले जयबागेश्वरी, गौशाला, पिंगलास्थान लगायतका क्षेत्रमा डेरामा बस्ने तर खानेकुरा सकिएकाहरुलाई पनि खाना खान आउनका लागि आग्रह गरेका छन् ।

उनले भने, ‘हामीले आह्वान गरेकै कारण मानिसहरुको संख्या बढिरहेको छ । हामी प्रत्येक दिन २ हजार जना सम्मलाई खाना खुवाउन सक्छौँ । पशुपतिनाथको कृपाबाट हामीलाई त्यो क्षमता मिलेको छ ।’

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप