बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनादेवीको पूजाआजामा लिप्त मोदीहरु

सोमबार, २४ चैत २०७६, ११ : ०४
सोमबार, २४ चैत २०७६

भारत र नेपालमा शीतलादेवीका मन्दिर छन् जहाँ शरीरमा खटिरा निस्कने बिफर वा वा चेचक वा ‘स्मलपक्स’ रोग लाग्दा पूजाआजा गरिन्छ । नेपालमा शीतलामाई वा शीतलामाजुको रुपमा पूजा गरिने शीतलादेवी त्यस्तो आदिम देवी मानिन्छ, जो बिफरको महामारी फैलाउँछ पनि, उपचार पनि गर्छ । यस्तै अन्धविश्वास कोरोनाको महाव्याधिमा पनि दक्षिण एसियामा देखिँदैछ र ‘कोरोनादेवी’को पूजाआजासँगै मन्दिर निर्माण भयो भने कोही पनि छक्क हुने छैन अब । शीतलाको जस्तै कोरोनाको पूजाआजा र भाइरस भगाउने नाममा भइरहेका जात्रा हेर्दा धार्मिक विश्वासले हाम्रो मनस्तिष्कलाई कति धेरै डरलाग्दोसँग शासन गरिहेको छ, पक्कै बुझ्न सकिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले थालेको भाइरस–जात्राको क्रममा केही समयअघि ताली र थाली बजाएर कोरोनालाई भगाउन खोजिएको थियो, गो कोरोना गो भन्दै । भन्न त कोरोना संक्रमणविरुद्ध जुझिरहेका डाक्टर र नर्सलाई अभिनन्दन गर्ने नाममा ताली र थाली बजाइएको थियो, खासमा आम मानिसका अन्धविश्वासको महिमामण्डन र भारतीय जनता पार्टीको हिन्दुत्वको राजनीतिको विस्तार गरिएको थियो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शैलीमा ‘गो चाइनीज भाइरस गो’ भन्दै । भारतीय जनता पार्टी, त्यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दू परिषद्ले यही अन्धविश्वासी जनमानसलाई भजाएर जनगणमनमा दिगो शासन गर्दै आएका हुन् ।

ताली र थाली जात्राको अपार सफलतापछि अर्काे नौटंकी गरिएको छ, कोरोनाले फैलाएको अन्धकार हटाउने नाममा गरिएको दीपावली गर्दै । करोडौं भारतीय श्रमिकको विस्थापनको कहर र कोरोनाको संक्रमणको त्राससँगै मृत्युबीच आमजनतामा आस र ज्योति फैलाउने निहुँमा चैत्र २३ गते राति देशभरि दीपावली गरिएको हो । कोरोनाका कारण विस्थापित भएका र रोग–भोक–शोकले मृत्युको मुखमा पुगेका आमजनताको स्वास्थ्य, सुरक्षा र सुविधाका लागि सिन्को पनि नभाँच्ने प्रम मोदीले फेरि पनि आस र त्रासलाई भने मज्जासँग भजाएका छन् । आफ्नो पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा दीपावली गर्न कोरोनाबाट व्याप्त अन्धकार चिर्न बत्ती बाल्न जनमानसलाई दन्त्यकथाका पाइपर वा बाँसुरी वादकले जस्तै एकोहो¥याउन सक्ने शासकले त्रसित भारतीय जनलाई अब कुनै दिन तोकेर कोरोना उन्मूलनको निहुँमा १२ बजे १२ मिनेटसम्म सास रोकेर बसेमा मनोकामना सिद्धि हुन्छ भन्न बेर छैन ।


भनिन्छ, जसले आम जनताका त्रासलाई दुहुन, आसलाई भजाउन, विश्वासलाई पनि क्यास गर्न सक्छन्, उही सक्षम राजनीतिक ब्यापारी हो । कोरोना महाव्याधिलाई आफ्नो अन्धविश्वासको व्यापक कारोबार एवं हिन्दुत्व विस्तारलाई राजनीतिक नाफाका लागि भजाउन सक्ने मोदी यतिखेरको संसारको सबैभन्दा सक्षम राजनीतिक ब्यापारी हुन् । उनलाई चटके, नौटंकी वा हास्यास्पद ठान्दा उनले चलाइरहेको राजनीतिक ब्यापारको रहस्यलाई बुझ्न सकिँदैन ।


भनिन्छ, जसले आम जनताका त्रासलाई दुहुन, आसलाई भजाउन, विश्वासलाई पनि क्यास गर्न सक्छन्, उही सक्षम राजनीतिक ब्यापारी हो । कोरोना महाव्याधिलाई आफ्नो अन्धविश्वासको व्यापक कारोबार एवं हिन्दुत्व विस्तारलाई राजनीतिक नाफाका लागि भजाउन सक्ने मोदी यतिखेरको संसारको सबैभन्दा सक्षम राजनीतिक ब्यापारी हुन् । उनलाई चटके, नौटंकी वा हास्यास्पद ठान्दा उनले चलाइरहेको राजनीतिक ब्यापारको रहस्यलाई बुझ्न सकिँदैन । राजनीतिक ब्यापारको रहस्य हो– जति बेला आममानिसमा राजनीतिक–आर्थिक–सांस्कृतिक परिवर्तनको आशा हुँदैन, तब नारकीय जीवनका लागि उनीहरु धर्मको शरणमा जान्छन्, धार्मिक क्रियाकलापबाट मानसिक तुष्टि लिन पुग्छन्, धार्मिक राजनीतिबाटै त्राण मिल्ने ज्ञानको ज्योति प्राप्त गर्न पुग्छन् ।

त्यसैले समृद्धिको घोडा चढेर आएको भाजपाको हिन्दूवादी धार्मिक राजनीतिले विभिन्न प्रदेशदेखि केन्द्रमा मात्रै शासन गरिरहेको छैन, भारतबाहिर पनि अन्धविश्वासी हिन्दू जनमानसलाई शासन गर्न थालिसकेको छ । यसरी शासन नगरेको भए कुनै देशका शासक, त्यहाँको सबैभन्दा जातिवादी–धर्मवादी दलले गरेको आदेशको तामेली नेपालमा समेत हुने थिएन र दिल्लीका मध्यमवर्गीय महलमा शंघ–घण्टी बज्नासाथ काठमाडौंका नवधनाढ्यहरुका बंगलाहरुमा पनि शंघ–घण्टी बज्दैनथ्यो, न त बत्ती वा दीप प्रज्वलन नै हुन्थ्यो । राष्ट्रवादी मानसिकता भएका कसै कसैलाई मोदी र भाजपा मन नपर्न सक्छ, तर मोदी–शैली र भाजपाको हिन्दुवादी राजनीति कति प्रिय छ, तिनको सांस्कृतिक उपनिवेश लागू व्यवहारमा देखिँदैछ । यसको अर्थ भारतबाट भाइरसमात्रै होइन, धार्मिक कट्टरता र अन्धविश्वासको राजनीति पनि निर्यात हुँदैछ र नेपालमा लोकप्रिय हुँदैछ । त्यस राजनीतिको भाइरसले नेपालका ओली, दाहाल, देउवा, कोइराला, मिश्र वा राणा वा अरु कोहीमा मोदीको प्रतिरुप खोजी ग¥यो भने अनौठो हुने छैन ।

कुनै पनि धर्म, परम्परा, विश्वास वा राजनीतिलाई आँखा चिम्लेर समर्थन गर, कुनै पनि आदेश–निर्देश र शासनमाथि प्रश्न र शंका नगर– यही हो जीवनदेखि राजनीतिसम्म फैलिएको खतरनाक भाइरस । यो भाइरस कोरोनाभन्दा खतरनाक छ, जसले दक्षिण एसियामा क्षेत्रीय महाव्याधिको रुप लिइसकेको छ । मोदी र भाजपाले झन् फैलाएको यो महाव्याधि कोरानोको कहरबीच झन् फैलिएको छ, जसको रोकथामका लागि आलोचनात्मक विवेक र वैज्ञानिक संस्कृतिको सख्त दरकार परेको छ । आलोचनात्मक विवेक र वैज्ञानिक संस्कृतिका लागि बलियो अभियान चलेन भने भोलिको पुस्ताले भन्ने छ– ‘एक्काइसौं शताब्दीका नेपाली र भारतीय अन्धविश्वासी जनताले महाव्याधि हटाउन कोरोनादेवीको पूजाआजा गरेका थिए र अन्तिम समयसम्म महाविनाशको प्रतीक्षा गरेका थिए !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप