केन्द्रीय संस्करण

कोरोना सङ्कट र यसले सिकाएको पाठ

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

-मोहन आचार्य

कोरोना भाइरसले कति विध्वंश मच्चाउने हो अकल्पनीय छ । अहिले मित्र राष्ट्र अमेरिका कोरोना भाइरसको नयाँ एपिसेन्टर रूपमा देखा परेको छ । कोरोनाको महामारी चीन हुँदै संसारका २०४ राष्ट्रमा फैलिसकेको रिपोर्ट छ । सुरुवाती चरणमा चीनको उहानमा यसको पहिचान, रोकथाम, गम्भीरतामा अलमल र गोपनियतामा सवाल उठे पनि जुन रूपमा चीनले राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्नो पूरा ताकत लगाएर एउटा युद्धको घोषणा गर्दै कोरोना विरुद्ध जाइलाग्यो त्यो अन्य राष्ट्रका लागि उदाहरणीय ठहरियो ।

उसको यस कदमले जनस्वास्थ्यप्रति राष्ट्रिय गाम्भीरतालाई दर्साउँछ । त्यहाँको सरकार आफ्नो उच्चतम प्रविधि, जनशक्ति र ऊर्जा लगाउँदै करोडौँ जनतालाई सुरक्षित राख्नेहेतु तत्काल लकडाउन गर्ने निर्णय लियो । एकपछि अर्काे सङ्क्रमितको पहिचान गर्दै आइसोलेट गर्दै गयो । केहि दिनभित्रमै संसारले पत्याउनै नसक्ने गरी प्रति एक हजार बेडका दुईवटा आकस्मिक आस्पताल बनायो । होटेल, स्कुल, जिमहल, रङ्गशाला, खेलस्थल लगायतलाई आइसोलेसन केन्द्रमा परिणत गर्याे ।

परीक्षण, पहिचान र अलग्याउने रणनीतिअन्तर्गत पचासौँ हजार सङ्क्रमितलाई निगरानी र उपचारमा राख्यो । सिङ्गो सहरलाई दैनिक खानपान लगायात सम्पूर्ण आवश्यकीय सामग्री सप्लाईको एउटा नमुना सप्लाई चेनमार्फत पुर्यायो । पश्चिमा जगतका कतिपय आलोचना खेप्दै आफ्नो क्षमताको उपयोग गर्दै करिब दुई महिनमा कोरोना माहामारीलाई नियन्त्रणको चरणमा पुर्यायो । सङ्क्रमणको क्षेत्र र सङ्क्रमितलाई अलग्याउन पूर्ण लकडाउनको पृथक चिनियाँ प्रयोग गर्दा कतिपए विदेशी आलोचकले प्रश्न तेस्र्याए । अधिकार र व्यक्ति स्वतन्त्रताको पुराणसम्म सुनाउन भ्याए कतिपय पश्चिमा मिडियाले । यद्यपि यो बहसको विषय हुन सक्छ कति जायज कति कठोर । समयले निक्र्याेल गर्ला अति थियो कि आवस्यकता । तर एउटा प्रारम्भिक परिदृश्य खुल्दै गएको छ । 

अहिले अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा ९० दिनको लोकडाउन गरिएको छ । नियम तोड्नेलाई तत्काल एक हजार अस्ट्रेलियन डलर र अधिकतम एघार हजार डलर जारिवाना र ६ महिना कैद सजाय तोकिएको छ । यो एउटा उदाहरण हो महामारीबाट जनताको जीवन रक्षाको लागि विभिन्न राष्ट्रले चलिरहेका आकस्मिक कदमको । यो समाचार आउँदासम्म संसारका एक तिहाइभन्दा बढी जनसङ्ख्या पूर्णत लोकडाउनमा छन् अथवा विशेषमा आइसोलेसन छन । संसारको दोस्रो ठूलो आवादी भएको देशका करिब १३५ करोड जनता २१ दिनका लागि पूर्ण लकडाउनमा छन् । इटाली, स्पेन, जर्मनी, फ्रान्स, बेलाईत लगायत अधिकांश युरोप लोकडाउनमा छ । न्युयोर्क टाइम्सका आनुसार अमेरिकामा पहिलो घोषित कोरना सङ्क्रमण २१ जनवरीमा देखिएको हो । चीनमा ३१ डिसेम्बरमा आज्ञात कारणले नेमोनियाका बिरामी देखिए, ११ जनवरीमा पहिलो मृत्यु भाइरसका कारणले भएको रिपोर्ट छ । ३० जनवरीमा डब्लूएचओले ग्लोबल हल्थ इमरजेन्सी (ग्लोबल प्यानडेमिक घोषित) ११ मार्च २०२० ० मा घोषणा गर्याे । कोभिड–१९ एउटा यस्तो महामारीको त्रासदी बोकेर आएको छ उपल्लो स्वास्थ्य सेवा भएका भनिएका देश पनि हायलकायल हुँदै सङ्कट पूर्ण अवस्थामा छन् ।

गल्ती कहाँ भयो ?
लगभग उही समयमा सङ्क्रमणको घटना बाहिर आउदा हङ्कङ, सिङगापुर, थाइल्यान्ड लगायतका देशहरु सतर्क हुँदै लकडाउनसम्म पुगे तर धेरैजसो युरोपियन राष्ट्र सोही समयमा कोरोनालाई नजरअन्दाज गर्दै थिए । इटालीमा थुप्रै सङ्ख्यामा सङ्क्रमित भेटिएको थाहा हुँदा हुँदै रङ्गशालामा फुटबल खेलिरहे । च्याम्पियन्स लिग आन्तर्गतको एटलान्टा र भयालेन्सियाबीच इटालीको मिलानमा १९ फेब्रुअरीमा ४० हजार दर्शक माझ खेलिएको फुटबल म्याच युरोपमा जैविक बम जसरी कोरोना भाइरसको बिस्फोट भयो । फुटबल हेर्न आएका करिब २५ सय  भ्यालेन्सिया समर्थकले कोरोना स्पेन पुर्याए र अहिले युरोपले भोगिरहेको कोरोना पीडाको इपिसेन्टर यही घटनालाई मानिन्छ ।

यस घटना पश्चात पनि सङ्क्रमित हुनेको रिपोर्ट आइरहेको थियो । चीनको उहानमा कोरोनाको विस्फोटको समाचार आइरहेका थिए तर मानिस पार्टी गरिरहे, पब, क्लब र समुन्द्री किनारमा मस्ती गरिरहे । राजनीतिक कार्यक्रम रोकिएनन बरु नेताहरु गाला जोडेर कोरोनाको चर्चा गर्थे र हल्का टिप्पणी गर्थे । यी लापरवाहीका प्रतिनिधि घटना मात्र हुन् जसको मूल्य अहिले युरोपले चुकाइरहेको छ । पर्याप्त समय हुँदाहुदै पनि यस्तै अटेरीपन अमिरिकी नेतृत्वमा देखियो । जनता पनि के कम हजारभन्दा बढी सङ्क्रमितको सङ्ख्या पुगे पनि न्युयोर्कमा गाडीको ताँती थियो । पब र बार चलिरहे, अबेर रातिसम्म पार्टी भैरहे, समुन्द्री किनारमा हजारौँको भीड देखिरह्यो । यही अवस्था अमेरिकाका अन्य राज्यमा पनि रहिरहयो । उच्च तहमा कोरोनाप्रतिको धारणा विवादित र समस्या ग्रस्त थिए । कोरोना महामारीलाई बुझ्न र बुझाउन ट्रम्प प्रशासन र विभिन्न राज्यबीच विवाद रहिरह्यो । पर्याप्त समय हुँदाहुँदै अमेरिकी प्रशासन के हेरेर बस्यो ? चीन, दक्षिण कोरिया र जापान जसरी महामारिप्रति सतर्कता देखाएन ।

कोरोना भाइरसको आकलन, निम्तिन सक्ने स्वास्थ्य गाम्भीरता र तात्काल लिनुपर्ने निर्णय क्षमतामा निकै सुस्त र हल्का प्रतिक्रिया देखायो । ट्रम्प प्रशासन विश्वको महाशक्ति राष्ट्र र त्यहाँका उत्तरआधुनिक जीवनशैली भएका जनताको गरिमा कायम राख्न असफल देखिँदैछ । बाँकी विश्वले उसबाट अपेक्षा गरिएको महामारी नियन्त्रणको सहयोगको कुरा छोडौँ, अत्यन्त कठिन चरणमा गुज्रिएका न्युयोर्कबासीहरुको जीवनको बेवास्ता गर्दैछ । यो उसले जानी जानी देखाएको उदारवादी सिद्दान्तको आडम्बर हो कि खसस्किँदै गएको ट्रम्प प्रशासनको कार्यक्षमता हो, अब छिटै देखिनेछ । ट्रम्प प्रशासनप्रतिको बढ्दो दबाब र जनताको वितृष्णा र नैराश्यता अब अमेरिकी प्रशासनलाई ढाकछोप गर्न बाहिरी संसार विशेष गरी चीनविरुद्धमा हिलो छयाप्ने काममा लागेको छ तर यो उदाङ्गो हुन अब धेरै समय लाग्ने देखिँदैन ।

सीएनएनको विशेष कार्यक्रममा अमेरिकी उपरास्ट्रपति माइक पेन्स अमेरिकी संस्था सीडीसी र चीनले कोरोना सङ्क्रमणको ढिलो जानकारी दिएको आरोप लगाउँदै थिए । आफ्नो पर्दाफास वा कमजोरी लुकाउन ध्यान अन्यत्रै मोड्ने चलिआएको अमेरिकी कन्स्पिरेसी थ्योरी यस पटक थोत्रो सावित होला जस्तो छ । न्युयोर्कका गभर्नरको सहयोगको कारुणिक याचना हामी सात समुन्द्र टाढाबाट बुझ्दै छौँ तर ट्रम्प प्रशासन मृत्यु हुने अमेरिकीको सम्भावित सङ्ख्या घोषणा गरेर बस्या छ । उसको यो हदको निरीहता अमेरिकी जनता र पूरै विश्वले पहिले सायदै महसुस गरेका थिए । चुलिँदै गएको सङ्क्रमितको सङ्ख्या र मृत्यु दरको सङ्ख्याको जवाफमा ट्रम्प भन्छन अरू देशले डाटा लुकाए । विश्वको सामरिक र आर्थिक महाशक्ति राष्ट्रका प्रमुखको यो जवाफ अपत्यारिलो, असहज र अनुमान विपरीत छ । यही दोषारोपणलाई सङ्केत गर्दै डब्लूएचओ चिफ टेड्रोस अदनामले भने, ‘हाम्रो सबैभन्दा ठूलो शत्रु आफैमा कोरोना भाइरस होइन बरु हामीलाई एक अर्काविरुद्ध उभ्याउने कलङ्कित दोषारोपण हो ।’ विश्वको नेतृत्व गर्ने राष्ट्रको र त्यसको मुखियाको परीक्षण यस्ता महामारी र सङ्कटमै हुन्छ । फराकिलो छाती र तागतको अमेरिकी गरिमाको लेखाजोखा त दुनियाले गर्नेछ नै तर अमेरिकी जनता आफैले यो सङ्कटबाट उम्कनेछन् र आत्ममूल्याङ्कन गर्दै दरिलो नेतृत्वको चयन गर्नेछ । दुर्भाग्य भनौ, छिमेकी भारतमा दिल्ली स्थित इस्लाम तब्लिघी जमातको मुख्यालय मर्कराज निजमुदिनमा करिब २ हजारको धार्मिक कार्यक्रममा सहभागी करिब ४ मा हालसम्म कोरोन टेस्ट पोजेटिभ देखिएको छ र दर्जनौँको मृत्यु भइसकेको छ । भारतभर सम्पूर्ण लकडाउन गरेको केही दिनपछि दसौँ हजार मजदुरको मुख्य सहरबाट पलाएन पनि निकै अत्यासलाग्दो थियो । यी दुवै घटनाले कति क्षति पुर्याउने हो अहिले नै भन्न त सकिन्न तर भारतमा ठूलो तहल्का मच्चिएको छ ।

अबको पाठ
एउटा संयोग भनौँ, सिल्विया ब्राउनिले २००८ मा प्रकाशित आफ्नो पुस्तक एन्ड अफ डेज (प्रेडिक्सन एन्ड प्रोफेसिएस ९ पेज ३१२ दोस्रो अनुच्छेद) मा उल्लेख गरिकी थिइन्, सन् २०२० मा निमोनिया जस्तै देखिने र सबै स्थापित उपचार पद्धतिलाई चुनौती दिने एउटा रोग संसारमा फैलिने छ जसले फोक्सो र स्वास नलीलाई आक्रमण गर्छ । यो त एउटा आपवाद मात्र होला । सङ्कट बाजा बजाएर आउँदैन । स्टेभन काइरोसले भनेका छन् । जब सङ्कटको प्रवेश हुन्छ तब त्यससँग जुध्ने तयारी समय खुस्किसकेको हुन्छ । त्यसैले भनिन्छ रोगको उपचारभन्दा रोगथाम उत्तम उपाय हो । कोरोना महामारी रोक्न यो मन्त्रको उपयोगिता अझ टड्कारो रूपमा देखिएको छ ।

आपतकाल र महामारीमा बच्न संस्कृति तत्कालीन सङ्कट मोचक हुन सक्छ । यस्तै पूर्वीय सभ्यताका विशेष गरी हिन्दु संस्कारका आचरण निकै वैज्ञानिक छन् भन्ने यस महामारीले प्रमाणित गर्दैछ । निश्चित दूरीमा रहेर नमस्कार गर्नु, शुद्ध मसला, जडीबुटी र योगले रोग प्रतिरोधी क्षमता बढाउनु, जुठो नखानु, भान्सा र शौचालय बीचको दूरी कायम राख्नु, खराब संसर्ग नराख्नु, अनाजको प्राकृतिक स्वरूपलाई नबिगार्नु, वनस्पति र जीवको अधिक दोहन नगर्नु जस्ता हाम्रा वैज्ञानिक दर्शन ग्रहणयोग्य थिए भन्ने प्रमाणित हुँदैछ । पहिले खानाको डेफिसेन्सी रोगको प्रमुख कारक हुन्थ्यो अहिले डिफेक्ट प्रमुख कारक हो रोगको हेक्का रहोस । पहिले कुपोषण हुन्थ्यो गारिबलाई अहिले कुलत छ धनीलाई । कुपोषण आनाजको आभावमा हुन्छ कुलत आनाजको अधिक दोहनमा हुन्छ । अब सोच्ने बेला आएको छ । 

मानिसको आदिम र प्राकृतिक संरचना नै सामूहिक हित र भावनासँग जोडिएको थियो । पछि सो बन्धन कमजोर बन्दै कानुनद्वारा निर्देशित गठबन्धन जस्तो भयो । व्यक्ति र उसको स्वतन्त्रता समाज विमुख र फरक हँुदै गए । यसले सामूहिक भावना र सहयोग कमजोर बन्दै गयो । यस महामारीले एउटा प्रष्ट सन्देश दिँदैछ जुन राष्ट्र बल र कानुनभन्दा पनि तल्लो तहबाटै सामाजिक भावनासहित पूर्वाधारमा सम्पन्न हुन्छ, त्यो सङ्कटमा असली ताकतवर हुन्छ । यूएन, विश्व बैङ्क र आईएमएफले चेतावनी दिएसकेका छन् कि विकसित मुलुकमा आर्थिक मन्दीसँगै बेरोजगारी दर कहाली लाग्दो रूपमा बढ्ने छ । आल्प विकसित राष्ट्रहरु थप गरिबीको चपेटामा पर्नेछन् ।

खाद्यान्न अभाव हुनेछ । त्यसैले प्राकृतिक दोहन नगरी स्रोत र ऊर्जाको विवेकशील प्रयोगबाट उदाउँदा अर्थ व्यवस्थाले दिगो र सुरक्षित विकासमा ध्यान दिनु पर्छ ।
एसियाका आल्प विकसित क्षेत्रले उत्पादनमा आधारित आफ्नै स्वतन्त्र बजार र स्वाधीन अर्थ व्यवस्था निर्माण गर्न सक्नेछन् । आक्रामक बाहिरी सट्टा बजारभन्दा जनजीवन, स्वाथ्य र सुरक्षालाई मध्यनजर गरी दिगो अर्थतन्त्रलाई जोड दिनु जरुरी छ । अब शक्ति र विकासको मापकहरुमा स्वास्थ सुरक्षा पहिलो प्राथमिकतामा पर्नुपर्छ । जनस्वास्थ्य सुरक्षाको पूर्वतयारी र रोकथामका नीतिहरु राष्ट्रिय राजनीतिक मुद्दा बन्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.