शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा लगातार समाचार : कसरी गर्दैछन् पत्रकारले काम ? (भिडियो रिपोर्ट)

आइतबार, २३ चैत २०७६, १३ : १८
आइतबार, २३ चैत २०७६

काठमाडौं ।  कान्तिपुर टेलिभिजनका रुपेश श्रेष्ठ लकडाउन अवधिका कार्यालयमै आवासीय रुपमा बसेका छन् । उनको कार्यालयबाट अत्यावश्यक बाहेक स्थलगत रिर्पोटिङ बन्द गरिएको छ । कार्यालयमा नयाँ मान्छे प्रवेश निषेध गरिएको छ भने टेलिभिजनका जनशक्ति आवासीय रुपमा कार्यालयमा बसेर काम गरिरहेका छन् । सामाचार संकलनका लागि भाइबर लगायत प्रविधिको प्रयोग र विज्ञ तथा सामाचार स्रोतसँग कुराकानी गर्ने गरेका छन् ।  

यसैगरी शिलापत्र अनलाइनका वरिष्ठ संवाददाता कृष्ण गिरी सरकारले लकडाउन घोषणा गरेयता कार्यालय गएका छैनन् । उनी घरमै ल्यापटपमा समाचार लेखेर कार्यालयको जिमेलमा पठाइरहेका छन् ।

टेलिफोन तथा सामाजिक सञ्जालको प्रयोगबाट सूचना जानकारी संकलन गरेर समाचार तयार गर्छन् र प्रकाशनका लागि इमेलबाट पठाउँछन् । 

यता एबीबसी टेलिभिजनकी समाचार बाचिका सन्तोषी अधिकारी अफिसको गाडीमा कार्यालयमा पुगेर समाचार बाचन गर्ने र घर फर्कने गरेकी छिन् । एबीसी टिभीले पनि स्थलगत रिर्पोटिङ रोकेको र ४० प्रतिशत जनशक्तिबाट काम गरिरहेको सम्पादक राजन शर्माले जानकारी दिए । 

यस्तै विभिन्न जिल्लामा रेडियोसँग नेटवर्र्किङ गरेको थाहा खबर एफएम रेडियोमा भने अधिकांश कर्मचारी कार्यालय आएर काम गर्ने गरेका छन् । तर उनीहरु समाचार स्रोतको मैदानमा खटिइने गरेका छैनन्, कार्यालयमै बसेर समाचार तयार गर्ने गरेका छन् ।  

लकडाउनमा लगातार समाचार 
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण सडक बन्द छ । पसलका सटर बन्द छन्, उद्योग कलकारखाना, व्यापार व्यवसाय, सरकारी गैरसरकारी कार्यालय बन्द छन् । अत्यावश्यक सेवामा रहेका मिडिया भने लकडाउनमा बन्द भएनन् । यद्यपी एकाध दैनिक पत्रिकाले आफ्नो प्रिन्ट संस्करण बन्द गरेपनि उनीहरुले अनलाइन भर्सन प्रकाशनलाई भने बढी जोड दिएका छन् ।  

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गरेको २ साता लामो लडकडाउन अहिले पनि जारी छ । यो बीचमा केही अखबारहरु सीमित मात्रामा प्रकाशन भएपनि जनताका घर घरमा पुग्न सकेका छैनन् । घरमा लक्ड भएर बसेका आम दर्शक स्रोत र पाठकले इलक्टोनिक अर्थात डिजिटल मिडियाबाट नयाँ सूचना जानकारी ग्रहण गरिरहेका छन् । 

मूलधारको बलियो खम्बाको रुपमा रहेको प्रिन्ट मिडिया अहिले पाठकको घरसम्म पुग्न सकेको छैन । एकाध दैनिक पत्रिका त बन्द पनि भए । प्रकाशन भइरहेका अधिकांशले आफ्नो प्रकाशन मात्रा घटाएका छन् । दैनिक पत्रिकाहरुले पनि आफ्नो अनलाइन संस्करणलाई बढी जोड दिएका छन् । प्रिन्ट मिडिया सहज रुपमा पाठकसम्म पुग्न नसकेको अहिलेको परिस्थितिमा रेडियो, टिभी र अनलाइन समाचार माध्यमले सशक्त भूमिका खेलेका छन् । 

यसरी हुँदैछ लकडाउनमा रेडियोको काम 
कान्तिपुर एफएमका पत्रकार बासु खड्का लकडाउन भएपछि हप्तामा २ दिन बिदामा बस्छन् । उनको कार्यालयको सामाचार शाखाले ३ टोली बनाएको छ । १ दिन एउटा ५ जनाको टोलीले बिहान साढे ५ बजेदेखि राति साढे ९ बजेसम्म लगातार काम गर्छ । त्यो टोली २ दिन बिदा बस्छ । फेरि अर्को टोलीले पनि एकदिनभरी पूरै काम गर्छ र अर्को २ दिन बिदा बस्छ । यसरी रोटेशनका आधारमा काम गरिहेको खड्काले बताए । 
कार्यालयको प्रशासन बिदा भएपनि समाचार, कार्यक्रम, सवारी चालक, कार्यालय सहयोगीसहित दिनमा १४ कर्मचारीले नियमित काम गर्ने गरेका छन् । 

उनी कार्यरत रेडियोले फिल्ड रिपोर्टिङ बन्द गरेको छ । कार्यालयबाट फोनबाट समाचार संकलन गर्ने गरिएको छ  ।  

काठमाडौंको अर्को रेडियो स्टेशन थाहा खबर डटकममा लडकडाउनको बेला पनि अन्य सामान्य समयमा जस्तै दैनिक १३ वटा सामाचार बुलेटिन जाने गरेको थाहा सञ्चार नेटवर्कका प्रशासन प्रमुख तथा कार्यक्रम उत्पादनक पवनराज पौडेलले जानकारी दिए । 

थाहा सञ्चार नेटवर्क अन्र्तगत थाहा खबर डटकमका कर्मचारीले घरबाटै काम गरिरहेका छन् ।  कार्यालयमा भिडभाड नहोस् भनेर घरबाट काम गरिरहेको पौडेलले बताए । 

रेडियोमा फिल्ड रिर्पोटिङ बन्द गरिएको र सार्वजनिक सवारी प्रयोग गर्ने रिर्पोटरलाई गाडीको व्यवस्था गरिएको छ । 

उनले भने–‘यो हाम्रो लागि नयाँ नौलो परिस्थिति हो । जोखिम मोल्ने कुरा पनि भएन । स्वास्थ्यसँग सम्बन्धित कुरा छ । एकजना संक्रमित भएमा अरुमा पनि सर्ने भएकाले अत्यावश्यक जनशक्ति मात्र कार्यालयमा आएर सर्तकताका साथ काम गरिरहेका छौँ ।’  

लकडाउनमा टिभी : समाचार संकलनमा सामाजिक सञ्जाल भरपर्दो आधार
सधैं समाचार स्रोतको मैदानमा खटिएर भिडियो तथा सूचना संकलन गर्ने टेलिभिजन च्यानलहरु पनि बाहिर निस्कन सकेका छैनन् । उनीहरुले सामाजिक सञ्जालको प्लेटफर्महरु भाइबर, फेसबुक, मेसेन्जर जस्ता माध्यमबाट विज्ञहरुका बाइट लिने काम गरेका छन् । 

लकडाउन सुरु भएपछि काठमाडौंका अधिकांश टेलिभिजन च्यानलहरुले स्थलगत रिपोर्टिङलाई सीमित गरेका हुन् । टिभी च्यानलहरुले सामाजिक सञ्जालको भिडियो कल सेवाबाट समाचार स्रोत तथा आवश्यक पर्ने विज्ञहरुसँग कुरा गरेर भिडियो सामग्री जुटाइरहेका छन् । 

एबीसी टेलिभिजनका सम्पादक राजन  शर्माले समाचार संकलनका लागि इन्टरनेटका विभिन्न माध्यमहरुको अत्यधिक प्रयोग गरेको जानकारी दिए । उनले कम जनशक्तिका बीच प्रविधिको उच्चतम प्रयोग गरेर काम गरिरहेको बताए । 

जिल्लाको अवस्थाको बारेमा जिल्ला संवाददातासँग भाइबर र टेलिफोनबाट कुराकानी गर्ने र विदेशमा रहेका संवाददातासँग पनि इन्टरनेटमार्फत समाचार सामग्री जुटाइरहेको उनले बताए । 

उनले भने–‘फिल्डमा जाने अवस्था जटिलता छ । सेनिटाइजर मास्क पर्याप्त पाइएको छैन । कोसँग कुरा गर्ने त्यो पनि जटिल छ । को संक्रमित हो को होइन छुट्याउन जटिल छ । हामीले व्यक्तिसँग कुरा गर्न प्रविधिको प्रयोग गरेका छौँ । हामीले प्रविधिको प्रयोगबाट ८० भन्दा बढी डाक्टरसँग कोरोनाबारे छलफल गरेका छौँ ।’ 

कार्यालय आउने कर्मचारीलाई घरमै लिन जाने र छोड्ने व्यवस्था गरिएको उनले बताए । 

सो टेलिभिजनकी कार्यक्रम प्रस्तोता एवं समाचार बाचिक सन्तोषी अधिकारीले कार्यालयमा सेनिटाइजर, मास्क, पञ्जा प्रयोग गरेर काम गरेको बताइन् ।  

यता काठमाडौंको अर्को निजी टेलिभिजन कान्तिपुर टिभीले भने कर्मचारीहरुलाई आवासीय रुपमै कार्यालयमा राखेको छ । 

कार्यालयमा सीमित व्यक्ति रहेर काम गरिरहेको, कार्यालयमा पनि दुरी कायम गरेर काम भइरहेको कार्यक्रम तथा समाचार प्रस्तोता रुपेश श्रेष्ठले जानकारी दिए । 

उनले भने–‘सेनिटाइजर प्रयोग गर्ने र बाहिरका नियमित भेटघाट बन्द गरेका छौँ, नयाँ मान्छेसँग भेटघाट नगर्ने, समाचार स्रोत, विशेषज्ञ, समाचारका पात्रसँग अनलाइन, फोनबाट भेट्ने गरेका छौँ ।’

यता काठमाडौको अर्को निजी टेलिभिजन टिभी टुडेकी समाचार बाचिक सपना सिंह स्टुडियोमा समाचार पढ्नुका साथै लकडाउनको प्रभाव, अवस्थाका बारेमा स्थलगत रिपोर्टिङ पनि गर्छिन् । कार्यालयको गाडी भएकाले स्थलगत रिर्पोर्टिङ गर्न सजिलो रहेको तर नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएकाले कतै आफूलाई पनि संक्रमण हुने हो कि भनेर त्रासका बीच काम गरिरहेको उनले बताइन् । 

पाठकको मन जित्दै अनलाइन : लकडाउनमा घरबाटै 
लकडाउनमा घरमै बन्द भएर बसेका पाठकलाई सबैभन्दा छिटो र सजिदै सूचना दिने माध्यम बनेको छ, अनलाइन समाचार माध्यम । हातमा रहेको स्मार्टफोनबाट तथा सामाजिक सञ्जालमा आउने लिंकबाट तुरुन्तै समाचार पढ्न पाइने भएपछि फुर्सदमा रहेका आम नागरिकलाई अनलाइन समाचार माध्यम सूचना जानकारी थाहा पाउने भरपर्दो माध्यम भएको छ । 

काठमाडौंका अनलाइन समाचार माध्यमहरुले लकडाउनका बेला घरबाट काम गर्ने गरेका छन् । यद्यपी उनीहरुले स्थलगत रुपमा पनि समाचार सामग्री तयार गर्ने गरेका छन् । रातोपाटीसहित विभिन्न अनलाइन सञ्चारमाध्यमले केही मात्रामा स्थलगत रुपमा र आवश्यकता अनुसार कार्यालय र घरबाट समाचार सामग्री पस्किरहेका छन् । 

प्रत्यक्ष रुपमा स्थलगत रिर्पोटिङमा समस्या भएपछि कार्यालयको टीममध्ये अधिकांशले घर घरबाटै काम गरिरहेको नेपाल लाइभ डटकमका सम्पादक केपी ढुङ्गानाले जानकारी दिए । डिजिटल टीम कार्यालयमा केही समय काम गरेर घर फर्किने, क्यामेरापर्सन तथा स्वास्थ्य बिटमा काम गर्ने रिपोर्टरहरु भने स्थलगत खटिएको उनले बताए ।  

यो बेला स्थलगत रिपोर्टिङको धेरै महत्त्व रहेको बताउँदै उनले भने–‘राज्यसंयन्त्रले गरेको काम चित्तबुझ्दो छैन, शंकास्पद मृत्युहरु भइरहेको छ । कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखेका बिरामीहरुको राम्रो हेरबिचार नहुँदा ज्यान गुमाएको भन्ने कुरा पनि आइरहेको छ । स्वास्थ्य चुनौतिका कारण स्थलगत रुपमा काम गर्न नपाउँदा छटपटी बढिरहेको छ । अर्कोतिर प्रविधिका कारण घरमै बसेर पनि काम गर्न सकिने अवस्था छ ।’ 

सामाजिक सञ्जालबाट सामाचार स्रोतसँग अन्तरक्रिया गर्न पाउने सुविधाका कारण काम गर्न भने सजिलो भएको उनले बताए । 

अहिले उनको कार्यालयमा कुनै पनि कर्मचारीलाई बिदा दिइएको छैन । नियमित दिइने साप्ताहिक बिदा पनि नदिइएको बताउदै सवैलाई सडकमा उर्तान नसकेपनि इन्टरनेटको सुविधा सहित जिम्मेवारी दिएर काम गरिरहेको उनले बताए ।  

उनले भने, ‘भौतिक रुपमा फिल्डमा नउत्रेपनि डिजिटल रुपमा काम भइरहेको छ । तर फिल्डमै उत्रिएर प्रत्यक्ष रुपमा हेरेर बृहत स्रोतसँग अन्तरक्रिया गरेर जुन तरिकाले हामीले विषयबस्तु तयार पार्न सक्थ्यौँ, जुन थप परिपक्व हुन्थ्यो त्यसमा केही न केही अभाव महसुस त भइनैरहेको छ ।’ 

अहिले समाचारका लागि डिजिटल मिडियाको भर पर्नुबाहेक अरु कुनै विकल्प नभएको बेला अनलाइन मिडिया भरपर्दो रहेको उनले बताए । 

उनले भने–प्रिन्ट मिडिया अहिले सहज रुपमा पाठकहरुसम्म पुग्न सकेको छैन । त्यसकारण उहाँहरु पनि अहिले ९० प्रतिशत डिजिटल मिडियामै निर्भर हुनुभएको छ । मुलधारमा मात्र रहेका र डिजिटल माध्यमका रुपमा मात्र काम गर्नेहरु अहिले एकैठाउँमा आउँदा पाठकहरुले पनि कसले कस्तो समाचार दिइरहेको छ, कसको समाचारको विश्वसनीयता के हो, को संकटमा कत्तिको खटेर काम गर्दोरहेछ कसको टीमको क्षमता कति रहेछ भनेर अहिले परीक्षण गरिरहनु भएको छ । यो चाहिँ डिजिटल मिडियाको लागि सकारात्मक समय हो ।’  

सामाजिक सञ्जालमा झूटा सामाचार पनि उत्तिकै
कोरोना भाइरसको त्रास र सरकारले गरेको लकडाउनको समयमा सामाजिक सञ्जालमा झूटा समाचार पनि उत्तिकै फैलिरहेको छ । डिजिटल मिडियाप्रति अहिले पाठकहरुको विश्वास बढेका बेला त्यस्ता झूटा समाचारले पाठकलाई दिग्भ्रमित पनि गर्ने गरेको छ । 

कोरोनाको औषधि फेला, नेपालको फलानो ठाँउमा कोरोना संक्रमित फेला, लसुन खाए कोरोना लाग्दैन जस्ता भ्रामक समाचार पनि सामाजिक सञ्जालमा भेटिने गरेका छन् । 

प्रेस काउन्सिल नेपालले झूटो समाचार फैलाएको भन्दै दर्ता नभएका १७ वटा वेवसाइटलाई बन्द गराएको छ ।  

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप