शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा लकडाउनः औषधिको अभाव हुन नदिइने, उपल्लो डोल्पामा खाद्य डिपो आवश्यक

आइतबार, २३ चैत २०७६, १२ : ५५
आइतबार, २३ चैत २०७६

-हेमन्त केसी

जाजरकोट । शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उनले जिम्मेवारीबाट पन्छिने काम कसैबाट हुन नहुने बताए । सङ्घीय र प्रदेश सरकारले सोचे जति सहयोग नगरेको गुनासो गदै अध्यक्ष शाहीले प्रश्न गर्दै भने, ‘स्रोत र सामग्रीविना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ । दुई सेट पिपीई पठाएर हुन्छ ?’

गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले तथ्याङ्क संकलन गरी अति विपन्न तथा गरीब स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । राहतमा २ केजी दाल, १ लिटर तेल र १ केजी नुन चामलसँगै  वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल  उपलव्ध गराएको छ । प्रतिघरमा १ वटा दरले साबुन वितरण गरिसकेको छ ।

कूल २ हजार ५०० घरधुरी रहेको गाउँपालिकामा १८ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा  २ हजार ५०० सावुन वितरण भइसकेको छ भने थप वितरणको तयारी भएको छ ।

राहत सामग्री पाएसँगै गरीव तथा विपन्न समुदायका सर्वसाधारण खुशी भएका छन् । कोरोना भाईसर ‘कोभिड–१९० कारण सरकारले जारी गरेको ‘लकडाउन’को पालन गदै वसेको गरीब तथा विपन्न परिवारका सर्वसाधारणहरु राहत पाएसँगै सरकार आफूसँग रहेको अनुभूति गरेका छन् ।

गाउँपालिका –५ का हस्त बुढाले घरमा आवश्यक खाद्यान्न पाएपछि खुशी लागेको बताउँदै भने, ‘घरदेखि बाहिर निस्किन नपाउने अवस्था थियो, घरमा अन्नको गेडा थिएन, गाउँपालिकाका अध्यक्ष शाही आएर चामल दिएर जानुभयो  । जे होस् खानेकुराको जोहो भयो । धन्यवाद  छ ।’ 

गाउँपालिकाले कोरोनाविरुद्ध जनचेतना फैलाउन रेडियोमार्फत् सार्वजानिक सन्देश प्रशारण गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी, प्रहरी  र कर्मचारीको सहयोगमा गाउँ गाउँमा माइकिङ समेत जारी राखेको छ । सडक सञ्जालले सबै गाउँपालिका भरी छोएका कारण राहत वितरणमा सजिलो भएको छ ।  गाउँपालिका भित्र आउने मुख्य नाका वडा १ स्थित छेडाचौरमा स्वास्थ्य  सहायता कक्ष स्थापना गरी जाँचलाई कडाइ गरिएको छ । 
 
महिना दिन नपुग्ने खाद्यान्न 
नयाँ बाली नपाकेको र पुरानो रित्तिएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको जनाइको छ । कम्पनीका जिल्ला शाखा प्रमुख धर्मबहादुर बस्नेतले बारेकोट गाउँपालिकाको घाटमा  १३० क्विटल, नलगाड नगरपालिकाको चौखामा १ हजार २७१, घोगी ३३३ क्वीन्टल, दशेरामा ५० क्वीटल, सदरमुकाममा १ हजार ९२१ क्विटल चामल मौज्दात चामल रहेको जानकारी दिए ।  

जुनिचाँदे गाउँपालिका– ११ ताँगामा भने एक गोडा चामल छैन । त्यस्तै  नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिलेसम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्मा भएको ३ हजार ६३५ क्विन्टल चामल मात्र मौज्दात रहेको छ ।

डोल्पामा सञ्चित तर....
छिमेकी जिल्ला डोल्पामा पनि पर्याप्त चामल छ तर जनताको पहुँच पुग्ने ठाउँमा वितरणको प्रबन्ध हुन सकेको छैन । जिल्लाको  जुफालमा २२ सय, दुनैमा ३ हजार १४, काईगाउँमा ६००, सर्मीमा १०० क्विन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । 

उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ  डिपोको लागि प्रस्ताव पठाइएपनि अहिलेसम्म प्रस्ताव स्वीकृति गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा कत्तिपनि चामल नभएको बताइएको छ । हाल त्यहाँ हवाइ मार्गबाट सामान लाने गरिएको छ । कर्णाली प्रदेश सरकारले उपभोक्ताको पहुँचमा पुग्ने गरी खाद्यान्न ढुवालीको प्रबन्ध गर्ने जनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप