बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण रोक्न सर्वदलीय संयन्त्र आवश्यकता छ: अध्यक्ष राणा

आइतबार, २३ चैत २०७६, १२ : ४०
आइतबार, २३ चैत २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले कोरोना महामारी विरुद्धको लडाईमा राष्ट्रलाई एकजुट गर्न सर्वदलीय संयन्त्रको आवश्यकता रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटमा कोरोना महामारीबारे प्रतिक्रिया दिँदै अध्यक्ष राणाले सो कुरा बताएका हुन् । अध्यक्ष राणाले बन्दाबन्दीको चरणलाई सरकारले अन्तिम सफलताको रुपमा परिभाषा गरे गम्भीर भूल हुने चेतावनी दिए । दोस्रो चरणको संक्रमण दृष्टिगत गर्दै संवेदनशील क्षेत्रमा विशेष जोड दिएर परीक्षणको क्रम व्यापक बनाउनु पर्ने उनको सुझाव छ ।

उनले भनेका छन्, ‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ । पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं । संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।’

स्वदेश फिर्ता भएका धेरैले स्वास्थ्य प्रोटोकल पूरा नगर्दाको जोखिमतर्फ ध्यानाकर्षण गराउदै राणाले दुर्गम क्षेत्रहरूको चुनौति सम्बोधन गर्न स्थानीय तथा प्रान्तीय संरचनालाई क्रियाशील तुल्याउनुपर्ने माग गरे । ‘सीमा बन्द हुनुभन्दा अगावै देश फर्किएका धेरै नेपालीहरु कुनै स्वास्थ्य जाँच नगरी वा क्वारेन्टाइनमा नबसी गाउँ–गाउँ पुगेका छन् । ती व्यक्तिमा कोरोना संक्रमणको लक्षण देखापरे स्थानीय सरकारमार्फत प्रान्तीय स्वास्थ्य मन्त्रालय पठाउने र उपचार गर्ने प्रणाली व्यवस्थित गर्न जरुरी भएको छ ।’

राणाले आपतकालिन उपचार नगरी बिरामी फिर्ता पठाउने नीजि अस्पताललाई सख्त कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । सेवाग्राही जनताका लागि सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरु सदैव खुला रहने सरकारले सुनिश्चित गर्नुपर्ने उनको भनाई छ । चूनौतीका बाबजुद पेशागत धर्म निर्वाह गर्ने स्वास्थ्यकर्मीप्रति आभार प्रकट गर्दै राणाले भने, ‘अग्रपंक्तिमा लड्ने सबै स्वास्थ्यकर्मीलाई प्रशंसनीय सेवाका लागि मूरी मूरी धन्यवाद दिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप