केन्द्रीय संस्करण

कोरोना लकडाउन: भारतमा गैर–कोरोना बिरामीको ज्यान जोखिममा

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

नयाँ दिल्ली । भारतीय स्वास्थ्य प्रणाली यतिबेला पूर्ण रुपमा कोरोनाभाइरसबाट पीडित बिरामीहरुको उपचारमा ध्यान केन्द्रित भएको अवस्था छ । तर, लकडाउनमा देशका अधिकांश ल्याब तथा क्लिनिक बन्द रहेका कारण मधुमेह र मुटु इत्यादिका बिरामीहरुले कठिनाइको सामना गर्नु परिरहेको छ । चिकित्सकहरु आगामी दिनमा कोरोनाभाइरस संक्रमितको तुलनामा गैर–कोरोना बिरामीहरुको मृत्यु अधिक हुन सक्ने बताउँछन् ।
भारतमा प्रत्येक दिन एक करोडभन्दा बढी नियमित रोगी आफ्नो उपचारका लागि चिकित्सकसम्म पुग्ने गर्दछन् । उनीहरुमध्ये धेरैजसो मधुमेह, मुटु तथा रक्तचापका बिरामी हुने गर्दछन् । उनीहरुका लागि रक्त परीक्षण, एक्सरे, सोनोग्राफी र एमआरआई जस्ता परीक्षणका विधि आवश्यक पर्दछन् । तर यतिबेला उनीहरु प्राथमिकतामा पर्ने गरेका छैनन् ।

सरकारी अस्पतालमा ल्याब रहे पनि कर्मचारी कम छन् । अस्पतालहरुमा अन्य रोगीका तुलनामा कोरोनाभाइरसका बिरामीलाई बढी प्राथमिकता दिने गरिएको छ । लकडाउनका कारण ७५ प्रतिशतभन्दा बढी ल्याब र क्लिनिक बन्द छन् । भारतमा ल्याबको सामान उपलब्ध गराउँदै आएको एउटा ठूलो कम्पनीका प्रमुख सुरेश वजीरानी भन्छन्, ‘देशमा एक लाख लेबोरेटरी छन्, जसमा ७५ हजारभन्दा बढी बन्द छन्, खुलेका केही ठूला निजी ल्याबमा पनि थोरैमात्र प्राविधिक र चिकित्सक काममा आउने गर्दछन् ।’

मुम्बईस्थित प्याथोलोजिस्ट डाक्टर अपर्णा जयरामका अनुसार मुम्बईका पाँच ल्याबमध्ये तीनवटामात्र चालु छन् भने ५२ मध्ये १० कर्मचारीमात्र काममा आउने गरेका छन् । कोरोना पीडित बिरामीको तुलनामा ठूलो संख्यामा आमबिरामीको मृत्यु हुन सक्ने उनको भनाइ छ । सरकारले बेलैमा यसबारे सोच्नुपर्ने सुझाव उनको छ ।

आमबिरामीले यतिबेला कयौँ समस्या झेल्नु परिरहेको छ । मुम्बईको एक कम्पनीको उपाध्यक्ष केर गोयलको पाठेघरको पत्र मोटो हुने गर्दछ । यसका लागि उनले प्रत्येक एक–दुई महिनामा नियमित रुपमा चिकित्सकलाई देखाउने गर्नुपर्दछ । लकडाउनको ठीक अगाडि उनी आफ्नो सोही समस्याका कारण चिकित्सकसमक्ष जानुपर्ने थियो । तर उनी घरमै बस्न बाध्य छिन् । ‘मैले सरदर हरेक महिनाजस्तै गाइनोकोलोजिस्टसमक्ष परीक्षण गराउनु पर्ने थियो, सोनोग्राफी गर्नुपर्ने थियो, लकडाउनका कारण अचेल म क्लिनिक जान पाएको छैन,’ उनले भनिन् ।

उनको अवस्था बिग्रिन सक्छ ? उनी भन्छिन्, ‘यो मेरो मनमा पनि आइरहने कुरा हो, अवस्था बिग्रियो भने म क्लिनिक जानैपर्छ या त डाक्टर नै मेरो घरमा आउनु पर्छ ।’ दिल्लीको ओखला क्षेत्रमा बस्दै आएकी ७५ वर्षीया महिला नफीसा कौसर २० वर्षदेखि मधुमेहको रोगी हुन् । उनलाई हाइपरटेन्सन पनि छ । समय समयमा उनले आफ्नो लिक्विड प्रोफाइल तथा अन्य प्रकारका रक्त परीक्षण गराउनु पर्दछ ।

‘मेरो ब्लड टेस्ट र चेकअप मार्चको अन्त्यसम्ममा हुनुपर्ने थियो, तर लकडाउनका कारण ढिलो हुने भयो,’ उनले भनिन्, ‘पहिला त रगतको नमूना लिनका लागि ल्याबकै एक कर्मचारी घरमै आउने गर्दथ्यो, तर अहिले त्यस्तो सेवा नभएको ल्याबले बताएको छ, कुरियर सेवा पनि छैन ।’

उनले आफ्नो परीक्षण गराउँदै आएको क्लिनिक ‘लाइफस्पान’को भारतभरी शाखा छ । अहिले उक्त संस्थाले बिरामीको उपचार गर्ने तथा टेलिमेडिसिनको अर्डर लिन बन्द गरेको छ । यहाँसम्म कि, अहिले अति आवश्यकबाहेकको शल्यक्रिया पनि बन्द गरिएको छ । महाराष्ट्रको नन्दुबार जिल्लामा बस्दै आएका ४० वर्षीय विजय जाधवले तत्कालै कर्निया ट्रान्सप्लान्ट गराउनु पर्नेछ । किनकि उनको आँखाको दृष्यशक्ति गुम्दै गइरहेको छ । उनकी बहिनी भन्छिन्, ‘पहिला हामी उपचारका लागि पुणे गएका थियौँ, हामीलाई तत्काल शल्यक्रिया गर्न सुझाव दिइएको थियो । तर कर्निया प्रत्यारोपण त्यहाँ नहुने भएकाले हामीलाई हैदरावाद या इन्दौर जान भनियो ।’

यसबीचमै लकडाउन भएका कारण समस्या बढेको उनको भनाइ छ । हाल हैदरावाद र इन्दौरका अस्पतालमा प्रत्यारोपणका लागि कर्निया उपलब्ध नभएको जानकारी आफूले पाएको उनले बताइन् । तत्काल आफूहरु जलना जिल्लाको एक अस्पतालमा चिकित्सकको परामर्शमा रहेको उनको भनाइ छ ।

यद्यपि लकडाउनको नियमअनुसार प्राथमिक हेल्थकेयरका मानिसलाई जरुरी सेवा अन्तर्गत राखेर उनीहरुलाई आउ–जाउका निम्ति खुला गरिएको छ । तर निजी अस्पतालमा आफूहरुले स्वास्थ्य सेवा पाउन नसकेको उनीहरुको गुनासो छ । सडकमा प्रहरीहरुले समेत बेलाबखत रोक्ने गरेको उनीहरु बताउँछन् ।

इन्दौरस्थित सेन्टर फर साइट हस्पिटलका चिकित्सा निर्देशक डा. प्रदीप व्यास भन्छन्, ‘हामी केवल महत्वपूर्ण सर्जरीमात्र गरिरहेका छौँ, कर्निया प्रत्यारोपणका लागि दाताको आवश्यकता पर्दछ, इन्दौरमा एउटा सरकारी मान्यताप्राप्त नेत्र बैंक छ, तर लकडाउनका कारण अहिले त्यो बन्द छ ।’

केर गोयल भने लकडाउनको पूर्ण समर्थन गर्छिन् । तर यसलाई बढाइयो भने समस्या बढ्न सक्ने उनको भनाइ छ । नसीफा कौसर प्रौढ उमेर र मधुमेहका कारण आफूहरु असुरक्षित श्रेणीमा रहेको बताउँछिन् । ‘विगत १० दिनदेखि मैले घरबाहिर कदम राखेको छैन, रक्तपरीक्षण गर्नुपर्ने थियो तर कहिलेसम्म हुन्छ भन्ने पनि थाहा छैन,’ उनी भन्छिन्, ‘म सुगर लेवललाई नियन्त्रणमा राख्ने कोशिस गरिरहेकी छु, बाँकी समय प्रार्थना गरेर बस्छु ।’

केन्द्र सरकारले डाक्टर र क्लिनिक आवश्यक सेवाको हिस्सा रहेको बारम्बार बताउँदै आएको छ । तर व्यवहारमा वास्तविकता भने बेग्लै देखिन्छ । डा.अर्पणा जयरामका अनुसार कयौँ चिकित्सक र स्वास्थ्य प्राविधिकहरु घरमै बसिरहेका छन् । उनीहरुका परिवारका सदस्यले कोरोनाका कारण घरबाट बाहिर ननिस्कन, अस्पताल तथा क्लिनिकमा नजान दबाब दिइरहेको उनको भनाइ छ । केही चिकित्सक र प्राविधिकहरु अस्पताल तथा ल्याबमा जान चाहे पनि सडकमा प्रहरीले रोक्ने गरेको उनी बताउँछिन् ।

‘मेरो पाँचवटा ल्याबमध्ये तीनवटा खुला छन्, तर कर्मचारी निकै कम छन् । म आफैँ दैनिक १८ घण्टा काम गर्दछु,’ उनले भनिन्, ‘म व्यक्तिगत रुपमा गम्भीर र पुराना रोगीहरुको घरमा जाने गरेको छु जसको रक्त परीक्षणका लागि नमूना लिन अति आवश्यक हुन्छ ।’

जीपी एसोसिएसनको प्याथोलोजी समूहको ह्वाट्सएप ग्रुपमा चिकित्सक र प्याथोलोजिस्टलाई सूचीका आधारमा नै बिरामीको उपचार गर्न र क्लिनिक खोल्न आफूहरुले सन्देश दिदैँ आएको उनले बताइन् । तर यो त्यति प्रभावकारी हुन नसकेको उनी बताउँछिन् ।

ट्राफिक प्रहरीले पनि बाटोमा रोक्ने गरेको उनको गुनासो छ । ‘केही अघि एउटा बिरामीको रक्त नमूना लिनका लागि म उसको घर गइरहेको थिएँ,’ उनले भनिन्, ‘मलाई एक वरिष्ठ पुलिस अधिकारीले बाटोमा रोक्नुभयो र घरमा किन नबसेको भनेर सोध्नुभयो ।’

आफूले ती अधिकारीलाई ‘तपाईलाई हृदयाघात भयो भने मेरो आवश्यकता पर्दछ’ भनेर जवाफ दिएको उनले बताइन् । सुरेश वजीरानीका अनुसार आगामी दिनमा गैर–कोरोनाका बिरामीको अवस्था अझ विकराल हुन सक्छ । उनले भने, ‘हाम्रो प्राथमिक स्वास्थ्य प्रणाली केवल २५ प्रतिशतको क्षमतामा काम गरिरहेको छ, यो अवस्था जारी रहेमा भोलिका दिनमा गम्भीर स्वास्थ्य संकट आउने छ । कोरोनाका कारण भन्दा पनि गैर–कोरोनाका बिरामीको मृत्यु ठूलो परिमाणमा हुने देखिन्छ ।’

पहिलादेखि नै कुनै न कुनै रोग भएकाहरुमा कोरोना संक्रमण र त्यसको असर बढी देखिने उल्लेख गर्दै उनले भने, ‘त्यसैले गैर–कोरोना रोगीले नियमित रुपमा उपचार पाउन जरुरी छ, सरकाले उनीहरुलाई सुविधा दिनुपर्छ ।’ डा. अर्पणा पनि सरकारले अधिक समग्र दृष्टिकोण अपनाउनुपर्ने खाँचो औँल्याउँछिन् । ‘३६० डिग्रीको दृष्टिकोण जरुरी छ,’ उनले भनिन्, ‘जसले कोरोना वा गैर–कोरोना रोगीले समान रुपमा उपचार सेवा पाउनु पर्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.