शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इटलीमा १५ हजार बढीको मृत्युपछि आशाको पहिलो किरण

आइतबार, २३ चैत २०७६, १० : ४८
आइतबार, २३ चैत २०७६

संसारभरी कोरोनाभाइरसको कहर बढ्दो छ तर यो महामारीका कारण सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ ।

इटलीका अधिकारीका अनुसार शनिबार पनि यो भाइरसका कारण ६ सय ८१ जनाको मृत्य भएको छ जसका कारण मृतकको कूल आँकडा १५ हजार ३ सय ६२ पुगेको छ ।

तर शनिबार लामो समयपछि इटलीमा आशाको पहिलो किरण देख्न पाइएको छ ।

इटलीमा सर्वसाधारणको सुरक्षा गर्ने सभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा पहिलो पटक इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेका बिरामीको संख्यामा कमी देखियो ।

इटलीको सिभिल प्रोटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले मिडियासँगको कुराकानीमा शुक्रबार इटलीको अस्पतालमा गम्भीर रुपमा बिरामीको संख्या ४ हजार ६८ थियो जुन शनिबार कम भएर ३ हजार ९ सय ९४ भएको जानकारी दिए ।

एन्जेलो बोर्रेलीले भने, ‘यो हाम्रो लागि असाध्यै महत्वपूर्ण आँकडा हो किनभने गम्भीर रुपमा बिरामीको संख्या कम भएको यो पहिलो घटना हो । यो यसकारण पनि महत्वपूर्ण छ किनभने हाम्रा अस्पतालले थोरै राहत पाउनेछन् । उनीहरुले सास फेर्ने मौका पाउनेछन् । जबदेखि हामीले आपतकालीन स्थिती देखेका छौं तबदेखि पहिलो पटक क्रिटिकल बिरामीको संख्यामा कमी आएको छ ।’

इटालियन सरकारको साइन्टिफिक काउन्सिलका प्रमुख फ्रान्को लोकतेलीले क्रिटिकल बिरामीको संख्यामा कमी एउटा महत्वपूर्ण संकत भएको बताएका छन् । यद्यपि, उनले इटलीले क्रिटिकल स्टेज पार गरेको भनेर अनुमान गर्नु गलत भएको पनि स्पष्ट पारे ।

उनले भने, ‘यसमार्फत् यो पुष्टि हुन्छ कि हामीले जुन तौर तरिका अपनाइरहेका छौं, त्यो सफल साबित भइरहेको छ ।’

सफल भए उपायः

इटलीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आइरहेको देख्न सकिन्छ । शनिबार इटलीमा २ हजार ८ सय ८६ कोरोना भाइरसको नयाँ संक्रमित भेटिए । हालसम्म इटलीमा कोरोनाभाइरसका ८८ हजार २ सय ७४ एक्टिभ संक्रमित छन् ।

यसका साथै २० हजार ९ सय ९६ बिरामीको उपचारपछि निको भइसकेका छन् ।

लोम्बार्डीको उत्तरी क्षेत्र यो भाइरसले सबैभन्दा बढी प्रभावित छ । देशभरीको संक्रमितमध्ये ८५ प्रतिशत बिरामी यसै क्षेत्रका छन् र जति मृत्यु इटलीमा भएको छ तीमध्ये धेरै यही इलाकाका छन् ।

यो इलाकाका जनतालाई घरबाट बाहिर निस्कँदा सुरक्षाका लागि अनिवार्य मास्क लगाउन भनिएको छ । यो नयाँ प्रावधान ५ अप्रिलदेखि १३ अप्रिलसम्म जारी रहनेछ ।

यतिमात्रै होइन इटलीको उत्तरी हिस्साको अर्को शहर वेनेतो र आल्टो एडिगेमा पनि मानिसहरुलाई बजार वा सपिङ सेन्टरमा किनमेलका लागि जाँदा मास्क लगाउन अनिवार्य गरिएको छ ।

यसअघि पनि यी इलाकामा सावधानीका कडा कदम उठाइएका थिए । उदाहरणका लागि १५ अप्रिलसम्म सडकमा हिँड्न अनुमती दिइएको थिएन । मोटरसाइकलमा पनि बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो । सबै पर्यटक स्थल र होटल बन्द गरिएको थियो ।

यसका साथै कुनै पनि प्रकारको निर्माण कार्यमा प्रतिबन्ध लगाइएको थियो ।

फेब्रुअरीबाट खराब भएको थियो स्थितीः

इटलीमा पहिलो संक्रमित देखिएपछि इटलीको स्वास्थ्य मन्त्रालयले एउटा टास्क फोर्स गठन गरेको थियो । जुन विशेषरुपमा कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राखेर तयार पारिएको थियो । इटली युरोपेली युनियनको पहिलो यस्तो देश थियो जसले आफ्नो हवाई सेवामा प्रतिबन्ध लगाएको थियो ।

अहिले इटलीमा पूर्ण लकडाउनको स्थिती छ तर लोम्बार्डीमा थप कडा नियम लागू गरिएको छ जसको उल्लंघन गर्दा लगभग तीन लाख रुपैयाँसम्मको जरिवाना लगाइँदै छ ।

यति गर्दासमेत कोरोनाभाइसमाथि अंकुश लगाउन इटली सफल हुन सकेन । यद्यपि, स्वास्थ्य विभागका कर्मचारीले आफूसँग भएको स्रोत साधन प्रयोग गरेर उपचारमा जुटिरह्यो । तर उपचारका लागि अस्पताल, बेड, स्रोत–साधन सबैको संकट भयो ।

इटलीमा आधिकारिक रुपमा कोरोना भाइरस संक्रमणको सुरुवात २० फेब्रुअरीदेखि सुरु भएको हो । लोम्बार्डीका कोडोग्नो इलाकामा एक ३८ वर्षका व्यक्तिमा पहिलो संक्रमण देखिएको थियो ।

यो इटलीको पहिलो आधिकारिक रुपमा दर्ता गरिएको कोभिड–१९ केस थियो । यद्यपि, केही स्वास्थ्य अधिकारीले इटलीमा यो भाइरसको प्रवेश निकै अघि भएको मान्यता राख्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप