शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दादुरा-रुबेलाबाट चेपाङ गाउँमा २ जनाको मृत्यु, १५० बिरामी

शनिबार, २२ चैत २०७६, २२ : ०७
शनिबार, २२ चैत २०७६

धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् । 

गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो । ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो । 

दादुरारुवेलाका कारण २९ महिनाको अनिशा चेपाङ र आठ महिनाको वसन्त चेपाङको मृत्यु भएको स्वास्थ्य सेवामा संलग्न गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले बताइन् । गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न रहेकी छिन् । 

चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो । फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए । रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुबाडीले बताए । 

दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेपनि चेपाङ गाउँका मानिसले हालसम्म पनि खोप नलगाएको सोल्टीमायाँ चेपाङले बताए । ३० वर्षीया सोल्टीमायाँको छ बच्चामध्ये एक जनाको दादुराका कारण मृत्यु भएको थियो । उनले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताए ।

आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुबाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए । गाउँपालिकाले महामारीका रुपमा रहेको दादुरारुवेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वाग्मती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरारुवेला खोप लगाउने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप