शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड– १९ एक साता चुनौतीपूर्ण

शनिबार, २२ चैत २०७६, २१ : २९
शनिबार, २२ चैत २०७६

नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् ।

बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड– १९ देखिएपछि  रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो ।

आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण देखिएको छ । मुम्बाइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र  कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो । महिला भने यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कम्युनिटी ट्रान्समिसनलाई सङ्क्रमणको दोस्रो चरण बताएको छ । पहिलो चरण सङ्क्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड– १९ परीक्षण गर्नुपर्ने बताउछन् 

 “पहिले हामी पहिलो चरणमा रहेका थियौ । नेपालमा नै रहेका व्यक्तिमा कोभिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ”, उनले भने, “विदेशबाट आएका मानिसमा मात्र होइन । अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ ।” 

उनले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा सङ्क्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताउछन् । 

सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै कोभिड–१९ सङ्क्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक सङ्क्रमणको स्थिति कस्तो हुने थाहा हुनेछ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले बन्दाबन्दी ‘लकडाउन’को अवधि थप गरेर सङ्क्रमित रहेको समुदायको सबैको नमूना परीक्षण गर्नुपर्ने बताए । 

विश्वभरि फैलिएको महामारीका कारणले सरकार गत चैत ११ गते लकडाउन गरेको हो भने चैत ९ गतेदेखि विदेशबाट आउने अन्तरराष्ट्रिय विमानस्थल पनि बन्द भएकाले त्यसपछि नेपालमा हवाइमार्गबाट मानिस आएका छैनन् ।  सो अवधिमा आएका मानिसको अहिले सङ्क्रमण देखिरहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिमा सङ्क्रमण देखिएकाले सचेत हुनुपर्ने बताउछन् । उनले समुदायमा सङ्क्रमण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताए । 

नेपालमा यही चैत २५ गते लकडाउनका अवधि १५ दिन पुग्दैछ । सो अवधिमा विदेशबाट आएका मानिसमा सङ्क्रमणको लक्षण देखिए पनि ती व्यक्तिले अन्यलाई सारेकाले लकडाउन बढाउनुको विकल्प नरहेको विज्ञ सल्लाहकार डा कार्कीको भनाइ रहेको छ । 

“यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ”, उनले भने, “अहिले एकै दिनमा तीन जनामा समेत देखियो । यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ ।” 

 यो लकडाउनको अवधिमा नेपालमा रहेका सङ्क्रमितको तथ्याङ्क आउने भएकाले जोखिम मानिएको हो । कोरोना भाइरसका सङ्क्रमण देखिने अनुसन्धानबाट दुई हप्ता हो । यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ । होइन भने देखिँदैन । चौध दिनपछि कममात्रामा लक्षण देखिने गर्दछन् । हाल नेपालमा विदेशबाट आएका आठ र एक जना नेपालमै रहेका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समुदायमा नै सङ्क्रमण देखिएकाले नमूना परीक्षणको दायरा बढाउनुपर्ने बताउछन् । 

उनले नमूना परीक्षण दैनिक एक हजार पु¥याएर अवको हप्तामा विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्ने बताए । “व्यक्तिबाट व्यक्तिमा सङ्क्रमण सरेको छ । अब समुदायमा त्यो स¥यो कि सरेन भनेर हेर्नुपर्दछ, उनले भने, “विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्दछ । त्यसैले यो एक हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण रहन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप