शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञको सुझावअनुसार नै कोरोना रोकथाम र नियन्त्रण: मन्त्री ढकाल

शनिबार, २२ चैत २०७६, १४ : ०२
शनिबार, २२ चैत २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताएका छन् । जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उनले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्वपूर्ण साथ रहेको भन्दै उनले चिकित्सक र स्वास्थ्यकर्मी दिएको साथको प्रशंसा गर्नुभयो । मन्त्री ढकालले कोभिड–१९ का विरूद्ध नेपालले गरेको तयारीका बारेमा बिहीबार आफूले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठनका सदस्य राष्ट्रबीच छलफल भएको समेत उल्लेख गरेको जानकारी गराए । उनले अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोभिड–१९ नदेखिएको भन्दै ती व्यक्तिबाट अरूमा कोरोना सर्न नदिनका लागि काम भइरहेको बताए । उनले नेपाल र भारतको सीमामा रहेका नागरिकका लागि दुवै देशले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने विषयमा पनि काम भइरहेको जानकारी दिए ।

छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले अर्बौं खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाँच्ने भन्ने सन्दर्भमा नागरिकलाई सचेत गराउनुपर्ने बताए । उनले कोभिड–१९ को नमूना परीक्षण कम्तीमा दैनिक एक हजार जनाको गर्ने गरी अघि बढ्नुपर्ने बताए । उनले लकडाउनको समय लम्ब्याउनुपर्ने धारणा राखे । जनस्वास्थ्य विज्ञ डा.अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै कोभिड–१९ संसारकै लागि नौलो भएकाले वैज्ञानिकसमेत अन्योलमा रहेको बताए ।

उनले कोभिड–१९ सङ्क्रमितमध्ये ८० प्रतिशतमा सामान्य मात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामना गर्नुपर्ने बताए । छलफलमा मन्त्रालयका सचिव यादव कोइराला, प्राडा.शरद वन्त, डा.दीपेन्द्ररमण सिंह, डा.प्रदीप वैद्य, डा.केदारप्रसाद बराललगायत विज्ञको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप