बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित बन्दै जनता : डाक्टरहरु के भन्छन् ?

‘स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म कोरोना संक्रमित र आशंका गरिएका बिरामीको उपचारमा संलग्न हुने कुरा हुँदैन’
शनिबार, २२ चैत २०७६, ११ : १६
शनिबार, २२ चैत २०७६

घटना नम्बर १.

बारा जिल्लाको कलैया उपमहानगरपालिकाका २५ वर्षीय विजयप्रसाद कुसवाहको ७ वटा मेडिकल र अस्पताल धाउदाधाउदै मृत्यु भयो । चैत्र १४ गते थ्रेसरमा मुसुरो झार्नेक्रममा मेसिनले उनको दुवै खुट्टा काटदा स्थानीय मेडिकलमा गएर टाँका लगाए । त्यसपछि उनलाई ज्वरो, सुख्खा खोकीले सताएर उपचारको लागि नेसनल मेडिकल कलेज वीरगञ्जमा पुगे । कोरोना भाइरस संक्रमणको आशंकामा उनलाई अन्यत्र उपचार गर्न जान मेडिकल कलेजले उनलाई निर्देशन दियो । तर उनलाई वीरगञ्जकै विभिन्न ६ वटा अस्पताल र मेडिकलले कोरोनाको आशंका भन्दै उपचार गर्न मानेन । अन्ततः उनी उपचारको खोजी गर्दै काठमाडौंको त्रिवि शिक्षण अस्पताल आइपुगेको थिए ।

कोरोना भाइरस कोभिड (१९) को संक्रमणको आशंका गरेका उनलाई त्रिवि शिक्षण अस्पतालले चैत १७ गते मृत घोषणा ग¥यो । विडम्बनाको कुरा, उनको मृत्युभएको भोलिपल्ट मात्रै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १८ गते कोरोना नभएको भन्दै ‘नेगेटिभ रिर्पोट’ आएको थियो ।

घटना नम्बर २.

पर्सास्थित नेशनल मेडिकल कलेजमा भर्ना भएका एकजना थाइराइडका बिरामीलाई ज्वरो आउँदा  अस्पतालका डाक्टरले उपचार गर्नै मानेनन् । उनलाई त्यहाँबाट ‘जबरजस्ती’ खेदियो । नेशनल मेडिकल कलेजबाट नारायणी प्रादेशिक अस्पतालमा लगिएका ती बिरामीलाई टाइफाइड, पिसावमा संक्रमणको कारण ज्वरो आएको नारायणी अस्पतालका एकजना डाक्टरले बताए । त्यस विषयमा भिडियो समेत सार्वजनिक भएको छ ।

घटना नम्बर ३.

चितवन कुरिनटारका उत्तम गुरुङलाई विगत दुईमहिनादेखि लगातार ज्वरो आइरहेको थियो । उनी  मंगलबार एम्बुलेन्सलाई साढे ८ हजार तिरेर आमासँगै आएर काठमाडौंको स्वयम्भुस्थित मनमोहन अस्पतालमा जाँच गरे ।

मनमोहन अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा फिर्ता पठायो ।  राती साढे ९ बजे (टिचिङ) अस्पताल पुगेका उत्तमलाई ज्वरो आएको कारण गेटबाट भित्र छिर्न नदिएको उनले गुनासो गरे । राती कहाँ जाने भनेर जर्वरजस्ती इमर्जेनसीको खाली बेडमा आत्तिएर पल्टिएको समेत उनले सुनाए ।

ज्वारो नाप्नका लागि डाक्टरले थमोमिटर किन्न लगाएर आफैले ज्वरो नापेको र डाक्टरले पर बसेर हेरेको उनले बताए । त्यसबेला उनलाई ज्वरो १ सय डिग्री ज्वरो आएको थियो । अस्पतालमा उपचार नपाएपछि उनी घर फर्किने तरखरमा थिए ।

000

यी सबै कोरानो भाइरस कोभिड (१९) को संक्रमण  महामारीको रुप लिएका बेलामा स्वास्थ्यमा समस्या आएपछि उपचार नपाएका केही प्रतिनिधिमुलक घटनाहरु हुन् । अहिले कोरोनाको त्रास यति डरलाग्दो छ कि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तर कोरोना भनेर प्रमाणित भएका स्वास्थ्य समस्याहरुको उपचार पनि आम जनताले पाइरहेका छैनन् । वास्तवमा, कोरोनाको आतंकले जति आम जनतालाई सताएको छ, त्यो भन्दा पनि भयानक ढंगले कोरोनाको त्रासले आमजनतालाई स्वास्थ्यसेवा दिने जिम्मेवारी बोकेर बसेका अस्पताल तथा स्वास्थ्यकर्मीहरु डराएको डरलाग्दो स्थिति छ । 

कोरोना भाइरस संक्रमणको आशंका लागेमा सरकारीले तोकेका अस्पताल तथा  क्लिनिकमा जाँच उपचार हुने भने पनि प्रभावकारी हुन नसकेको जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षित बताउँछन् । बिरामीको स्वास्थ्य उपचारमा अस्पतालहरु महामारीको बेलामा झन जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

 सरकारले अस्पतालहरु तोकेर कोरोना संक्रमित, आशंका गरिएका र अन्य रोगका बिरामीलाई उपचारबाट बञ्चित नगराउन निर्देशन दिएको छ । तर वास्तवमा कोरोनाविरुद्धको बचाउका सामग्रीहरु (पीपीई) को उचित बन्दोबस्त नहुँदा स्वस्थ्यकर्मीहरु तर्सिएका छन् । त्यहीकारण नै उनीहरु सामान्य अवस्थाका विरामी आउँदा पनि कोरोनासंक्रमित पो हुन् कि भनेर तर्सिने अवस्था छ । ‘सरकारले निर्देशनसँगै कोरोना भाइरस कोभिड (१९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रतिरक्षात्मक उपकरणहरुको पनि पूर्ण रुपमा व्यवस्था गर्नुपर्ने’ डा. दीक्षित बताउँछन् । ‘चिकित्सकको पेशा र कर्तव्य नै बिरामी उपचार गर्ने हो,’ उनले भने, ‘तर सुरक्षा कवजको समुचित व्यवस्थाबिना छिटो सर्ने रोगको उपचारमा संलग्न हुँँदा झनै रोग फैलिने खतरा निम्तिन्छ ।’

‘स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) नलगाइकन बिरामीको जाँचपडताल संलग्न भएनन् भनेर आरोपित गर्न नमिल्ने’ उनी बताउँछन् । ‘स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म कोरोना संक्रमित र आशंका गरिएका बिरामीको उपचारमा संलग्न हुने कुरा हुँदैन,’ डाक्टर दीक्षित भन्छन, ‘उनीहरु स्वास्थ्यकर्मी मात्रै होइनन्, उनीहरुको पनि आफ्नै अर्को संसार पनि हुन्छ, त्यो होः घरपरिवार र समाज ।’

‘यसको उपचार तथा जाँचपडतालको लागि अस्पतालहरुले पहिला स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न त्यसबारेको व्यवस्थापन तर्फ लाग्नुपर्ने’ उनी बताउँछन् । ‘स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उपलब्ध भएर पनि उपचारमा संलग्न नहुने स्वास्थ्यकर्मी तथा अस्पताललाई भने कारवाहीको दायरामा ल्याउनुपर्ने’ उनी बताउँछन् ।

कोरोना उपचारको लागि तोकेका अस्पतालले व्यवस्थापन गर्ने कुरामा नीतिगतरुपमा सहमती जनाएको जनस्वास्थ्य विज्ञ तथा प्राध्यापक डा. शरद वन्त सुनाउँछन् ।

‘नेपालमा सबै अस्पतालहरु एउटै खालको सुविधा नहुन सक्छ,’ उनी भन्छन्, ‘कोभिड–१९ संक्रमित र लक्षण देखापरेका बिरामीको जाँचपडताल भएन भनेर सबै अस्पतालको आलोचना गर्न मिल्दैन ।’

स्वास्थ्यकर्मी जुन तहको भएपनि सुरक्षाको अनुभूति गरेर मात्रै उपचारमा संलग्न हुनुपर्ने उनी बताउँछन् । ‘जोखिम मोलेर उपचारमा संलग्न हुनु’ भन्न स्वास्थ्यकर्मीलाई भन्न नमिल्ने समेत उनले बताए । साथसाथै ‘व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सबै रोग उपचारको लागि आवश्यक नपर्ने’ पनि उनी बताउँछन् ।

‘कोरोना पोजेटिभ बिरामीलाई भेन्टिलेटरमा राख्ने अवस्था आएको खण्डमा स्वास्थ्यकर्मी नजिकै भएर उपचार गर्नुपर्छ,’ उनले भने, ‘त्यस्ता बिरामीका लागि नजिकै गएर मेसिन फिट गर्नुपर्ने  अवस्थामा स्वास्थ्यकर्मीलाई पीपीईको आवश्यकता पर्छ ।’

‘कोरोना भाइरसको लक्षण देखापरेका, कोरोना संक्रमित, कोरोना संक्रमित भएर भेन्टिलेटरमा राखिएका बिरामी र अन्य संक्रामक रोग लागेका बिरामीलाई उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षात्मक उपकरण भिन्नाभिन्नै हुने’ जनस्वास्थ्य विज्ञ डाक्टर वन्तको भनाइ छ ।

त्यसैले ‘महामारीको बेलामा अस्पताल तथा स्वास्थ्यकर्मीले कतिखेर कहाँ कहाँ पीपीई लगाउनुपर्ने हुन्छ भन्ने बारेमा बुझनुपर्ने’ उनी बताउँछन । स्वास्थ्यमा समस्या भएका सबै बिरामीलाई एउटै खालको (पिपिई) लगाएर उपचार गर्न नपर्ने उनको भनाइ छ । त्यसैले वर्तमान समयमा बिरामीले उपचार नपाएर भौतारिनु ज्यान गुमाउने बातावरण अस्पतालहरुले सृर्जना गर्न नहुने उनी बताउँछन् ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाल मेडिकल काउन्सिलले अस्पताललाई कोरोना संक्रमणको आशंका र स्वास्थ्यमा अन्य समस्या लिएर आउने बिरामीलाई उपचारबाट बञ्चित नगराउन निर्देशन दिएको छ । तर, निर्देशन दिएका कतिपय अस्पतालले कोरोनाको आशंकामा उपचार गर्न गएका बिरामीलाई स्वीकार गरेका छैन । ‘कोरोना भाइरसको संक्रमणले कस्तो रुप  लिन्छ भन्नेमा थाहा नभएको अवस्थामा मुलुकका सबै अस्पतालहरु तयारी अवस्थामा बस्नुपर्ने’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् ।

महामारीसँग जुध्नका लागि पहिला स्वास्थ्यकर्मी व्यवस्थित हुनुपर्ने भन्ने कुरामा डा. दीक्षित र डा. वन्तका कुरामा डा. पुन पनि सहमती जनाउँछन् । तर साथसाथै उनी ‘कोरोना संक्रमित तथा आशंका गरेर उपचार तथा जाँचपडताल गर्न आउने बिरामीका लागि तयारी नपुगेका अस्पतालले पनि सम्बन्धित निकाएकालाई घच्घचाएर स्वास्थ्यकर्मीहरु महामारीसँग जुध्न तयार भएर बस्नुपर्ने’ कुरामा जोड दिन्छन् ।

‘कोरोना संक्रमित भएको शंङ्कैशङकामा उपचारका लागि भौतारिने अनि अंकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना स्वास्थ्यकर्मी र अस्पतालले गराउन नहुने’ डाक्टर पुनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप