शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कोरोना समस्या मात्र होइन समाज परिवर्तनको सुनौलो अवसर पनि हो’

लकडाउनपछि हामी डिजिटल युगतर्फ प्रवेश गर्दै छौँ
शनिबार, २२ चैत २०७६, ०९ : ३७
शनिबार, २२ चैत २०७६

काठमाडौँ । एनएमबी बैङ्कका कार्यकारी निर्देशक (सीईओ) हुन् सुनिल केसी । केसीले राष्ट्रका प्रमुख ‘क’ वर्गका वाणिज्य बैङ्कहरु मध्येको एक बृहत् बैङ्क एनएमबीको नेतृत्व सम्हालिरहेका छन् । यद्यपि अहिलेको विषम परिस्थितिमा समेत उनले घरमै बसेर बैङ्कका सम्पूर्ण कार्यभार पूरा गरिरहेका छन् ।

यतिखेर विश्व कोरोना महामारीको चरम आक्रमणको सिकारमा छ । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या १० लाख नाघिसकेको छ भने कोरोनाबाटै मृत्यु हुनेहरुको सङ्ख्या आजको दिनसम्म ५० हजारभन्दा माथि पुगिसकेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस तीव्र गतिमा फैलिरहँदा विश्वले आफ्नो देश र नागरिकको सुरक्षाका लागि भन्दै कोरोना रोकथाम तथा सुरक्षाका विभिन्न उपाय अपनाइरहेका छन् । सम्भावित दुर्घटनाबाट मुलुकलाई रोक्न अहिले धेरैजसो देशहरुले लकडाउनको रणनीति अपनाइरहेका छन् ।

यसैबीच ठ्याक्कै यतिखेर नेपालले पनि सम्भावित कोरोना महामारीको दुर्घटनाबाट मुलुकलाई बचाउन देश पूर्ण रूपमा लकडाउन गरेको छ ।

लकडाउनकै कारण यतिखेर सबै नागरिकहरु घरभित्रै थुनिन पुगेका छन् भने सधैँजसो व्यस्त र दौडधूप गर्ने कर्पोरेटकर्मीहरु समेत फुर्सदिला भएका छन् ।

कोरोनाले सधैँजसो व्यस्त र दौडधूपको जीवनबाट केही फुर्सदिलो र शान्त बन्न सिकाएको सीईओ केसी बताउँछन् ।

कोरोनाको विश्व महामारीका कारण आज धेरैजसो देशहरु लकडाउनमा छन् । धेरैको दैनिकी अस्तव्यस्त भएको छ । जसको सिकार आज हामी नेपाली पनि भएका छौँ । कोरोनाको सन्त्राससँगै बढेको जोखिमलाई न्यूनीकरण गर्न भन्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आज हामी घरघरमै थुनिन पुगेका छौँ । तर हामीले घरमै बसेर पनि समयको सदुपयोग गरिरहेका छौँ । अफिसियल कामबाहेक पनि अन्य नयाँ नयाँ खोज तथा अनुसन्धान र अध्ययनलाई समेत समय पाएका छौँ । त्यति मात्र होइन हामीलाई आफ्नो परिवारसँग रम्नसमेत कोरोनाले सिकाएको छ । त्यसैले कोरोनाले हामीलाई सधैँ काम काम भनेर दौडधूप मात्र होइन केही फुर्सदिलो र क्रिएटिभ हुन पनि सिकाएको छ ।

विशेषतः कोरोनाले आफूलाई तीन अवसर प्रदान गरेको केसी बताउँछन् :

१. काममा क्रियशीलता, अफिस स्टाफहरुसँग अझ बढी सामीप्यता

लकडाउनका कारण घरबाटै काम गरिरहनुपर्दा थप आफूमा कामप्रतिको क्रियशीलता र अफिस (कार्यालय) स्टाफहरुसँग सामीप्यता बढाउने अवसर मिलेको सीईओ केसी बताउँछन् । यसले काम गर्न निकै सजिलो भएको उनको भनाइ छ । जसले विषम परिस्थितिमा पनि कममा निखारता आएको उनको बुझाइ छ ।

कोरोना महामारीको सन्त्रासका बीच लकडाउनमा घरमै ‘होम क्वारेन्टाइन’मा बसे पनि अफिसियल काम रोकिएका छैनन् । हामीले घरबाटै इन्टरनेटको माध्यमबाट काम अघि बढाइरहेका छौँ । कहाँ कुन ठाउँमा, कुन ब्रान्चमा के समस्या छ, कस्तो सेवा दिनुपर्ने हो सोको प्रवन्ध राम्रैसँग गरिरहेका छौँ । उक्त स्थानमा हाम्रा स्टाफलाई के कसरी हुनसक्छ त्यसरी परिचालन गरिरहेका छौँ । अर्को कुरा हामी–हामी अफिस स्टाफहरु बीचमा पनि त्यो सौहार्दपूर्ण वातावरण मिलेको छ । कोरोनाले हामीलाई अझ बढी एकआपसमा घुलमिल हुन सिकाएको छ । इन्टरनेटका माध्यबाट हामी हाम्रा स्टाफहरुसँग बारम्बार भिडियो कन्फ्रेन्स लगायत अडियो संवादमा जोडिइरहन्छौँ ।

२. परिवारसँग रम्न, रमाउन र समय व्यतित गर्न

कोरोनाले आफूलाई जुराएको र सिकाएको अर्को महत्त्वपूर्ण किस्सा परिवारजनसँग रम्न, रमाउन र समय व्यतित गर्न रहेको केसी बताउँछन् । सधँै अफिस, काम भन्दाभन्दै परिवारसँग राम्रोसँग बस्न र घुलमिल हुन नपाइरहेको बेला कोरोनाले त्यो अवसर आफूलाई दिलाएको केसीको भनाइ छ ।

कर्पोरेट क्षेत्रमा हुँदा आफ्नो अधिकांश समय अफिस र कामलाई नै दिनुपर्ने हुन्छ । यस्तो बेला परिवारसँग समय विताउने पर्याप्त समय हामीसँग कहाँ हुन्छ र ? तर अहिले हामीले त्यस्तो समय पाएका छौँ । लकडाउनमा हामी २४सै घण्टा आफ्नो परिवारसँग रहन पाएका छौँ । यसले परिवारमा अझ बढी आत्मीयता कायम भएको छ । यसरी पनि मैले कोरोनाले जुराएको अवसर सदुपयोग गरिरहेको छु ।

३. नयाँ नयाँ खोज, अनुसन्धान र अध्ययन

सीईओ केसी लकडाउनको अवसर सदुपयोग गर्न नयाँ नयाँ खोज, अनुसन्धान र अध्ययनमा समेत लगाएको बताउँछन् । फुर्सदको समयलाई बढीभन्दा बढी पुस्तक, लेख, रचना पढ्ने अध्ययन मननमा उपयोग गरेको उनी बताउँछन् ।

अरू बेला अध्ययनका लागि खासै फुर्सद मिल्दैनथ्यो, कामले भ्याइँदैनथ्यो । तर अहिले पर्याप्त समय मिलेको छ । यही समयको उपयोग गर्दै विभिन्न पुस्तक, लेख रचना र बौद्धिक सामग्री अध्ययन गर्दै छु । विशेषगरी साहित्यिक तथा बौद्धिक र वाणिज्य क्षेत्रका पुस्तक अध्ययन गर्दै छु ।

लकडाउनमा समेत घरमा बसेर अफिसको काम, अध्ययन, अनुसन्धान, परिवारजनसँग घुलमिल र स्टाफको परिचालन समेत गरिरहेका सीईओ केसी कोरोनालाई समस्याको रूपमा मात्र लिन नहुने बताउँछन् । कोरोना आफैमा समस्या भए पनि यसले समाजमा केही न केही परिवर्तन अवश्य ल्याउने उनको भनाइ छ । जसरी अँगारबाट हीरा जन्मिन्छ त्यसरी नै समस्याबाट सकारात्मक परिवर्तन अवश्य जन्मिने उनको विश्लेषण छ ।

 हो, कोरोना हाम्रा लागि अहिले समस्या बनेर आएको छ । यसले विश्वमा ठूलै महामारी निन्त्याइरहेको छ । तर हामीले यसलाई समस्या मात्र मान्न हुन्न । पोजेटिभ थटबाट पनि हेर्नुपर्छ ।

कोरोना समस्या मात्र होइन, समाज परिवर्तनको सुनौलो अवसर पनि हो । लकडाउनपछि हामी डिजिटल युगतर्फ प्रवेश गर्दै छौँ ।

यस लकडाउनले हामीलाई डिजिटल प्रयोगतर्फ प्रेरित गरेको छ । सधैँजसो समय, मिहिनेत र लगानी खेर फालेर घण्टौँ लाइनमा बसेर कारोबार गर्ने हामी नेपाली आजभोलि घरमै बसेर सजिलै ई–पेमेन्ट तथा ई–बैङ्किङ, मोबाइल सर्भिस गरिरहेका छौँ । यसलाई सकारात्मक परिवर्तन नै मान्नुपर्छ । अब डिजिटल प्रणालीको विकास हुन्छ भन्नेमा म विश्वस्त छु ।

यस्तो विषम परिस्थितिमा घरमै बसौँ, संयमित हौँ र सुरक्षित रहेर सकेसम्म घरबाटै डिजिटल माध्यमबाट दैनिक उपभोग्य वस्तु खरिद, पेमेन्ट र बैङ्किङ कारोबार गर्न सबैलाई अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप