मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा कोही पनि संक्रमित नभएको दाबीः किम जोङ उनले आखिर त्यस्तो के गरे ?

शनिबार, २२ चैत २०७६, ०८ : १३
शनिबार, २२ चैत २०७६

इबेट टेन/ बीबीसी

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसद्वारा संक्रमित नभएको दाबी गरेको छ । यो दाबीमाथि अब शंका बढ्दै गएपछि प्रश्न उठ्न थालेको छ ।

उत्तर कोरियाले सीमा बन्द गर्ने आफ्नो कठोर निर्णयका कारण कोरोनाभाइरस आफ्नो देशसम्म नआइपुगेको बताउँदै आएको छ ।

तर दक्षिण कोरियामा अमेरिकी सेनाका वरिष्ठ कमान्डरले उत्तर कोरियाको यो दाबीलाई झुटो र असम्भव बताएका छन् ।

यद्यपि, उत्तर कोरियाका एक विशेषज्ञले बीबीसीसँगको कुराकानीमा त्यहाँ संक्रमित नै छैनन् भन्नु गलत भएको बताउँदै ठूलो स्तरमा संक्रमण फैलने आशंका भने कम भएको बताएका छन् ।

जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार हालसम्म संसारभरी कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने ५३ हजार ६९ को मृत्यु भइसकेको छ ।

उत्तर कोरियामा सेन्ट्रल एन्टी–एपिडेमिक मुख्यालका निर्देशक पाक म्योङ–सूले शुक्रबार समाचार एजेन्सी एएफपीसँग भने, ‘उत्तर कोरियामा अहिलेसम्म एकजना व्यक्ति पनि संक्रमित छैनन् । ’

उनले थपे, ‘हामीले संक्रमण रोक्नका लागि पहिलेदेखि नै सक्रिय र वैज्ञानिक कदम उठाएका छौं । जस्तै विदेशबाट आएका व्यक्तिहरुको खोजी र उनीहरुलाई क्वारेन्टिनमा राख्नु । हामीले सबै सामानलाई पूर्ण रुपमा स्यानिटाइज गर्यौं, आफ्ना सबै जल, थल र वायु सीमालाई बन्द गर्यौं ।’

के उत्तर कोरियाको दाबी सही होला ?

दक्षिण कोरियामा अमेरिकी सेनाका कमान्डर जनरल रोबर्ट अबराम्सले उत्तर कोरियाको यी दाबीलाई गलत बताएका छन् ।

उनले सीएनएन र भोइस अफ अमेरिकालाई संयुक्त रुपमा दिएको अन्तर्वार्तामा भने, ‘हामीले जुन जानकारी पाएका छौं, त्यसलाई आधार मानेर नै म भन्न सक्छु कि यो असम्भव दाबी हो ।’

यद्यपि उनले उत्तर कोरियामा कति संक्रमित होलान् भनेर किटान गरेर भन्न नसकिने बताएका छन् ।

अमेरिकी वेबसाइट एनक न्यूजका म्यानेजिङ एडिटर ओलिव हटमले पनि उत्तर कोरियामा संक्रमित छन् भन्दै दाबी गरे ।

उनले भने, ‘उत्तर कोरियामा एकजना पनि संक्रमित छैनन् भन्नु गलत हो किनभने यहाँको सीमा दक्षिण कोरिया र चीनसँग जोडिन्छ । उत्तर कोरियाको चीनसँग जुन प्रकारको व्यापारिक सम्बन्ध छ त्यो हेर्दा कोरोनाभाइरसको कुनै पनि संक्रमित छैनन् भन्ने दाबी गलत भएको जस्तो लाग्छ ।’

यद्यपि, उनले पनि उत्तर कोरियामा संक्रमण व्यापक रुपमा नफैलिएको हुन सक्ने बताएका छन् ।

उत्तर कोरियाले संक्रमण संकटको सामना कसरी गर्यो ?

यसमा कुनै शंका छैन कि उत्तर कोरियाले कोरोनाभाइरसको संक्रमणविरुद्ध अन्य देशको तुलनामा अत्यधिक फूर्तीले प्रभावकारी कदम उठाएको छ । उत्तर कोरियाले जनवरीको अन्त्यमा नै आफ्ना सीमा सील गरेको थियो र पछि प्योङ्गयाङमा आएका सयौं विदेशीलाई क्वारेन्टिनमा राखेको थियो । त्यतिबेला चीनमा संक्रमण निकै तीब्र रुपमा बढिरहेको थियो ।

एनके न्यूजको रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्ना १० हजार नागरिकलाई आइसोलेशनमा राखेको थियो र ५ सय बढी जनता अहिले पनि क्वारेन्टिनमा छन् ।

उत्तर कोरियामा मानिसहरुलाई कोरोनाभाइरसबारे थाहा छ ?

ओलिव हटमका अनुसार उत्तर कोरियामा धेरैजसो मानिसहरुलाई कोरोनाभाइरसबारे धेरै कुरा थाहा छ ।

उनले बीबीसीसँग भने, ‘मिडियामा यसबारे धेरै जानकारी दिइएको छ । हरेक दिन पत्रिकामा उत्तर कोरियाले घरेलु र अन्तर्राष्ट्रिय स्थितीसँग कसरी लडिरहेको छ भनेर जानकारी दिने कोसिस गरिएको छ ।’

सोलस्थित कूकमिन युनिभर्सिटीका अनुसन्धाता फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियामा मानिसहरुलाई भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ भनेर सिकाइँदै छ ।

उत्तर कोरियामा कस्ता स्वास्थ्य सुविधा छन् ?

विशेषज्ञका अनुसार उत्तर कोरियामा विभिन्न स्थानमा विभिन्न स्तरको स्वास्थ्य सुविधा छन् ।

फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियाको स्वास्थ्य प्रणाली उसको जत्ति ‘पर क्यापिटा जिडिपी’ भएका अन्य देशको तुलनामा निकै राम्रो छ ।

उनले भने, ‘उत्तर कोरियामा ठूलो संख्यामा डाक्टरलाई तालिम दिइएको छ । यद्यपि, त्यहाँका डाक्टर पश्चिमी देशको तुलनामा कम प्रतिस्पर्धी छन् र उनीहरुले अपेक्षाकृत कम तलब पनि पाउँछन् तर उनीहरुले आफ्ना नागरिकको आधारभूत स्वास्थ्यको रेखदेख राम्रोसँग गर्न सक्छन् ।’

ओलिव हटम पनि यसबारे टेरटिटिस्कीसँग सहमत छन् तर उनी भन्छन्, ‘उत्तर कोरियाका डाक्टर सामान्य रोगको उपचार गर्न पूर्ण रुपमा सक्षम छन् तर कोरोना संक्रमणजस्तो गम्भीर समस्याबाट जुध्नका लागि उनीहरुलाई उत्कृष्ट उपकरण र स्वास्थ्य सुविधाको आवश्यकता पर्छ ।’

उत्तर कोरियामाथि लागेको प्रतिबन्धका कारण उसका लागि नयाँ स्वास्थ्य उपकरण खरिद गर्न मुश्किल छ ।

ओलिव हटमका अनुसार शहरी इलाकामा उत्कृष्ट स्वास्थ्य सुविधा छन् तर ग्रामीण इलाकामा मानिसहरुले सुविधा पाउनु भनेको मुश्किलै छ ।

उनले भने, ‘केही अस्पतालमा आर्थिक समस्या छ । त्यस्ता अस्पतालमा न त पानीको आपूर्ती राम्रो छ न नै बिजुलीको ।’

उत्तर कोरियाले संक्रमितबारे लुकाइरहेको छ ?

उत्तर कोरियाले आफ्नो देशमा संक्रमित छन् भनेर जानकारी दिनु उनीहरुको लागि ‘हार’ सरह हुनेछ ।

ओलिव हटम भन्छन्, ‘उत्तर कोरियाले यो संक्रमणसँग कसरी जुधिरहेको छ, यसबारे निकै प्रोपोगान्डा छ । उत्तर कोरियाले आफ्नो देशमा संक्रमित छन् भन्नु उनीहरुका लागि हार स्विकार गर्नु सरह हो । यसले उत्तर कोरियाली जनतामा चिन्ता र त्रास पैदा हुनेछ । यदि मानिसहरु ठूलो मात्रामा पलायन हुन थाले यसले अस्थिरता पैदा हुनसक्छ र संक्रमण पनि बढ्न सक्छ ।’

फ्योडोर टेरटिटिस्कीका अनुसार संक्रमितबारे जानकारी लुकाएर उत्तर कोरियाले आफ्नो छवि बचाउने कोसिस गरिरहेका छन् ।

उनले भने, ‘उत्तर कोरिया यस्तो कुनै जानकारी दिन चाहँदैन जसमार्फत् उसको छवि खराब हुन्छ । भन्नका लागि कुनै राम्रो खबर नभएसम्म चुप नै बस भन्ने त्यहाँको नियम नै  छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप