बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस प्रकोपका समय जन्मिएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’

शुक्रबार, २१ चैत २०७६, २२ : २७
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नाबालकको नाम ‘कोभिड‘ र नाबालिकाको नाम  ‘कोरोना’ राखिएको छ । यी दुई शब्दले अरूको दिमागमा डर वा भय उत्पन्न गर्न सक्छ तर रायपुरका दम्पतीका लागि कठिनाइमाथि विजयको प्रतीक रहने छ । कोरोभाइरस सङ्क्रमणका कारण लागू भएको राष्ट्रव्यापी तालाबन्दीमा जन्मेका उनीहरू अस्पतालबाट घर फर्किसकेका छन् । 

उनीहरूका अभिभावक प्रीति वर्मा (आमा) र शुभ्र सिंह (बावु) ले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम त्यसरी राखेको बताएका छन् । जुम्ल्याहाकी आमाले कोरोनाभाइरस सङ्क्रमणको समयमा अस्पतालमा भर्ना भएपछि सङ्क्रमणको भयका कारण बच्चा जन्माउँदा र त्यसपछिका केही दिन निकै कठिनाइ भएको बताइन् ।

उनले अस्पतालको कुशल व्यवस्थापनका कारण आफूहरू सुरक्षित घर फर्किएकोमा उनले रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पताल र आफ्नो सेवामा सम्लग्न स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिइन् ।  ‘हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।’ चैत १३ (मार्च २६) का दिन आफूलाई प्रसव व्यथा लागेको कोभिड र कोरोनाकी आमाले सञ्चारकर्मीसँगको कुराकानीमा बताइन् । एक दिनपछि अर्थात् १४ (मार्च २६) गते जुम्ल्याहा जन्मिएका थिए । 

वर्माले भनिन्, ‘लकडाउनका कारण सडकमा कुनै सवारी चलाउन अनुमति नहुने हुँदा हामीलाई प्रहरीले विभिन्न स्थानमा रोकेको थियो तर उनीहरू (सुरक्षाकर्मी) ले मेरो अवस्था देखेपछि अवरोध गरेनन् । अस्पताल जान पाइयो ।  मध्यरात भएको कारण अस्पतालमा के हुने होला भनेर म सोचिरहेको थिएँ तर सौभाग्यवश चिकित्सकहरू र अन्य स्टाफहरू निकै सहयोग गर्नुभयो । हामी आज खुशी छौँ ।’ 

‘यो भाइरस खतरनाक छ, तर यसकै कारण मानिसहरूले स्वास्थ्य र राम्रो आनीबानीमा ध्यान दिन जोड दिइरहेका छन् । त्यही भएर हामीले यी नाम छानेका हौँ ।’ अस्पतालका कर्मचारीहरूले ती जुम्ल्याहा जन्मिएलगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई उक्त निर्णय लिन सजिलो भएको जनाएका छन् । ती दम्पतीको स्थायी घर उत्तर प्रदेशमा रहेको भएपनि पछिल्ला केही वर्षदेखि छत्तिसगढ राज्यको राजधानीको पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् । Photo: dainik bhaskar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप