सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कोरोनाले ल्याएको विचलनको पाटो

शुक्रबार, २१ चैत २०७६, २१ : ५१
शुक्रबार, २१ चैत २०७६

अहिले जहाँसुकै, जतिसुकै बेला, जोकोहीले कोरना भाइरसकै चर्चा गर्ने गरेको पाइन्छ । सबै नागरिकलाई कोरोनासँग लड्ने ब्रह्मास्त्र मानिएको लकडाउनको रणनीतिअनुसार घरमै कैद नभईकन धरै छैन । तर कसैलाई भनेँ घरभित्रै सुरक्षित बस्न सक्ने अवस्था छैन ।

समग्रमा भन्नुपर्दा घरमा बस्दा भोक आतङ्क र बाहिर जाँदा कोरोना आतङ्कको सिकार हुने सम्भावनाबीच नेपाली नागरिक विभक्त छन् ।  कोरोना भाइरसको महामारी विश्वका दुई सयभन्दा बढी देशहरुमा फैलिसकेपछि विश्वव्यापी जनस्वास्थ्यको अवस्था, आर्थिक अवस्था र सामाजिक अवस्था माथिको असरको पाटो विस्तारै खुल्दै जाला नै । कोरोना भाइरसको महामारीबाट प्रभावित देशका नागरिकको स्वाथ्यप्रति जिम्मेवार हुँदै आआफ्नै तरिकाले कोरोना आतङ्कसँग जुझ्नुका साथै नागरिकका लागि विभिन्न राहत प्याकेज कार्यान्वयनमा ल्याएका छन् । हामीकहाँ यो महामारीसँग जुझ्ने क्रममा देखिएका विभिन्न प्रवृत्तिबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

हाम्रो समाज कता जाँदैछ ?
कोरोना भाइरसको आतङ्कसँगै अहिले हामीकहाँ हरेक क्षेत्रमा एक प्रकारको विशृङ्खलता सिर्जना हुने अवस्था छ । सामाजिक दूरीले समाजमा मानवताको पाटोलाई अवमूल्यन गरिरहेको छ । एउटा स्थान विशेषको एउटा घर परिवारको कुनै एक जना सदस्य कोरोनाबाट सङ्क्रमण हुँदा समाजले हेर्ने दृष्टिकोणमा नै विचलन आउने गरेको छ । मानौँ रोगबाट कुनै कारणले सङ्क्रमित हुने मानिस ठूलो अपराधी हो । ऊ लगायत उसको परिवारलाई नै सामाजिक बहिष्करण गर्ने डरलाग्दो प्रवृत्ति देखिएको छ ।

सङ्क्रमणबाट आफू पनि बच्न सावधानी निश्चितरूपमा अपनाउनु पर्छ, त्यसका लागि भौतिक दूरी रहन जरुरी हुन्छ तर झन् समाजबाट सहयोग चाहिने बेला सबै सामाजिक सम्बन्धहरु र मानवताकै अन्त्येष्टि हुनेगरी छिःछिः दूरदूरको भावनाले यो समाजलाई कहाँ पुर्याउला, यो विचारणीय पक्ष हो ।

डेरा बस्ने स्वास्थ्यकर्मीप्रति घरधनीले गर्ने व्यवहार र आफ्नो घरपरिवारले स्वास्थ्यकर्मीप्रति गर्ने व्यवहारमा अहिले परिवर्तन भएको देखिन्छ । समाजमा सङ्क्रमण हुँदैमा मरिहालिन्छ भन्ने अनावश्यक डर व्याप्त भएको छ । यस भाइरसको मानिस मानिसबीच हुने सङ्क्रमणको गति बढी भए पनि हुँदा यो भाइरसको सङ्क्रमण हुँदैमा मरि नै हाल्दैन भन्ने सामाजिक चेतनाको अभाव देखिन्छ । यस्तो महासङ्कटमा समाजमा कालो बजारी र मुनाफाखोरहरु आफ्नो प्रकारले सक्रिय छन् । सङ्कटको यस घडीलाई धन आर्जनको माध्यम बनाउनेहरु पनि देखिएकै छन् । यस्तो प्रवृत्तिले समाजमा मानव रहला तर समाज मानवताविहीन भने पक्कै हुन्छ ।   

हाम्रो स्वास्थ्य क्षेत्रको मानसिकता कस्तो छ ?
हाम्रो स्वास्थ्य क्षेत्र पनि अहिले अस्तव्यस्त र दिग्भ्रमित छ । निजी अस्पतालहरु बढी आतङ्कित छन्, मानौँ उनीहरुलाई कोरोना फोयिबा भएको छ । कोरोनासँग लड्ने सेनानी स्वास्थ्यकर्मीहरु अनावश्यकरूपमा आतङ्कित भएका पाइन्छन् । तर वास्तविक रूपमा स्वास्थ्यकर्मीहरुले नागरिकलाई अझ बडी सरसल्लाह एवं काउन्सिलिङ गर्नुपर्ने अहिलेको अवस्थामा अस्पतालमा सामान्य बिरामी जाँदा पनि सरिहाल्छ भनेर आतङ्कित हुने, भर्ना नगर्ने र उपचार नगर्ने झन् जघन्य अपराध भइरहेको छ ।

कतिपय अन्य रोगका बिरामीहरु प्नि अस्पताल चाहर्दा चाहर्दै सामान्य उपचार नपाएर मर्नुपरेको तथ्य सुन्नमा आएको छ । कोरोना सङ्क्रमितलाई ठूलो अपराधी जस्तै असुविधायुक्त आइसोलेनमा राख्ने र उचित काउन्सिङ र उपचार नदिने यहाँसम्म कि २, ३ दिनसम्म भेटघाटै नगर्ने जस्तो अमानवीय कार्यहरु पनि भएको कुरा सार्वजनिक भइसकेको छ । बिरामीलाई लामो समय एकान्तवासमा राखिन्छ र त्यही मर्छ, पछि रिपोर्ट आउँछ, कोरोना टेस्ट नेगेटिभ । यो कस्तो बिडम्बना यसको जिम्मेवारी कसैले लिने कि नलिने ? हाम्रो जनस्वास्थ्य व्यवस्थापन नागरिकप्रति किन जिम्मेवार हुन नसकेको ? मानसिकरूपमा कोरोना भाइरससँग लड्न किन तयार नभएको ?  अहिले यी अहम् प्रश्नहरु उब्जेका छन् ।

राज्य कता छ, के गर्दैछ ?
उपरोक्त यावत् प्रश्नहरुको जवाफ राज्यले भने दिनै पर्छ ।  अन्यथा राज्य सञ्चालन गर्ने जिम्मेवारीमा बसिरहन नैतिकरूपमा पनि जरुरी हुँदैन । राज्यको परीक्षण नागकिहरुमाथि आएको यस्तो सङ्कटको घडीमा नै हुन्छ । मानव समाजको इतिहासले यही सिकाएको छ । 

हामी कहाँ कोरोना बिपत्ति एकै दिनमा आएको हैन । नेपालसम्म आइपुग्दा यसले हामीलाई पर्याप्त समय दिएको थियो । तर त्यतिबेला हामी बेग्लै राप अलाप्दै थियौँ । विश्वमा कोरोना महामारी फैलँदो अवस्थामा थियो, सरकार चाहिँ कोरोना मुक्त देश घोषणा गर्ने सोचतर्फ लाग्यो । कोरोना एक दिन अवश्य आउँछ भन्ने दूरगामी सोचबाट बिमुख भयो । त्रुटि यही बाटै सुरु भयो । हाम्रो स्वास्थ्य व्यवस्थालाई सम्भावित सङ्क्रमणबाट मानसिक तथा भौतिक रूपमा लड्न सक्ने तयारी गर्नबाट राज्य चुक्यो । तिनै तहका सरकारहरु कोरोनासँग लड्ने कुरामा कुहिरो काग जस्तै भए । जब पर्यो राति तब... ताती भन्ने युक्ति जस्तै सरकार तात्यो तर धेरै ढिलो ।

पूर्व तयारीबिनै हतार हतार लक डाउन, हतार हतार स्वास्थ्य सामग्रीहरुको अन्तर्राष्ट्रिय खरिद र जनशक्ति एवं स्वास्थ्य सामग्रीहरुको अव्यवस्थित आन्तरिक व्यवस्थापन आदिले गर्दा नागरिकमा झन् ठूलो मनोवैज्ञानिक आतङ्क सिर्जना हुन गएको छ । त्यसमा पनि यो बिपत्तिको बेला सबै एकजुट भएर लाग्नुपर्ने बेला भ्रष्टाचारको दुगन्र्धमाथि पक्ष विपक्षमा बहस गर्नुपर्ने बिडम्बना सिर्जना भएको छ  । स्वास्थ्य सामग्रीहरु गुणस्तरहीन एवं कमसल रहेको तथ्य बाहिर आएको छ । यसैगरी नागरिकहरुका तत्कालीन समस्या सम्बोधन गर्ने सवालमा राज्य उदासीन देखिएको छ । आपूर्ति व्यवस्था भद्रगोल छ । एकातिर जनताले गरेको उत्पादन फाल्नुपर्ने अवस्था छ भने अर्कोतर्फ सहरमा आपूर्ति अभाव छ, मूल्य चुलिएको छ ।  दैनिक काम गरेर खानुपर्ने विपन्न वर्ग घरभित्रै बसेर खान पाउने अवस्थामा छैन । गाँस, बासको अभावमा भौतारिनुपर्ने अवस्था छ, यता उता लखेटिनुपर्ने अवस्था छ ।

नागरिकहरु प्रति राज्यको द्वैध चरित्र देखिएको छ । सुकिला मुकिला र सम्भ्रान्त मात्र देशका नागरिक हैनन् । नागरिकका आधारभूत मौलिक हकमाथि उनीहरुको मात्र विशेषाधिकार रहँदैन । राज्यको आँखामा सबै नागरिक बराबर हुनुपर्छ । तर त्यो कुरा राज्यको व्यवहारबाट अनुभूत हुन सकेन । अहिले जनताको एउटा तप्काले राज्यको व्यवहारप्रति चित्त दुखाइरहेको छ । देशभित्र बेरोजगारीबाट आक्रान्त भएको अवस्थामा विदेशिन बाध्य भएका निमुखा नागरिकहरु सङ्कटको घडीमा आफ्नै मातृभूमि फर्किन नपाउने अवस्था सिर्जना गरिएको छ । राज्यले आफ्ना नागरिकहरुलाई नेपालको सीमा ढोकामा भोटे ताल्चा लगाएर रोक्ने निकृष्ट कार्य गरी नागरिकको आधारभूत मानव अधिकारको हनन समेत गरेको छ । यसरी राज्य आफ्नो मूल जिम्मेवारीबाट विमुख हुन सक्दैन । सङ्कटको बेला सबै मिलेर विपत्तिसँग लड्नुपर्ने बेला राज्यको यस्तो मानसिकता, व्यवहार र अव्यवस्थाले सबै पक्ष र नागरिकहरुको सहयोग प्राप्त गर्ने अवस्था रहँदैन । अब चाहि राज्यको आँखा खुलोस ताकि यस महासङ्कटलाई सबै मिलेर सामना गर्न सकौँ ।
[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनक शाह
जनक शाह
लेखकबाट थप