बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा बन्यो विश्वकै सबैभन्दा ठूलो क्रिटिकल केयर युनिट

शुक्रबार, २१ चैत २०७६, २० : ५९
शुक्रबार, २१ चैत २०७६

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणले तीव्र रुप लिएपछि बेलायत सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिँदै आएको छ । 

यसैक्रममा पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्शेल सेन्टरलाई बेलायतको सबैभन्दा नयाँ र सबैभन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरिएको छ । उक्त एक्सेल सेन्टरमा जी २० सम्मेलन, विभिन्न प्रदर्शनी र लन्डन २०१२ ओलम्पिक्स भएका थिए । सो हस्पिटल कोरोना भाइरसबाट संक्रमण भएका क्रिटिकल बिरामीको लागि प्रयोग गरिने बताइएको छ ।  

८० भन्दा बढी वार्ड तथा ४ हजार शैया भएको उक्त हस्पिटल विश्वकै ठूलो हस्पिटल अन्तर्गत पर्नेछ भने विश्वकै ठूलो क्रिटिकल केयर युनिट भएको स्काई न्यूजले बताएको छ ।

 ८७ हजार ३ सय २८ स्क्वायर मिटर स्पेश भएको यस भवनमा सम्पूर्ण सुविधा सम्पन्न सामग्रीहरु उपलब्ध रहने बताइएको छ । यस हस्पिटलको निर्माणमा दुई सय भन्दा बढी सैनिकहरु खटाइएका थिए । रोयल एन्जिलियन रेजिमेन्ट, रोयल गोर्खा राइफल्स, कार्पेन्टर, ठेकेदार, एनएचएस कर्मचारी तथा स्वयंसेवक लगायतका थुप्रै व्यक्तिहरुले चौविसै घण्टा खटेर काम गरेका थिए । 

उक्त हस्पिटल सार्वजनिक यातायात, एअरपोर्ट, होटल विश्वविद्यालय, आवासीय क्षेत्रका लागि उपयुक्त रहनेछ । यस हस्पिटलको नेतृत्व  ८ जना बरिष्ठ कर्मचारीको टोलीले गर्नेछन् । हस्पिटललाई पूर्ण रुपमा संचालन गर्न १६ हजार कर्मचारीको  आवश्यकता पर्नेछ । जसमा  हजारौं डाक्टर, नर्स, तथा स्वयंसेवकहरु रहनेछन् । कर्मचार्री आपूर्तिको लागि अन्य हस्पिटलका कर्मचारी, सेन्ट जोन एम्बुलेन्स, इजिजेट र भर्जिन एटलान्टिक एअरलाइन्सका कर्मचारीद्वारा सहयोग गरिने भएको चिफ अपरेटिंग अफिसर नाटाली फोरेष्टले बताएकी छन् । 

दुई हप्ताभन्दा कम समयमा निर्मित उक्त  हस्पिटलको उद्घाटन आज राजकुमार चार्ल्सले गरेका छन् । कोरोना भाइरसका कारण राजकुमार पनि भर्खरै मात्र सेल्फ आइसोलेशनबाट मुक्त भएका हुन् । उनले भिडियो सन्देश मार्फत यस विशाल हस्पिटलको उद्घाटन गरेका हुन् । 

पछिल्लो समयमा बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि बेलायतवासी थप त्रसित बन्दै गएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप