बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मारवाडी सेवा समाजले १० लाख परिवारलाई राहत दिने, राहतको लाइनमा सम्पन्न पनि मिसिए (भिडियो)

शुक्रबार, २१ चैत २०७६, २० : ०४
शुक्रबार, २१ चैत २०७६

काठमाडौं । काठमाडौंको कालोपुलमा बस्ने सीता मगर ज्यामी काम गर्छिन् । लकडाउनले गर्दा उनको दैनिकी रोकिएको छ । अचेल उनी घरमै बसेकी छिन् । उनी बसेको स्थानमा पनि राहत वितरण गर्न काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ ले नाम संकलन गरेको थियो । शुक्रबार हातमा नागरिकताको फोटोकपी लिएर राहत वितरण गर्ने ठाउँमा उनी आएकी थिइन् । 

सीताजस्तै धनमाया तामाङ पनि लाइनमा थिइन् । उनी पनि ज्यामी काम गर्छिन् । २ दिनअघि उनको पनि नाम टिपिएको थियो । चन्द्रमाया बस्नेत केही पनि काम गर्दिनन् । उनको घर दोलखा हो, अहिले काठमाडौंमा भाडामा बस्छिन् । केही नभएकोले राहत लिन आएको बताइन् । यस्तै बिन्दा मगर सानो बच्चा हेरेर घरमा बस्छिन् । उनी पनि राहत लिन आएकी थिइन् । 

उनीहरु जस्तै झन्डै डेढसय जनालाई मारवाडी सेवा समितिले शुक्रबार काठमाडौंको कालोपुल सिफलमा राहत वितरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ ले टिपेको विवरणका आधारमा उनीहरुलाई राहत वितरण गरिएको मारवाडी सेवा समितिका ललित जोदानीले जानकारी दिए ।

झापा समाजका अध्यक्ष समेत रहेका उनले राहत लिन काठमाडौंमा घर भएका केही ब्यक्ति पनि आएको बताए । उनले जो वास्तविक श्रमिक हो उसलाई पहिचान गरेर मात्र नगरपालिकाले नाम टिप्नुपर्ने बताए । हुने खानेलाई भन्दा पनि नहुनेलाई राहत दिन लागेकोले नगरपालिकाले नागरिकता मात्र नहेरेर उसको आर्थिक अवस्था हेरेर राहतको नाम लिष्टमा समावेश गर्नुपर्ने उनले बताए । 

उनले मारवाडी सेवा समाजले काठमाडौंमा ३० हजार प्याकेट र नेपालभर १० लाख प्याकेट राहत वितरण गर्ने योजना रहेको जानकारी दिए । नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष एवं मारवाडी सेवा समितिका पूर्वमहासचिव कैलाशचन्द्र गोयल संकटको अवस्थामा देशब्यापी रुपमा राहत वितरण थालेको जानकारी दिए । देशमा रहेका ३९ वटा शाखामा सबैलाई राहत वितरण गर्न पत्र पठाएको उनले बताए । 

उनले जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयको समन्वयमा सबै स्थानमा राहत सामग्री बाँड्ने बताए । देश संकटमा परेको बेला सहयोग गर्न आफ्ना शााखा कार्यालयलाई आग्रह गरेको र सामान उपलब्ध भएसम्म राहत वितरण गरिरहने बताए । 

मारवाडी सेवा समितिले ५ किलो चामल, २ किलो दाल, १ किलो नुन, २ वटा सावुन, ५ प्याकेट चाउचाउ, ५ वटा मास्क सहितको प्याकेट बनाएर राहत वितरण थालेको हो । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप