शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओम्नी समूहको विवादबारे बोल्यो भाटभटेनीः ‘भाडामा बसेको कम्पनीले के गर्छ त्यसको जिम्मा हामी लिन सक्दैनौं’

शुक्रबार, २१ चैत २०७६, १९ : २०
शुक्रबार, २१ चैत २०७६

काठमाडौं– ओम्नी समूहको विवादको विषयमा भाटभटेनी सुपर स्टोर्सले आफ्नो धारणा सार्वजनिक गरेको छ । 

भाटभटेनीले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा कुनै एक कम्पनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा मिडियामा समाचार प्रकाशित भएको र यससन्दर्भमा भाटभटेनी समूहको नाम पनि जोडिएकोमा समूहको ध्यान आकृष्ट भएको जनाएको छ । 

अहिले विवादमा रहेको कंपनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाटभटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउने गरेको भाटभटेनीले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मान मर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो ।’ 

विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार संप्रेषण गर्ने समाचार संस्थाहरूलाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि हामी सादर अनुरोध गर्दछौं ।’

संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि विज्ञप्तीमा जनाएको छ । भाटभटेनीले संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

त्यसैगरी, सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश २५ लाख सहयोग गर्ने घोषणा पनि भाटभटेनीले गरिसकेको छ । प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गर्ने जनाएको छ । 

भटभटेनीले अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी घर–घरमै पु¥याउने व्यवस्था गरिरहेको पनि जानकारी गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप