बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

३९ वर्षका एक स्वस्थ डिजेको कोरोनाका कारण मृत्युः उनकी विधुवा श्रीमती र छोरी यसो भन्न चाहन्छन्

शुक्रबार, २१ चैत २०७६, ०९ : २७
शुक्रबार, २१ चैत २०७६

निकोल बुचाननले आफ्ना श्रीमानलाई अन्तिम पटक हेर्नसमेत पाइनन् ।

तीन हप्ता अघिसम्म पनि कोन्राड बुचानन स्वस्थ थिए । उनी फ्लोरिडाका चर्चित डिजे थिए जसलाई छोरीसँग नाच्न अत्यधिक मनपर्दथ्यो ।

तर मार्च १४ तारिखमा ३९ वर्षे उनी बिरामी परे । उनकी श्रीमती निकोलले उनलाई कोरोनाभाइरसको परीक्षण गराउन चाहिन् तर सकिनन् ।

‘हामीले उनको परीक्षण गर्न पाएनौं । मैले यसको लागि निरन्तर लड्नुपर्यो,’ उनले भनिन् ।

‘उनको उमेर र स्वास्थ्य अवस्थाका कारण डाक्टरहरुले उनको परीक्षण गर्न मानेनन् ।’

तर मार्च २२ तारिखमा कोन्राडको स्वास्थ्यस्थिती नराम्रोसँग बिग्रन थाल्यो त्यसकारण निकोलले उनलाई अस्पताल पुर्याइन् ।

अस्पताल पुर्याउने बित्तिकै उनलाई भेन्टिलेटरमा राखियो । निकोल आफ्नो कार पार्क गर्न गइन् । त्यसपछि उनले आफ्ना श्रीमानलाई कहिल्यै देखिनन् ।

‘म अस्पतालको ढोकासम्म जान्थेँ । अस्पताल लकडाउन गरिएको थियो । उनीहरुले कसैलाई अस्पताल प्रवेश गर्न दिँदैनथे,’ उनले भनिन् । ‘मैले उनलाई अन्तिम पटक ‘आइ लभ यू’ भन्नेसमेत मौका पाइनँ ।’

कोनराड बुचानाको मृत्युले कोभिड–१९ को कठोर वास्तविकताबारे चित्रण गर्छ । यो रोगबाट कोही पनि बच्न सक्दैनन् । युवावस्थाका स्वस्थ व्यक्तिको पनि मृत्यु हुनसक्छ ।

‘यो निकै गम्भीर छ भनेर मानिसहरुले बुझुन् भन्ने म चाहन्छु । मानिसहरुले सोच्छन् कि यसले पहिल्यैदेखिका रोगी र ज्येष्ठ नागरिकलाई मात्रै छुन्छ, तर वास्तविकता यो होइन,’ उनकी बिधुवा श्रीमतीले रुँदै भनिन् ।

‘मेरो श्रीमानले जे कुराको सामना गर्नुपर्यो, त्यो हेर्नु निकै भयावह थियो । उनको मृत्यु हाम्रो जीवनका लागि भयानक सपनाजस्तो हो ।’

निकोलमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनका अनुसार उनको लक्षण खासै गम्भीर छैन तर उनले खानाको स्वाद र गन्ध भने गुमाएकी छिन् ।

यो जोडीकी छोरी स्काइ आफ्नो परीक्षणको नतिजा कुरिरहेकी छिन् । उनले आफ्नो बुवा गुमाउनु पर्दा अत्यधिक विचलित भएको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप