बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद श्रेष्ठद्वारा व्यक्तिगत खर्चमा पिपिई र मास्क वितरण

बिहीबार, २० चैत २०७६, २० : १८
बिहीबार, २० चैत २०७६

तनहुँ निर्वाचन क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले व्यक्तिगत खर्चमा जिल्लाका स्थानीय तह, प्रशासन, प्रहरीलगायतलाई व्यक्तिगत सुरक्षा सामग्री, मास्क र स्यानीटाइजर वितरण गरेका छन् ।

उनले निर्वाचन क्षेत्रअन्तर्गतका दुई नगरपालिका, तीन गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, दमौली अस्पताल, कारागारलगायतलाई आज उक्त सामग्री वितरण गरेका हुन् । उनले व्यास नगरपालिकालाई दुई हजार थान मास्क र तीन थान पिपिई, भानु नगरपालिकालाई दुई हजार थान मास्क र १० थान पिपिई, देवघाट गाउँपालिकालाई एक हजार ५०० थान मास्क र पाँच वटा पिपिई, बन्दीपुर गाउँपालिकालाई एक हजार ५०० थान मास्क र पाँच वटा पिपिइ, आँबुखैरेनी गाउँपालिकालाई एक हजार ५०० थान मास्क र पाँच वटा पिपिई दिएका थिए।

यस्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई २५० थान मास्क, सशस्त्र प्रहरी बल मनकामना गणलाई ५०० थान मास्क, इलाका प्रहरी कार्यालय भानुलाई २५० थान मास्क, जिल्ला प्रहरी कार्यालयलाई ७५० थान मास्क र चार बोतल स्यानिटाइजर, जिल्ला प्रशासन कार्यालयलाई २५० थान मास्क, कारागारलाई २५० थान मास्क र एक बोतल स्यानिटाइजर, ट्राफिक प्रहरी कार्यालयलाई २५० थान मास्क र दमौली अस्पताललाई एक हजार थान मास्क वितरण गरिएको छ । 

दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने घोषणा

सांसद श्रेष्ठले दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने घोषणा गरे । आज दमौलीमा आयोजित पत्रकार भेटघाटमा उनले प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पतालमा सघन उपचार कक्ष नहुनु दुःखद् रहेकाले आफ्नै पहलमा अस्पतालमा भेन्टिलेटरसहितको पाँच श्ययाको सघन उपचार कक्ष बनाउने प्रतिबद्धता जनाए । 

दश थान भेन्टिलेटरसहितको सघन उपचार कक्ष निर्माणका लागि करिब रु ५० लाख खर्च हुने र सहयोगदाता नपाएका खण्डमा आफ्नै लगानीमा पनि उक्त कक्ष स्थापना गरिने सांसद श्रेष्ठले जानकारी दिए । 

दमौली अस्पतालले ठाउँ व्यवस्थापन गर्नेबित्तिकै एक हप्ताको अवधिमा सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप