ओखलढुङ्गाका दुई युवतीको स्वाब परीक्षणका लागि धरान पठाइयो
–रामहरि श्रेष्ठ
ओखलढुंग । कोरोना संक्रमणको आशंकामा ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेशनमा राखिएका दुई युवतीको स्वाब परिक्षणका लागी धारान पठाइएको छ । भारतबाट जिल्ला फर्किएका ओखलढुंगाका दुई युवतीमा अचानक ज्वरो र खोकीको लक्षण देखिएपछि गत मंगलबारबाट अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनीहरुको बिहिबार बिहानै स्वाब संकलन गरी परिक्षणका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुखले बताए ।
उनले बिहिबार आजै बेलुकासम्म स्वाब परीक्षण केन्द्रमा पुगिसक्ने र आजै अबेर राती वा भोली बिहान सम्ममा उनीहरुको रिपोर्ट आइसक्ने उनले अनुमान गरे । आईसोलेशन राखिएका ती युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको रिपोर्ट अएपछि मात्रै कोभिड–१९ को संक्रमण हो हैन भन्ने एकिन हुने तिवारीको भनाई छ ।
यसैबीच ओखलढुंगाको रुम्जाटारस्थित जिल्ला स्वास्थ्य कार्यलयको क्वारेन्टाइनमा अर्का एकजना युवालाई राखिएको छ । गत चैत्र ९ गते भारतबाट जिल्ला आएका २४ वर्षीय ती युवकलाई आजबाट क्वारेन्टाइनमा रखिएको जिल्ला स्वस्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए । योसँगै ओखलढुंगा जिल्लमा क्वारेन्टाइनमा बस्ने युवायुवतीको संख्या १२ पुगेको छ । यसअघि मोलुङ गाउँपालिकाको रामपुर, ओखलढुंगा क्याम्पसको भवन र रुम्जटार अस्पतालको क्वारेन्टाइनमा यी युवाहरुलाई राखिएको छ । क्वारेन्टाइनमा बसेका मध्ये बिदेशबाट आएको १४ दिन पुरा गरेका युुवकको स्वास्थ्य अवस्था सामान्य रहेपछि मोलुङबाट एकजनालाई छाड्ने तयारी गरिएको छ ।