शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ सन्देश– अमेरिकाले राजनीति होइन कोभिड–१९ रोकथाम गर्नुपर्छ

बिहीबार, २० चैत २०७६, १५ : १३
बिहीबार, २० चैत २०७६

एजेन्सी । जोन्स होप्किन्स विश्वविद्यायस्थित कोरोना भाइरस रिसोर्स सेन्टरले सार्वजनिक गरेको डाटाअनुसार (यो रिपोर्ट लेख्दासम्म) ४ हजार ०८१ जनाले अमेरिकामा ज्यान गुमाइसकेका छन् । अमेरिकामा २४ घण्टाभित्र ९ सयभन्दा धेरै मृत्युका घटना दर्ता भए । दैनिक मृत्युदरमा यसरी अमेरिकाले अन्य देशलाई जितिसकेको छ । 

यो संख्या दुःखद् छ । वासिङ्गटनको सत्ताले महामारीको गलत व्यवस्थापन गर्दाको मूल्य अमेरिकीहरुले तिरिरहेका छन् । तर, अमेरिकाको शक्ति र अन्तर्राष्ट्रिय स्रोत जुटाउनसक्ने क्षमताअनुसार यस देशसँग अझै सम्भावित खराब अवस्था रोकेर धेरैको ज्यान जोगाउनसक्ने अवसर छ । राष्ट्रिय अवस्थाका कारण अमेरिकी सरकारले राष्ट्रिय मोविलाईजेशन गठन गर्न नै बाँकी छ, नोबेल कोरोना भाइरससँग जुध्न यो आवश्यक छ । अमेरिकाले सामाजिक दूरी अंगिकार गरेको छ, तर पूर्ण पालना गरेको छैन ।

अमेरिकी संघीय सरकारले १२ अप्रिलसम्म उद्योगहरु खुल्ने र अवस्था उस्तै हुने कामना गरेको छ, यो उसको गम्भीर गलत बुझाई हो । यसले सही दिशामा लग्दैन । दुई ट्रिलियन अमेरिकी डलरको राहत प्याकेज घोषणापछि अमेरिकी कँग्रेस पूर्वाधारका लागि नयाँ २ ट्रिलियन डलरको खोजमा छ । तर, जबसम्म भाइरस रहन्छ, तब यस्ता विधेयकले त्यहाँ सोचेजस्तो काम गर्न सक्दैन । 

वासिङटनले महामारी रोक्नका लागि अझै धेरै प्रयास गर्नुपर्ने देखिन्छ । भाइरस परास्त भएपछि अर्थतन्त्र आफैं जुर्मुराउनेछ । अमेरिकाले कोरोना भाइरससँग जुध्न घरेलु तथा अन्तर्राष्ट्रिय शक्ति एकत्रित गर्नुपर्ने अवस्था छ । चीनले आफ्नो सबैभन्दा कठिन दिनमा जे गरेको थियो, चीनमा हामीले बहस गर्ने केही सुझाव अमेरिकालाई पनि दिन चाहन्छौं । 

पहिलो, केही नगर्नुभन्दा ढिला गर्नु राम्रो हो । अमेरिकाले तत्कालै एक राज्यबाट अर्काे राज्यमा जान उच्च रुपमा प्रतिबन्ध लगाउनुपर्छ, भाइरसबाट अत्यधिक प्रभावित शहरमा भीड कम गर्नुपर्छ, यसले मानिसको भीड घटाउँछ र उनीहरुबीच हुने नजिकको सम्पर्क पनि ।

समाजमा अनावश्यक फेस टु फेस सम्पर्क हटाउनुपर्छ र भाइरसले महामारीको रुप लिइसकेका शहरका मानिसलाई घरभित्रै बस्न बाध्य गर्नुपर्छ । यस्तो नियमलाई निरङ्कुशताका रुपमा कहिल्यै लिनुहुन्न । यसको राजनीतिसँग कुनै सम्बन्ध छैन, यो महामारीबाट लिइएको पाठ हो । चीन, दक्षिण कोरिया, इटलीमा यस्तै गरिएको थियो । अमेरिकाले आफ्नो भूराजनीतिक मानसिकताबाट माथि उठेर जब बाहिरी विश्वबाट पाठ लिन्छ, तब बाटो भेट्टाउँछ ।

दोस्रो, हल्का ज्वरो आएका व्यक्तिलाई अस्पताल भर्ना गर्नुपर्छ । नोबेल कोरोना भाइरसलाई समुदायमा फैलनबाट जोगाउने यो निर्णायक नियम हो । अस्पतालले बिरामीको हेरचाह मात्रै गरेका हुँदैनन बरु संक्रमणको स्रोतलाई पनि ‘आइशोलेट’ गरिरहेका हुन्छन् । यसैका लागि धेरै देशहरुले तत्काल अस्पताल निर्माण गरेका छन् ।

 हल्का ज्वरो आएका बिरामीलाई अस्पताल भर्ना गरेमात्रै पनि अमेरिकाको समस्या समाधानको बिन्दू सुरु हुन्छ । अर्को, यो महामारीलाई गम्भीरतापूर्वक राजनीतिबाट टाढा राख्नुपर्छ । वासिङ्टनको पूर्वाग्रही सोच र चीनलाई दोष लगाउने प्रोपोगान्डा अभियानले सर्वसाधारणमा भ्रम सिर्जना गरेको छ र अमेरिकाको सरकार तथा राजनीतिक शक्तिलाई समेत अपहरण गरेको छ । 

रिपब्लिकन्स र डेमोक्रेट्स दुबैले कोरोना भाइरसको महामारीसँग कसरी जुध्ने भन्ने विषयलाई ध्यानमा राख्दै गर्दा आगामी राष्ट्रपतीय निर्वाचनमा राम्रो अवस्थामा पुग्न के गर्न सकिन्छ भन्ने विषयमा कठोर ढंगले सोच्न जरुरी छ । अमेरिकी समाजले साझा लक्ष्य बनाएर १ लाख मृतक पुग्ने अवस्था आफुलाई स्वीकार्य छैन भन्ने देखाउनुपर्छ र त्यस्तो भयावह आङ्कलनलाई यथार्थ बन्न नदिन सबै प्रयास गर्नुपर्छ । उनीहरु मिलेर अघि बढेरमात्रै यस्तो परिस्थिति निम्तन सक्छ । 

अमेरिकाले चीनसँगको द्वन्द्व पनि बन्द गर्नुपर्छ, दुई देशबीच महामारीविरुद्ध जुध्नका लागि सहकार्यको अवस्था सिर्जना गर्न यो जरुरी छ । चीनले अमेरिकालाई तत्काल आवश्यक पर्ने औषधी आपूर्ति गर्नसक्छ र दुई देशले संयुक्त रुपमा भ्याक्सिनको विकासमा पनि प्रभावकारी सहकार्य गर्न सक्छन् । चीनले कोरोना भाइसको भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु नै गरिसकेको छ । 

कोभिड–१९ को महामारीले स्पष्ट रुपमा देखाइसकेको छ कि अमेरिकालाई भू–राजनीतिबाट होइन, प्रकृतिबाट ठूलो खतरा छ र यो सबै जनताका हकमा लागू हुन्छ । यो तथ्यलाई मनन गर्नुपर्छ, महामारीपछि विश्वका मान्यतालाई पुनर्संरचना गर्ने क्रममा यसले प्रभाव पार्छ । जब अमेरिकाले यो वास्तविकता मनन गर्छ, तब उसले कोरोनाविरुद्ध निर्णायक लडाँइमा आफ्नो शक्ति केन्द्रीत गर्नसक्छ । 
(चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको सम्पादकीय )
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप