केन्द्रीय संस्करण
विचार

कस्तो रहला मन्दीपछिको नेपाली अर्थतन्त्र ?

नेपाली मनोविज्ञान बलियो छ, अर्थतन्त्र कोल्याप्स हुने सम्भावना छैन

person explore access_timeचैत २०, २०७६ chat_bubble_outline0

कोरोनाभाइरस (कोभिड–१९) को महामारी विश्वव्यापी रूपमा फैलिरहेको छ । यसको प्रभाव नेपालसम्म आइपुग्दा यो रोगको सङ्क्रमणलाई न्यूनीकरण गर्दै क्षतिलाई कम गर्न अहिले पूरै देश ‘लकडाउन’ गरिएको छ । नेपाल मात्रै होइन दक्षिण एसिया, एसिया, युरोपेली क्षेत्रका साथै र विश्वका कयौँ मुलुक पनि अहिले बन्द छन् । महामारीले हुनसक्ने मानवीय क्षति कम गर्न र दीर्घकालीन रूपमा अर्थतन्त्रलाई बचाउन योबाहेक अर्को विकल्प पनि थिएन । 

तर अल्पकालीन रूपमा बन्द नेपाली अर्थतन्त्रमा कोरोनाभाइरसको दीर्घकालीन प्रभाव कस्तो रहला भन्ने चासो भने सबैतिर छ । आफ्नो, परिवारको, समाजको, देशको र विश्वकै बारेमा चिन्ता र चासो लिनु मानवीय स्वभाव नै हो । त्यसमाथि घरमा फुर्सदिलो भएर बस्दा यसबारे थप चिन्ता र चासो बढ्दै जान्छ ।

यो महामारीले विश्वलाई कति असर पुर्याउँछ र नेपालमा त्यसको कति प्रभाव हुन्छ भन्ने आँकडा अहिलै नआउला । किनकि यसको प्रभाव कहिलेसम्म रहन्छ भन्ने निश्चित हुन सकेको छैन । तर पछिल्लो समयमा चीनले गरेको प्रगतिले विश्वलाई कोरोनाभाइरस नियन्त्रणका बल पुगेको चाहिँ छ । 

प्राकृतिक प्रकोप, युद्ध, महामारीजस्ता प्रकोपपछिको अर्थतन्त्रले मूलतः ३ प्रकारको वक्र (कर्भ) बनाउँछ । भी–कर्भ, यू–कर्भ र एल–कर्भ । अङ्ग्रेजी लिपिका यी तीन अक्षरले अर्थतन्त्र मन्दीको गति र रिकभरी (पुनरुत्थान) हुन लाग्ने समयलाई जनाउँछ । यहाँ ‘भी’ आकारको कर्भलाई सबैभन्दा उत्तम अवस्था मानिन्छ । ‘यू’ आकारको कर्भले मध्यम र ‘एल’ आकारको कर्भले खराब अवस्थालाई बुझाउँछ । 

भी–आकारको वक्रले अर्थतन्त्रमा मन्दीको प्रभाव विस्तारै पर्दै जाने देखाउँछ । जब मन्दीको अवस्था सकिन्छ, त्यसपछि अर्थतन्त्र फेरि विस्तारै रिकभरीको बाटोतिर फर्किन्छ । यस्तो अर्थतन्त्रमा मन्दीको अवस्थामा एकै पटक ठूलो क्षति भएको हुँदैन । ठूलो क्षति नभएकै कारण यो अर्थतन्त्रप्रति मानिसको आकर्षण र लगाव बढी हुन्छ । 

यू–आकारले अर्थतन्त्रमा आर्थिक मन्दीको प्रभावले एकैपटक अर्थतन्त्रलाई ठूलो प्रभाव पार्छ । अर्थतन्त्रमा एकै पटक ठूलो नोक्सान हुँदा मन्दीपछिको केही समय अर्थतन्त्रमा मनावैज्ञानिक त्रास बाँकी नै रहन्छ । त्यसैले त्यो अर्थतन्त्र तत्कालै माथि जान सक्दैन । तर जब त्यस्तो त्रासको अन्त्य हुन्छ, अर्थतन्त्रले रिकभरीको बाटो समात्छ ।

तर एल–आकारको वक्रले मन्दीको समयमा अर्थतन्त्रले तत्कालै ठूलो क्षति व्यहोर्ने तर मनोवैज्ञानिक र संरचनागत अभावका कारण अनन्तकालसम्म अर्थतन्त्र रिकभरी बाटोमा नफर्कने अवस्थालाई बुझाउँछ । अर्थतन्त्र कोल्याप्समा जाँदा छिट्टै ‘डाउन’ हुने र लामो समयसम्म पनि त्यही अवस्थामै रहिरहन्छ ।  अर्थतन्त्र कोल्याप्स हुनु भनेको अर्थतन्त्रप्रति लगानीकर्ता, उपभोक्ता र समग्र बजारको धारणा नकारात्मक बन्दै उनीहरु आर्थिक गतिविधिबाट विमुख हुँदै जाने अवस्था हो ।

 यो महामारीपछि नेपालको अर्थतन्त्रलाई कस्तो असर गर्छ भन्ने विषयमा फरकफरक धारणा पाइन्छ । कसैले अर्थतन्त्र कोल्याप्सको बाटोमा जान्छ भन्छन् भने कसैले महामारी अन्त्य भएपछि अर्थतन्त्र सामान्य अवस्थामा फर्किने जिकिर समेत गर्दै आएका छन् । तर नेपाली अर्थतन्त्र कोल्याप्स हुने र लगानीकर्ताको मनोवैज्ञानिक अवस्था माथि नउठ्ने अवस्था भने देखिँदैन । त्यसका केही कारणहरु छन् । 

नेपालको लागि अहिलेको यो प्रकोप नयाँ होइन । २०४७ सालको राजनीतिक आन्दोलन, २०५२–६२ को युद्ध, २०६२÷६३ को जनआन्दोलन, विभिन्न जातीय र क्षेत्रीय आन्दोलन, भूकम्प, नाकाबन्दी जस्ता कयौँ विपत्तिहरु यसअघि पनि आइसकेको छ । सबैभन्दा ठूलो अनिश्चितता त युद्धको समयमा थियो । २०६२÷६३ को जनआन्दोलनपछि देशको राजनीतिक स्वरूप कस्तो हुन्छ भन्ने सम्बन्धमा थियो । भूकम्पपछि थिलोथिलो भएको अर्थतन्त्रमा थियो । यी सबै कारणहरुले गर्दा वर्षौंदेखि बनाउँदै आएको नेपाली संरचनाहरु ध्वस्त भएका थिए । यस्तो अवस्थामा पनि नेपालका लगानीकर्ता, नेपाली बजार र नेपाली उपभोक्ताहरु विचलित भएनन् भने अबको अवस्थामा पनि त्यो विचलन आउला भन्ने सम्भावना न्यून हुन्छ । 

अहिलेको हाम्रो अर्थतन्त्रको अवस्था भनेको चलिरहेको भिडियो एकैछिन रोकिएको जस्तै हो । हामीसँग  पहिले जुन अवस्थामा थिए, त्यही अवस्थामा सबै संरचना छन् । प्रविधि पनि यथास्थितिमा छ । केही समयका लागि यो रोकिएको मात्रै हो । तारादेवीले भनेजस्तै ‘मनै फाटे केले सिउने’ भन्ने अवस्थामा हामी छैनौँ, हाम्रो अर्थतन्त्र छैन । त्यसैले हाम्रो अर्थतन्त्र त्यो अवस्थामा जाँदैन ।

हो, हाम्रा केही सीमाहरु छन् । हाम्रो अर्थतन्त्रको उपभोग विप्रेषण (रेमिट्यान्स)मा आधारित छ । विश्व बजारमा रोजगारीको अवसरमा कम आउँदा विश्वभर रहेका नेपालीहरु यसको प्रत्यक्ष प्रभावमा रहन सक्छन् । उनीहरु नेपाल फर्किए भने त्यसले उपभोगको स्तर घटाउने र बेरोजगारीको अवस्था सिर्जना गर्नसक्ने सम्भावना पनि देखिन्छ । तर देशभित्रै उपार्जनका लागि गरिने प्रयासले त्यस्तो अवस्थालाई छिट्टै एउटा समाधानमा पुर्याउनसक्ने सम्भावना पनि देखिन्छ । विलासिताको सामानको उपभोगमा कमी आउँदा यसले वर्षौंदेखिको व्यापार घाटा कम गर्दै रेमिट्यान्समा अडेको हाम्रो बाह्य सन्तुलनलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्ने अवसरसमेत यो प्रकोपले सिर्जना गर्न सक्छ ।

पर्यटन क्षेत्रमा तत्कालका लागि असर पर्नसक्ने सम्भावना छ । विकसित मुलुकलाई आर्थिक रूपले जति नै कम प्रभाव पारे पनि विकसित मुलुकहरु यस्तो प्रकोपको मनोवैज्ञानिक प्रभावबाट लामो समयसम्म विक्षिप्त हुनसक्ने अवस्था देखिन्छ । यसले गर्दा तत्कालै ती देशका पर्यटक भ्रमणमा आउने सम्भावना कम हुन सक्छ । विशेषगरी चिनियाँ, युरोपेली र अमेरिकी अर्थतन्त्र यो प्रकोपको असरबाट मुक्त नभए बाह्य पर्यटकहरु पूर्ववत अवस्थामा नेपाल फर्किने सम्भावना रहँदैन । तर त्यसलाई आन्तरिक पर्यटनले विस्थापन गर्दै आत्मनिर्भरतातर्फ उन्मुख हुने अवसर यहाँनिर पनि सिर्जना हुने देखिन्छ । 

सङ्कटले एउटा संरचनागत छानोलाई भत्काइदिन्छ । तर भत्केको छानोबाट कहिलेकाहीँ उज्यालो प्रकाश पनि भित्र आउँछ । कहिले त्यसैबाट हुरी र वर्षाद पनि भित्र पस्न सक्छ । अर्थात् हामीले सङ्कटलाई पनि आफ्नो अनुकूलमा प्रयोग गर्न सक्छौँ । विगतमा कयौँ पटकसम्म गर्न नसकिएको हाम्रो अर्थतन्त्रको पुनर्संरचना गर्ने यो एउटा अर्को अवसर जुटेको छ । 

शक्तिशाली मुलुकमै सडकमा पैसा फालिएका दृश्य पनि हामीले देख्यौँ । यसले आफ्नै उत्पादन बढाउनु पर्दोरहेछ भन्ने नयाँ चेतनाको सञ्चार भएको छ । हाम्रोजस्तो कृषिप्रधान देशले उपभोग्य वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ भन्ने पाठ पनि सिकाएको छ । जुन सुरक्षा र सुविधाका लागि मान्छे आफ्नो मातृभूमि छाडे, उनीहरुलाई सुरक्षित ठाउँ कहीँ पनि हुँदो रहेनछ भन्ने चेतना आएको छ । यसले भविष्यमा ब्रेनड्रेनको (क्षमता भएका नागरिकहरु बाहिरिने) अवस्थामा पनि सुधार र नयाँ सिर्जना तथा आविष्कार स्वदेशमै हुनेछ सम्भावना बढ्नेछ । 

यो अवसरलाई सदुपयोग गर्दै हामी विप्रेषणमा निर्भर जनसङ्ख्यालाई कृषिमा आत्मनिर्भर बनाउन सक्छौँ । वर्षौंदेखिको बाँझो जमिनमा बाली झुलाउन सक्छौँ । विप्रेषणमुखी व्यापार तथा व्यवसायलाई रूपान्तरण गर्न पनि सक्छौँ । घडेरीका लागि प्लटिङ गर्नुको सट्टा खेतीको लागि प्रयोग गर्न पनि सक्छौँ । प्रशस्त रोजगारी सिर्जना गर्नसक्ने साना तथा मझौला उद्योग, व्यापार व्यवसायमा हात अघि बढाउन सक्छौँ । 

यद्यपि यसले तत्कालीन रूपमा अर्थतन्त्रलाई असर भने गर्नेछ । यो समयमा सरकारी ढुकुटीमा नियमित आउने आम्दानी रकम पनि स्थगित हुन्छ । विभिन्न शीर्षकमा प्राप्त कर, कमिसन, राजस्व, अनुदान जस्ता आम्दानी रकम प्राप्त हुँदैन । तर यो परिस्थितिमा सरकारले जनतालाई राहत स्वरूप वस्तु तथा सेवाको उपलब्धता बढाउनुपर्ने दबाब थेगिनसक्नु हुन्छ । यसले गर्दा सरकारी ढुकुटी पनि बिस्तारै रित्तिँदै जान्छ । 
विपतको यो अवस्थामा सबै जनताको सम्पत्ति घट्दै जान्छ । तर यसले आर्थिक असमानता बढाउँछ । निम्न वर्गका जनतामा भोकमरीको अवस्था आउन सक्छ । मध्य मवर्गको सम्पत्ति सकिन सक्छ । तर उच्च वर्गकाहरुको सम्पत्ति केही घट्ला तर उनीहरु धनी नै रहिरहन्छन् । 

तर नेपाल जस्तो मुलुकको लागि यसको दीर्घकालीन प्रभाव नकारात्मक भन्दा बढी सकारात्मक बन्ने सम्भावना छ । तर त्यो आफैँ भने हुँदैन । यो सम्भावनालाई यथार्थतामा रूपान्तरण गर्न सबै क्षेत्रबाट योजनाबद्ध प्रयासको खाँचो भने जरुरी छ । नयाँ संरचना, नयाँ पद्धति र नयाँ प्रविधिलाई आत्मसात गर्दै हामी अगाडि बढ्नुपर्छ । यसले गर्दा हाम्रो अर्थतन्त्रलाई दिगो विकासको लक्ष्यमा पुर्याउन सकियोस् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.