शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले जुराएको अवसर : पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा निगमको नयाँ ‘नजिर’

स्वचालित मूल्यप्रणाली अब के हुन्छ ?
बिहीबार, २० चैत २०७६, १० : ०१
बिहीबार, २० चैत २०७६

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा नेपाल आयल निगमले नयाँ नजिर स्थापना गरेको छ । 

आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले विशेष निर्णय गर्दै पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा घटाएको हो  ।

निगमको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैंया, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैंया तथा बाह्य हवाई इन्धनमा प्रति किलोलिटर ५० अमेरिकी डलर मूल्य घटेको हो । 

योसँगै काठमाडौंमा पेट्रोल प्रतिलिटर ९६ रुपैंया, डिजेल र मट्टितेल प्रतिलिटर ८५/८५ रुपैंया, आन्तरिक हवाई इन्धन ८५ रुपैंया तथा अन्तर्राष्ट्रिय हवाई इन्धन अमेरिकी डलर ९५० रुपैंया पर्नेछ ।

सुर्खेत र दीपायलमा काठमाडौंकै मूल्यमा यी पदार्थहरु प्राप्त हुनेछ । पोखरा र दाङमा पेट्रोल, डिजेल र मट्टितेलमा ५० पैसा सस्तो पर्नेछ भने तराईका अन्य मूख्य शहरहरुमा १ रुपैंया ५० पैसा सस्तो पर्नेछ ।

निगमले २०७१ असोजमा स्वचालित मूल्य प्रणाली कार्यविधि लागु गरेको थियो । सो कार्यविधि अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ । तर सो कार्यविधिले पेट्रोलियम पदार्थको मूल्य १५ दिनमा बढीमा २ प्रतिशत मात्रै तलमाथि गर्न पाउने व्यवस्था गरेको थियो ।

अहिले स्वचालित मूल्य प्रणालीनुसार मूल्य निर्धारण गरिएको भए अहिले पेट्रोल, डिजेल र मट्टितेलमा २÷२ रुपैंया मात्रै मूल्य घटबढ हुन सक्थ्यो । तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आउँदा पनि नेपालमा अपेक्षित रुपमा मूल्य घट्न नसकेका कारण निगम आलोचनाको पात्र बनिरहेको थियो । यो अवस्थामा निगमले सञ्चालक समितिबाट निर्णय गरेरै मूल्य निर्धारण गरिएको हो ।

स्वचालित मूल्यप्रणाली अब के हुन्छ ?

निगमले विशेष निर्णय गरेर मूल्य घटाए पनि स्वचालित मूल्यप्रणाली के हुने भन्ने बारेमा अहिलेसम्म निगमले केही निर्णय लिएको छैन । आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्छन्, ‘यसअघि व्यवस्थापन तहबाटै स्वचालित मूल्यप्रणाली अनुसार मूल्य निर्धारण हुन्थ्यो । यसपटक सञ्चालक समितिबाटै विशेष निर्णय भएर मूल्य घटेको हो । तर अब के हुन्छ भन्ने निर्णय भएको छैन ।’

यद्यपि स्वचालित मूल्यप्रणालीलाई निरन्तरता दिने पक्षमा निगम छ । ‘स्वचालित मूल्य प्रणाली आफैंमा बाधक होइन । टाट पल्टिने अवस्थामा पुगेको निगमलाई अहिलेको अवस्थामा पुर्याउन सम्भव यही मूल्यप्रणालीको कारणले भएको हो । तर अन्तर्राष्ट्रिय बजारमै असामान्य परिस्थिति सिर्जना भएकोले मात्रै हामीले विशेष निर्णय लिनुपरेको हो’ निगमका एकजना सञ्चालकले भने, ‘स्वचालित मूल्यप्रणाली निरन्तर हुन्छ । तर विशेष अवस्थामा निगमले विशेष निर्णय गर्नसक्छ भन्ने एउटा नजिर भने स्थापित भएको छ ।’

लकडाउनले जुराएको अवसर
सामान्य अवस्था थियो भने निगमले अहिलेको जस्तो निर्णय लिन सम्भव थिएन । अस्वाभाविक रुपमा एकैपटक मूल्य घट्दा यसले पेट्रोलियम व्यवसायीहरुलाई ठूलो असर गथ्र्यो । एकैपटक १० रुपैंया मूल्य घट्दा धेरै स्टक रहेका पेट्रोल पम्पहरु डुब्ने खतरा समत हुन्थ्यो ।

अघिल्लो पटक मूल्य समायोजन गर्ने बेलामा पनि भारी मूल्य समायोजन गर्नेबारेमा चर्चा नचलेको होइन । मूल्यमा भारी गिरावट आउने सम्भावनाकै कारण त्योबेला पम्पहरुले पेट्रोल उठाउन नमान्दा बजारमा अभाव सिर्जना समेत भएको थियो ।

तर निगमले अहिलेको लकडाउनलाई सदुपयोग गरेको छ । लकडाउनमा गाडी नचल्ने भएपछि अहिले देशभरका अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । पम्पहरुसँग अहिले तेलको स्टक समेत कममात्रै छ । यस्तो अवस्थामा निगमलाई भारी मूल्य घटाउन सहज भएको हो । निगमका ती सञ्चालक भन्छन्, ‘नत्र यति सहज हुँदैनथ्यो । व्यवसायीलाई निकै ठूलो घाटा हुन सक्थ्यो । लकडाउनले यो अवसर जुराएकै हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप