केन्द्रीय संस्करण

कोरोना कहर केलाउँदा  : यसकारण उत्कृष्ट छ पूर्वीय दर्शन र जीवन पद्धति

person explore access_timeचैत १९, २०७६ chat_bubble_outline0

भाइरस एक सुषुप्त अवस्थामा रहने विषाणु हो, यसले जीवित कोशिकामा वंशवृद्धि गर्दछ, अति सुक्ष्म अवस्थामा जीवित प्राणीमा प्रवेश गरी कोशिकालाई असर पु-याउँदछ अनि अस्वस्थ बनाउने कार्य गर्दछ भन्ने कुरा अहिलेको विज्ञानले प्रमाणित गरेको छ । भाइरस पनि भिन्न भिन्न प्रकृतिका हुन्छन् त्यसैले भाइरसले जीवित प्राणीमा सकारात्मक या नकारात्मक दुवै असर गर्दछ भन्ने आधुनिक विज्ञानको मत छ ।

यसैबीच अहिले विश्व मानव समुदाय एउटा पदावलीको नामले निकै आक्रान्त भएको छ, कोरोना भाइरस, जसलाई वैज्ञानिकहरुले कोभिड १९ भनी नामांकरण गरेका छन् । यो शताब्दिकै अत्यन्तै भयानक महामारीको रुपमा फैलिएको यसले मानव जाती अत्यन्तै सन्त्रस्त भइरहेको छ । यसै सन्दर्भमा हामीले यसको विभिन्न आयामहरुलाई केलाउन जरुरी छ ।

यसको समाधानका लागि वैज्ञानिक खोजविन त पक्कै भइरहेकै छ, ईश्वर कृपाले यसको समयाबधि निकै छोटो होस् भन्ने कामना एवं विश्वास मात्र हामी गर्न सक्छौं । मानव जीवनका बहुआयामिक पाटाहरुमा यसको अत्यन्तै नकारात्मक असर परिरहेको सन्दर्भमा हामी अत्यन्तै संयमित हुन जरुरी छ । चरम भौतिक विलासमा रमेको मानव समुदाय अहिले अत्यन्तै भयभित र आक्रान्त अवस्थामा जीवन गुजारिरहेको छ । मानव स्वास्थ्यका लागि यो भाइरसको अत्यन्तै नकारात्मक पाटो देखिएको परिवेशमा यसमा गम्भीर मानवीय त्रुटी, मानव जातीको अप्राकृतिक क्रियाकलाप र मानवीय अकर्मण्यताले हामीलाई एक आपसमा सामिप्य रहन पनि दिएको छैन ।

परप्राणीलाई अमानवीय तबरले बध गरी त्यसको भोजनमा रमाउनुको परिणति आज मानवले भोग्दैछ, स्वभावैले या प्रकृतिजन्य हिसाबले भन्नु पर्दा मानिस मांशहारी प्राणी होइन । किनभने:

क) पसिना नआउने त्यसको सट्टा जिब्रोले –यालद्वारा पसिना फ्याँक्ने

ख) छोटो आन्द्रा हुने

ग) मांश या हाड चबाउनका लागि चार वटा उछिट्टिएका दाँत हुने

घ) पानी या तरल पद्धार्थ पिउँदा चाट्ने या असहज हुने

ङ) नङ्ग्रा हुने (शिकार गर्न तथा मासु च्यात्नका लागि) 

च) बढी रिसाहा तथा आक्रामक हुने (जसले गर्दा तुलनात्मक रुपमा शाकाहारीभन्दा आयु छोटो हुने)

यी आदि प्राकृतिक विशेषता मांशाहारी प्राणीमा देखिन्छ, तर यी सबै विशेषता मानव जातीसँग मिल्दैन, पछि आएर केही समूहले मानिस सर्वभक्षी भने पनि मानिस प्राकृतिक हिसाबले शाकाहारी नै हो । तसर्थ मानिसले अहिले दैवी प्रदत्त अप्राकृतिक कार्य गरिरहेको छ, जसको परिणति कोरोना भाइरस जस्तो अत्यन्तै भयावह रोगको शिकार बन्न पुगेको छ । 
हाम्रो शास्त्रीय मत छ:

आहारः शुद्धौ सत्वः शुद्धि, सत्व शुद्धौ धुर्वास्मृति
अर्थात् आहार शुद्धिकरण भएन भने मन अन्तःकरण, विचार र भावना शुद्धि हुँदैन ।
यस सम्बन्धमा गीताले स्पष्ट भनेको छ:
आयुःसत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः । 
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्विकप्रियाः ।।

यहाँ अझै प्रत्यक्ष रुपमा भोजन शुद्धिकरणको व्याख्या गरिएको छ, भोजनको लापरबाहीले जीवनमा कस्तो भयावह अवस्था सिर्जना गर्दछ भन्ने कुरा यसले प्रष्ट्याएको छ ।

सन्तोष भएन
सन्तोषको वास्तविक अर्थ मानसिक सन्तुष्टि हो, मानसिक सन्तुष्टि केका लागि भन्ने यहाँ महत्वपूर्ण विषय हो । अन्वेषणका लागि, सकारात्मक खोजका लागि, प्रगतिका लागि या प्राणीमात्रको कल्याणका लागि केही प्राप्तिका लागि सन्तोष गरेर बसेको भए यो सांसारिक एवं भौतिक उपलब्धि हुने पक्कै थिएन ।

तर मानिस यो वैभव र उपलब्धि पछाडि पनि बारबार रोइरहेको छ । अक्कड र प्रतिस्पर्धाका लागि, नकारात्मक विषयको अनुसन्धान एवं अन्वेषणका लागि अनि विभिन्न विषयको होडबाजीमा मानिस असन्तोषी भइरहेको छ, जसले गर्दा मानिस आफै अहिले आफ्ना क्रियाकलापले सन्त्रस्त मात्र होइन, मृत्युको मुखमा अत्यन्तै छटपटाइरहेको छ ।

प्रेम भएन
धर्म सिद्धान्तले प्राणीमाथि दया गर भन्दछ, भौतिक विज्ञानले त्यसलाई इकोसिस्टम भन्दछ, यी दुवैको तादाम्यता कहीँ न कहीँ रहेको छ, जसको मान्यता भूमण्डलमा रहेका समस्त प्राणीबीच एक आपसमा सहसम्बन्धको भाव विद्यमान रहन्छ भन्ने नै हो । हाम्रो पूर्वीय दर्शनको मान्यता छ:

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया...
यसले के सुस्पष्ट गरेको छ भने सबै प्राणी सुखी हुन खुशी हुन संसारमा कसैलाई पनि दुःख नहोस् । प्राणीमाथि दया र प्रेमको ज्यादै कमी भयो । हामीले यो विषयलाई भौतिक विज्ञान अनि शास्त्रीय दुवै हिसाबले भुल्यौं, जसले गर्दा कहिँकतै यसको प्रभाव मानव समुदाय विस्तारै पर्दैछ ।

अनावश्यक प्रतिस्पर्धा
विश्व समुदायमा अहिले अत्यन्तै अस्वस्थ स्पर्धा चलेको छ, चाहे त्यो शस्त्रअस्त्र होस् या भौतिक उन्नयनको । यसले मानवीय मूल्य र मान्यतालाई विस्तारै बिर्सँदै गएको छ । यसैको विकसित रुपमा अहिले विश्वमा प्रचलनमा आएको अर्को एक पदावली हो, जैविक हतियार । कतै यो पदावलीको सिद्धता हुँदै गएको त होइन अनि यसले समग्र मानवलाई मानसिक विक्षिप्तताको मार्गमा परिलक्षित गरिरहेको त छैन ? प्रश्न अहम् रुपमा उब्जिएको छ ।

कोरोना संक्रमण महामारीले गर्दा अहिलेको अवस्था ज्यादै दयनीय एवं कारुणिक छ । र, कुनै विश्लेषण नगरी बुँदागत रुपमा भन्नुपर्दा अहिले मानिस-

१) एकान्त प्रिय छ 

२) एक आपसमा भयभित छ 

३) मानसिक रुपमा विक्षिप्त छ 

४) आफूलाई बाहेक अरुलाई विश्वास नगर्ने अवस्थामा छ 

५) भित्रभित्रै आक्रान्त एवं छटपटाइरहेको छ र 

६) आगामी परिवेश र भविष्यको विषयमा सबै तबरले चिन्तित छ ।

यसको मूलभूत मनोवैज्ञानिक असर
सांसारिक महामारीले सचेत जनमानसमा मनोवैज्ञानिक असर पर्नुलाई स्वाभाविक रुपमै लिनु पर्छ, अबको जीवनचर्या के ?  आफ्नो पेशा, व्यवसाय जीवनयापनका विभिन्न पक्षहरु कस्तो हुने ? कोरोनाको असर म, मेरो परिवार, समाज र देशलाई कस्तो पर्ला ? यो महामारी कहिलेसम्म लम्बिएला ? समस्याहरु कस्तो कस्तो आइलाग्लान ? यी यावत विषयले विश्व समुदाय नै आक्रान्त भएको छ । 

मनोवैज्ञानिक पक्षका विभिन्न आयाममा पनि सबैभन्दा गहन विषय जिजीविषा बन्न गएको छ । जिजीविषा भनेको बाँच्ने इच्छा हो । जीवनमा सबै भुलेर व्यक्ति संसार जित्दछु जस्तो गर्दथ्यो तर त्यो जिजीविषाको कारणले ऊ कैद भएर बसेको छ अहिले । मानिसलाई जे जे भने पनि सबैभन्दा प्यारो आफ्नो जीवन लाग्दोरहेछ भन्ने कुरा पुष्टि भएको छ ।

एकपटक मनोचिकित्सकहरुले ग्रीसमा जीवन कत्तिको प्यारो लाग्दो रहेछ भन्ने विषयमा एक बाँदरलाई परीक्षण गरे । बाँदर आफ्नो बच्चालाई प्यार गरी काखमा च्यापेर हिँडीरहेको बेलामा त्यसलाई समाइ छानाभन्दा केही तल (तर बाँदर उक्लन अनि उफ्रन केही असहज हुने गरी) जस्ता पाता भएको ठाउँमा लगेर राखी तलबाट आगो लगाइदिए ।

केही समय बाँदरले बच्चा च्यापेर उक्लने निकै कोशिश ग-यो । जस्ता तातेर ज्यादै पोल्न लागेपछि बाँदर बच्चा छोडेर बच्चामाथि टेकी उफ्रेर छानामाथि चढी आफ्नो जीवन जोगायो । यसबाट के पुष्टि भयो भने जुनसुकै प्राणी अन्तिम परेपछि आफ्नै जीवन जोगाउन तल्लीन हुँदोरहेछ । त्यसैले अहिले जनमानस अन्ततोगत्वा आफूलाई यो महामारीबाट कसरी सुरक्षित राख्ने ध्याउन्नमा नै लागि रहेको छ ।

अबको पाटो 
मुख्यतः शारीरिक एवं मानसिक तबरले आफूलाई परिवर्तन गर्नु नै आजको आवश्यकता हो । यसका लागि विभिन्न पक्षलाई समेटी अबको मार्ग तय गर्नु पर्छ, जसमा-

क) आत्मविश्वास
आत्मविश्वास भनेको मानसिक अवस्था हो । विज्ञानको भाषामा आत्मविश्वासको कमीले इन्जायमको कार्यमा ६० प्रतिशतसम्म रुकावट आउँछ, जसले शारीरिक कष्ट पैदा गर्दछ । यस सँगसँगै रोगसँग लड्ने क्षमता (Immuneity power)को कमी गरिदिन्छ । त्यसैले ऊर्जाशील भएर जीउनका लागि आत्मविश्वास चाहिएको छ । आत्मविश्वासले हामीलाई आन्तरिक एवं वाह्य रुपमा सुरक्षित गर्दछ । 

आत्मविश्वास भनेको जागृति हो, जसले जस्तोसुकै अप्ठ्यारा अवस्थामा पनि जीवन जीउने ताकत प्रदान गर्दछ । समस्यालाई महान र आफूलाई कमजोर ठान्नु कहिले पनि हुँदैन । समस्याको समाधानका केही पनि उपाय छैनन् भन्ने ठान्नु नै आत्मविश्वासको कमी हो । हाम्रो पूर्वीय दर्शनले भने झैं सबै विषयमा समस्या छ, समस्याको कारण छ र समस्या समाधानका मार्गहरु पनि छन् । 

ख) जीवनशैलीमा परिवर्तन
पश्चिमा मनोविश्लेषक सिग्मण्ड फ्रेडले भने झैं एउटै कार्यलाई ३३ पटक दोहो-याएपछि त्यो बानी बन्दछ । हामीले हाम्रो जीवनचर्यामा केही परिवर्तन गरी त्यसलाई जीवनशैलीमा परिणत गर्न जरुरी छ ।
त्यसका लागि:

१ योग
‘चित्तवृत्तिनिरोधः योगः’ भनी पूर्वीय दर्शनले प्रमाणित गरेको छ । सामान्य अर्थमा भन्दा चित्तको विकारलाई रोक्ने क्रिया योग हो । 

योगले एउटा विषयको केन्द्रियतालाई जोड दिन्छ, जसले एकाग्रता हुनेछ, एकाग्रताले मष्तिष्कलाई विश्राम दिनेछ, जसले मानसिक परिश्रमको प्रभावले इन्जाइम, तन्तु र अंगहरुलाई नकारात्मक असर पर्दैन । 

योगले तनाब र चिन्ताबाट मुक्त  गर्दछ, तनाब कहिलै पनि शारीरिक हुँदैन, सदैव मानसिक हुन्छ । योगको काम मस्तिस्कलाई निर्विचार बनाउने हो । यसको अर्थ विचारविहीनता होइन कि विचार शून्य भएको अवस्था, जसको पराकाष्ठालाई बुद्धले निर्वाण भनेका छन् । खप्तड बाबाले भने जस्तै विचार कति गतिशिल छ, जसले आध्यात्मिक भाषामा भन्नुपर्दा सुक्ष्म शरीरको प्रतिनिधित्व गर्दछ । सुक्ष्म शरीरको गडबडीले स्थूल याने कि भौतिक शरीरमा बाधा पर्दछ । त्यसैले योगले विचार विहिनता होइन कि वैचारिक अवस्थाको शुन्यता तर्फ लैजान्छ, जसले गर्दा व्यक्तिलाई सोच एवं वैचारिरक कार्यले कुनै बाधा पु-याउँदैन । त्यसैले योगलाई जोड दिऊँ ।

२ ध्यान
ध्यान पनि एउटा अभ्यासको प्रक्रिया हो, यसले आफ्नो वास्तविक स्वरुपको पहिचान दिलाउँछ । यसले हामीलाई पारमार्थिक मार्गमा आगाडि बढाउँदछ, जसले गर्दा यस संसारका भौतिक पक्षबाट दूर गरिदिन्छ, मष्तिस्क शून्य र स्थिर गरिदिन्छ, आफैभित्रको सौहार्दता तथा सामञ्जस्यता प्रदान गर्दछ । यसको परिणति भनेको नकारात्मक ऊर्जाको अन्त्य हो, यो नै पूर्ण आत्मविश्वास पैदा गरिदिने बाटो हो । ध्यानले अहम् शून्य भाव पैदा गर्दछ । ध्यान भनेको मानस दर्शन पनि हो, यसको अर्थ आफै भित्रको पहिचान हो, जसले आन्तरिक परिचय दिलाउँछ ।

ध्यानका अनेक फाइदा छन् । जस्तैः जागरण बृद्धि, चिन्ता नियन्त्रण, बिर्सने बानीको अन्त्य र कोर्टिसोल (Stress Hormone) व्यवस्थापनमा सहयोग गर्छ । जीवन बुझाईको स्तर बढाउँदछ, रिस कम गर्दछ, रस पैदा गर्दछ, रक्त सञ्चारमा ठूलो टेवा दिन्छ । तसर्थ ध्यानलाई जीवनशैलीको रुपमा ग्रहण गरौं ।

ग) नकारात्मक सोचको कमी
शास्त्रीय मान्यता अनुसार ३० प्रतिशत मात्र कुनै पनि व्यक्तिले जन्मसिद्ध स्वभाव लिएर आउँछ, बाँकी ७० प्रतिशत आफ्नो सकारात्मक वा नकारात्मक सोचाइमा भर पर्छ । भित्रैबाट जीवन बदल्नका लागि सकारात्मक चिन्तन अत्यावश्यक हुन्छ ।

वैज्ञानिक सुसन विसले भने जस्तो नकारात्मक भावले कार्य गर्दा खाने बेलामा निस्कने इन्जाइमलाई पनि घटाउने कार्य गर्दछ, जसले शरीर अस्वस्थ हुन्छ । प्रामाणिक विषयबाट हेर्ने हो भने सकारात्मक चिन्तनले एउटा नयाँ आयामको सुरुवात गर्दछ- विचारमा मात्र होइन, स्वास्थ्य, क्षमता र कार्य दक्षतामा पनि । जसले जीवनको वास्तविक मूल्य के हो भन्ने मार्ग प्रशस्त गराइदिन्छ । जसको प्रभावबाट आदर्श जीवन यापन गर्नका निमित्त अत्यन्तै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले नकारात्मक सोचको कमी गरी आजैबाट सकारात्मक बनौं ।

घ) मष्तिस्क होइन हृदय परक
मानिस पहिले पहिले हृदयबाट चल्ने गर्दथे । कसैले हृदयस्पर्शी कुरा गर्यो भने विश्वास गर्दथे तर अहिलेको मान्छे तर्क र तर्कसंगत कुराको विश्वास गर्दछन् । त्यसैले त अहिले मस्तिष्क प्रधान समाज बन्दै गएको छ । मष्तिस्कको प्राधान्यतामा विश्लेषण सुरु हुन्छ, विश्लेषणले वितर्क तथा कुतर्क पनि जन्मन्छ । त्यसैले मष्तिस्क प्रधानतामा धेरै नघोत्लिउँ, हृदयपरक बन्ने कार्य गरौं, जसले आन्तरकि शुद्धिकरण पनि गर्दछ भने सँगसँगै सन्तुष्टि पनि प्रदान गर्दछ । हृदय प्रधानताले जीवन जिउने कला विकास गर्दछ, विश्लेषण होइन ।

ङ) यो महासंकटलाई अवसर मानौं 
भौतिक विचारधारा भएका जनले वर्तमान संकटलाई सिर्जनाको एक नयाँ अवसरको रुपमा लिएर कार्य गर्न सक्छन् भने आध्यात्मिक जनले दिन दिनको दुःख परीक्षा नै परमात्मा प्राप्तिको अत्यन्तै उत्तम माध्यम भनी मान्न सक्दछन् । अध्ययन, खोज, चिन्तन, अन्वेषणका रुपमा प्रयोग गरी यो संकटलाई हामीले सही व्यवस्थापन पनि गर्न सक्दछौं ।

च) अल्पाहार
विश्वमा यो महामारीले खाद्यान्न संकट हुन लागिरहेको सन्दर्भमा अल्पाहारी बनेर जीवनलाई सहज बनाउने कोशिश गरौं ।
एउटा सानो प्रसंग, भारतको झारखण्डमा बच्चाहरुलाई खाना व्यवस्था गर्दा जति दिए पनि नखाइकन मागेको मागै गर्न लागे, जिज्ञासा लागेर बुझ्दा त्यहाँ बाल आश्रममा राख्ने समूहले ३ दिनमा एक पटक खान दिने रहेछन् । त्यही भएर उनीहरु जति थपिदिए पनि असन्तुष्ट बन्दा रहेछन् । भनाइको मतलब ठीक्क खाउँ, सबैले खाउँ, विश्वव्यापी रुपमा खाद्यान्न संकट नगरौं भन्ने भावनाको विकास गर्न जरुरी छ । 
यी मान्यतालाई अबलम्बन गरी अगाडि बढौं, हाम्रो संकटको समाधान हामीले नै गर्ने हो । त्यसैले यस्तो अवस्थामा बढी तार्किक बन्ने, बढी सोच गर्ने पनि गर्नु हुन्न । सरल भएर वास्तविक धरातलमा जीवन जीउने कोशिश गर्नुपर्दछ । 

पूर्वीय दर्शन र जीवन पद्धतिको महत्ता 
यो महासंकटले पूर्वीय दर्शन र जीवन पद्धतिको उपादेयता अझै सघन रुपमा प्रष्टएको छ । एक अर्थमा भन्ने हो भने हामी पूर्वीयहरुले गर्व गर्ने अवस्था विस्तारै सिर्जना हुन थालेको छ । पूर्वीय जीवनपद्धतिको सार्थकता विहंगम रुपमा उजागर हुँदै गएको छ । 

प्राणी हिंसाबाटै कोरोना भाइरसको महामारी प्रारम्भ भएको सन्दर्भमा  ‘अहिंसा परमो धर्मः’ भन्ने मान्यता विश्वव्यापी रुपमा विचारणीय बन्दै गएको छ ।

मानवीय व्यवहार र सोच चरम भौतिकवादी धारबाट अघि बढिरहेको प्रष्ट छ । मानवीय मूल्य मान्यता र न्यूनतम मानवीय प्राकृतिक व्यवहार भन्दा मानिस भिन्न रुपबाट आफूलाई प्रस्तुत गरी कार्य गरिरहेको छ, जसले गर्दा मानवीय सम्बन्धका आयामहरु साँघुरिँदै चरम भौतिकताको लिप्साले पारमार्थिक मार्गबाट पूर्ण विचलित भई सांसारिक श्रोत साधनको प्राप्ति र यसको पिछलग्गु भइरहेको सन्दर्भमा यो महामारीले कमसेकम जीवन के रहेछ भनेर जीवनप्रतिको गम्भीर आत्मसमीक्षा गर्ने दह्रिलो मौका समेत प्रदान गरेको छ । पूर्वीयदर्शनले आफैभित्र परिचय खोज भन्ने विषयलाई सार्थकता प्रदान गरेको छ । 

योग र ध्यानलाई विश्वव्यापी रुपमा जीवनशैली बनाउने होडबाजी चलिरहेको अवस्थामा पूर्वीय शास्त्रीय मान्यता र जीवन पद्धति विस्तारै विस्तारै विश्वसमुदायले अंगीकार गरिरहेको छ । यसै क्रममा मुख्य मुख्य रुपमा अत्यन्तै सारसंक्षेपमा यसको विषय उजागर गर्ने कोशिश गरिएको छ ।

पूर्वीय जीवन संस्कार जस्तैः नमस्कार, स्वस्तिवाचन,  (जसले ब्रम्हाण्डमा शक्ति ऊर्जित गर्दछ), शंख (वैज्ञानिक प्रमाणले पुष्टि गरेको छ, जसले २७ घनमीटरसम्म किटाणु निस्तेज पार्दछ), तुलसी, पिपल, स्वामी (जसले अक्सिजन उत्सर्जन गर्दछ)को वृक्षको महत्व प्रष्ट्याएको छ भने ‘हस्त पादे मुखे चैव पञ्चाद्रो भोजनं चरेत् न अन्यधृतं (वस्त्रं) धार्यम्’ अर्थात् भोजनअघि हात-पाउ धुनु र भोजन गर्दा दोश्रो व्यक्तिले छोएको, लगाएको कपडा नपहिरिनु भन्ने उक्तिको महत्ता स्थापित भएको छ ।

परमाणु विज्ञानले इलेक्टोन, प्राटोन र न्युटोन सम्मिलित विन्दुलाई न्युक्लियसको रुपमा मानेको छ । परमाणु नै पदार्थको आधार हो, जसलाई वैदिक विज्ञानले ओमको रुपमा व्याख्या गरेको छ । चक्र साधनामा पनि यसले चक्र जागृत गर्न अत्यन्तै भूमिका निर्वाह गर्दछ ।

हामी विहानमा सूर्य साधना, सूर्य नमस्कार गर्छौँ । शारीरिक स्वस्थताका लागि सूर्यका किरणबाट शरीरलाई अत्यावश्यक भिटामिन डी पाइन्छ  र तेज पनि पैदा हुने गर्दछ । 

पूर्व या दक्षिण फर्केर सुत्दा पृथ्वीको चुम्बकीय शक्ति अनुकूल हुने हाम्रो मान्यता पनि विज्ञान सम्पुष्ट छ । पृथ्वीको चुम्बकीय शक्ति दुई ध्रुवमा विद्यमान रहेको छ र पृथ्वी जहिले पनि बायाँबाट दायाँ घुम्ने हुनाले सोही अनुसार सुत्दा ऊर्जा क्षय हुँदैन, जसले गर्दा हृदयाघात जस्तो भयानक अवस्थाको सम्भावना रहन्न भन्ने भौतिक विज्ञानले मानेको छ । उत्तरमा धनात्मक ऊर्जा र शीरमा पनि धनात्मक तरंग हुन्छ जसले शरीर उत्तर दिशाको समन्वयमा विपरित भाव पैदा हुन्छ । पूर्व दिशामा सौर्य ऊर्जाको प्रभावले गर्दा पाउ राख्न हुँदैन भन्ने विषय पनि प्रमाणित भएको छ ।

घिउजन्य चिल्लो पद्धार्थले हवन गर्दा सल्फर डाइअक्साइड, नाइटस अक्साइड जस्ता हानिकारक वायु घट्नु जसले गर्दा वायुमण्डलको दुर्गन्ध हटाउन मद्दत पुर्याउनुका साथै यी ग्यासले गर्दा ओजन तह पातलो हुने तर हवन शक्तिले यी ग्यासको वायु मण्डलमा प्रभाव घट्न गई ओजन तह बाक्लो भइ बैजनी रंगको किरण (Ultraviolet Ray) को आगमनमा न्यूनिकरण गर्दछ भन्ने वैज्ञानिक तथ्य रहेको छ ।
हजारौं वर्षअघि हाम्रो शास्त्रले ‘ब्राम्ह मुहुर्त उत्थाय’ अर्थात ब्रम्ह मुहुर्तमा उठ्नु भनेको छ । अहिले पश्चिमाहरु पनि त्यही अर्थात् Early to bed early to rise, makes a man healthy wealthy and wise भन्न थालेका छन् । अक्सिजनको मात्रा बढी पाइने ब्रम्हमुहुर्तमा (तारा छँदैमा) पूर्व या उत्तरतर्फ फर्केर योगाभ्यास गर्दा सौर्य ऊर्जाले फोक्सोमा अत्यन्तै सकारात्मक प्रभाव पर्दछ ।

२४ घण्टामा सबैभन्दा बढी अक्सिजनको मात्रा सूर्योदयभन्दाअघि विहानको समयमा पाइन्छ, विरुवाले विहानको समय (सूर्योदयभन्दा अघि तारा छँदैमा) बढी अक्सिजना प्रवाह गर्दछ, किनकी घामको राप बढी हुँदा अक्सिजनको घनत्व घट्छ भन्ने कुरा विज्ञानले नै प्रमाणित गरेको छ । त्यही भएर हाम्रा पूर्वजले ब्रम्हमुर्हुतमा उठ्ने संस्कारको विकास गरे । 

उल्लिखित प्रसंग त केबल केही विषयको मात्र सामान्य जानकारी हो, यस्ता अन्य व्यावहारिक र वैज्ञानिक विषय हाम्रो जीवन पद्धतिमा धेरै छन्, तिनको व्याख्या यो आलेखमा सम्भव पनि छैन । यी यावत विषयको सान्दर्भिकता, कालजयी विचार र प्रामाणिक मान्यताले गर्दा अहिले विश्व पूर्वीय दर्शनको प्रभावमा विस्तारै परिलक्षित भइरहेको छ । यसको आवश्यकता र महत्व ज्यादै बढ्दै गएको आभाष हुन थालेको छ । यस सन्दर्भमा यसको उपदेयतालाई उजागर गरी विश्वव्यापी रुपमा प्रवाह गर्नु अत्यन्तै गौरवयोग्य हुन जान्छ । भौतिकवाद अहिलेको जीवन जिउने आधार हो, यसलाई चटक्कै भुल्ने अवस्था विल्कुलै छैन तर यसको सन्तुलन चाहिएको छ । त्यसको लागि पूर्वीय आध्यात्मिक चिन्तनको अबलम्बन अबको विश्वले गर्नेछ र विश्व आध्यात्मिकता र भौतिकताको मध्यमार्गी धारबाट चल्नेछ ।

र, अन्तमा
कोरोना भाइरस, इबोला भाइरस, बर्ड फ्लु, स्वाइन फ्लु, सार्स, प्लेग आदि जे जे रोग महामारीको रुपमा फैलिए यी सबैका पछाडि मानिसले गरेको अप्राकृतिक कार्य नै हो । त्यसैले प्राकृतिक कार्य गरौं । अप्राकृतिक कार्य नगरौं ।
जुन वचन धेरैभन्दा धेरै जनमानसलाई हितकर हुन्छ भने त्यो बारम्बार दोहो-याउनु राम्रो हुन्छ किनकी त्यो पछि मन्त्र हुन जान्छ । त्यो मन्त्र आफ्नो शक्ति बन्न सक्छ । अहिले त्यही सकारात्मक सन्देश प्रवाहको जरुरी छ । त्यही वास्तविक जीवन चाहिएको छ । त्यसका लागि एउटा सानो दृष्टान्त:

कुनै ठाउँमा बाघ र बघिनी बस्दथे, एक दिन बघिनीले बाघलाई तपाईको मुख अत्यन्तै गन्हायो भनिछ । बाघलाई साह्रै रिस उठेछ ।  त्यसको परीक्षा गर्नका लागि बाघले भेडा, फ्याउरो र स्याललाई बोलाएछ ।
बाघले सबैभन्दा पहिले भेडालाई के मेरो मुख गन्हाएको छ भनी सोधेछ । सोझो भेडाले बाघको नजिक गएर सिधा उत्तर दिएछ, ‘हो महाराज अत्यन्तै गन्हाएको छ ।’ भेडासँग रिसाएर बाघले पञ्जाले दुई झापड हानेकाले भेडो मरेछ । त्यसपछि बाघले फ्याउरोलाई बोलाएछ ।

भेडालाई जस्तै फ्याउरोलाई पनि बाघले सोधेछ, के मेरो मुख गन्हाएको छ ?’ भेडो मरेको देखेको फ्याउरोले चलाख्याई गरेर उत्तर दिएछ, ‘महाराज हजुरको मुखमा त अत्यन्तै अत्तर बास्ना आएको छ ।’ फ्याउरोले बढी बोलेको सम्झी बाघ रिसाएर उसलाई पनि दुई झापड हानेछ र फ्याउरो मरेछ । यी दुवै घटनाको साक्षीभावले हेरेको स्यालको पालो आयो अनि स्याललाई बाघले बोलाएर सोध्यो, ‘के मेरो मुख गन्हाएको छ ?’ स्यालले तटस्थ उत्तर दिएछ, ‘महाराज म तीन दिनदेखि बिरामी छु, रुघाखोकी, ज्वरोले ग्रस्त छु, मेरो नाकले सुँघ्नै सक्दैन ।’ सही उत्तर पाएको आभाष गरी बाघ खुशी भएर स्याललाई छोडिदिएछ । यसको मतलब संकटको घडीमा क्रिया, प्रतिक्रिया, विचार विश्लेषणभन्दा तटस्थ बसी आफ्नो र अरुको कल्याण गर्नु नै सबैभन्दा बुद्धिमानी हुन जान्छ । 

जीउ रहे त घिऊ पिइन्छ भन्ने विषय स्मरण गर्दै सरकारको नियमलाई पालना गर्नका लागि अनुरोध छ । चिकित्सकहरुको परामर्श तथा सन्देशलाई अबलम्बन गरी कसरी स्वस्थ रहन सकिन्छ त्यस्ता कार्य गरी बसौं । चुप लागेर बस्नु नै उत्तम हुनेछ, अनावश्यक क्रिया प्रतिक्रिया या राम्रो नराम्रो भन्दा पनि परिस्थितिलाई आंकलन गरी अघि बढ्नु बुध्दिमानी हुनेछ ।

गीताले भने जस्तो भूतमा पश्चाताप नगर्ने, वर्तमानमा रमाउने र भविष्य चिन्ता नगर्ने अनि जिउने, बस जिउने । कृष्णजस्तो जुनसुकै परिस्थितिमा पनि हाँस्ने, वस्तुपरक भन्दा आत्मपरक बन्ने, कठिन परिस्थितिमा पनि हाँस्ने, नाच्ने अनि बाँच्ने । अस्तु ! 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.