शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निगमको चार्टर्ड फ्लाइटमा पनि कमिसनको खेल, सोझै आएको व्यापारमा ट्राभल एजेन्सी घुसाएर २७ लाख झ्वाम

प्रवक्ता भन्छिन्, ‘कमिसन दिनुपर्दैन, ट्राभल एजेन्सी भन्छ, ‘सित्तैमा कसले काम गर्छ ?’
बुधबार, १९ चैत २०७६, १५ : ३३
बुधबार, १९ चैत २०७६

नेपालमा फसेका अष्ट्रेलियन नागरिकहरुलाई स्वदेश फर्काउनका लागि अष्ट्रेलियन दूतावासले बुधबार साँझ नेपालबाट उडान भर्दैछ । काठमाडौँबाट २ सय ५२ यात्रु तथा २५ जना ‘क्रु–मेम्बर’ बोकेर अष्ट्रेलियाको ब्रिसबेन उड्न लागेको उडानमा लाखौँको घोटाला भएको तथ्य रातोपाटीले फेला पारेको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमलाई पत्र लेखेर चार्टर्ड फ्लाइटका लागि आग्रह गर्यो र चार्टर्ड फ्लाइटको शुल्क माग गर्यो ।

त्यसपछि नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले शुल्क लाग्ने भन्दै कोटेशन पठायो । त्यतिबेलासम्म यहाँ कुनै ट्राभल एजेन्सीको प्रवेश भएको थिएन । तर जब पछि एग्रिमेण्ट गर्ने बेला भयो, त्यसपछि भने बीचमा ट्राभल एजेन्सी घुसाएर नेपाल वायुसेवा निगमका कर्मचारी तथा ट्राभल एजेन्सीले कमिसन खाने बाटो निकाले ।

नेपाल एअरलाइन्सको नीति अनुसार यदि कुनै ट्राभल एजेन्सीले विमान चार्टर गरेको अवस्थामा उक्त एजेण्टले ५ प्रतिशत कमिसन लिन पाउँछ । त्यही ५ प्रतिशत कमिसनका लागि नेपाल वायुसेवा निगमका कर्मचारीको मिलेमतोमा बोन ट्राभल्सलाई उक्त विमान चार्टर्डको एजेण्ट बनाइएको छ ।

२७ लाख ४५ हजार कमिसनको खेल

बुधबार साँझ ५ः३० बजे काठमाडौंबाट उडान भर्ने नेपाल वायुसेवा निगमको एअरबस ३३० विमान मलेसियाको क्वालालुम्पुर पुगेर इन्धन भर्नेछ । त्यसपछि क्वालालुम्पुरबाट अष्ट्रेलियाको ब्रिसबेन विमानस्थलमा पुगेर यात्रुलाई ओराल्नेछ र त्यहाँबाट पुनः नेपाल फर्कने छ ।

अहिले काठमाडौंबाट मलेसियासम्मको यात्राको समय ४ घण्टा ३० मिनेट रहेको छ भने क्वालालुम्पुरबाट अष्ट्रेलियाको ब्रिसबेनसम्मको यात्राको समय ८ घण्टा रहेको छ । यसरी हेर्दा काठमाडौंबाट अष्ट्रेलियाको ब्रिसबेन पुग्न १२ घण्टा ३० मिनेटको समय लाग्नेछ ।

त्यसैगरी त्यहाँबाट फर्कँदा पनि सोही समय नै लाग्नेछ । यसरी हेर्दा सोझो हिसाबले पनि काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडानको समय करिब २५ घण्टाको हुनेछ ।

नेपाल वायुसेवा निगमले २५ घण्टाको १८ हजार १ सयको दरले भाडा लिँदा ४ लाख ५२ हजार ५ सय डलर भाडावापत पाउनुपर्ने हुन्छ ।

चैत १९ गते बुधबारको अमेरिकी डलरको खरिद मूल्य १ सय २१ रुपैयाँ ३६ पैसा रहेको छ । यही मूल्यलाई आधार मान्ने हो भने निगमले २५ घण्टा उडानको चार्टर वापतको रकम ५ करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ पाउनुपर्ने हुन्छ ।

तर नेपाल वायुसेवा निगमले भने त्यो रकममा ५ प्रतिशत कमिसन काटेर मात्रै पाउनेछ । किनभने एम्बेसी र नेपाल वायुसेवा निगमको बीचमा ट्राभल एजेन्सी घुसाएर निगमकै वाणिज्य विभागका कर्मचारीले कमिसन खान यो खेल खेलेका छन् । निगमले कमिसनवापत २७ लाख ४५ हजार ७ सय ७० रुपैयाँ ट्राभल एजेन्सीलाई बुझाउँदैछ । यसको अर्थ निगमलाई सोझै काम आउँदा पनि २७ लाख ४५ हजार घाटा भएको छ ।

अष्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दा र अष्ट्रेलियन सरकारलाई पत्र लेख्दा पनि विमान चार्टर गर्ने पार्टीमा अष्ट्रेलियन एम्बेसी नै रहेको उल्लेख गरेको छ ।

स्रोतबाट रातोपाटीलाई प्राप्त ३० मार्चको मितिमा दूतावासले जारी गरेको पत्रमा चार्टर गर्ने पार्टी अष्ट्रेलियन दूतावास रहेको उल्लेख गरेको छ ।

तर नेपाल वायुसेवा निगमले भने सम्झौता गर्दा अष्ट्रेलियन दूतावाससँग नभइ हात्तीसारमा रहेको बोन ट्राभलसँग सम्झौता गरेको छ । सम्झौतामा चार्टरवापत लाग्ने शुल्कको ५ प्रतिशत रकम कमिसनवापत् ट्राभल एजेन्सीले पाउने उल्लेख गरेको स्रोतले रातोपाटीलाई बताएको छ ।

निगमकै वाणिज्य विभागबाट कमिसनको खेल

नेपालस्थित अष्ट्रेलियन दूतावासले नेपाल वायुसेवा निगमसँग सोझै सम्झौता गर्न लागेको भएपनि नेपाल वायुसेवा निगम, वाणिज्य विभागका प्रमुख टंकनिधि दाहालको योजनामा हात्तीसारको बोन ट्राभलसँग सम्झौता गरिएको पाइएको छ । ट्राभल एजेन्सीसँग सम्झौता गर्दा ५ प्रतिशत कमिसन दिनुपर्ने र उक्त कमिसन बाँड्न पाइने भएपछि वाणिज्य विभागले नियतवश नै बोन ट्राभललाई एजेण्ट बनाएर विमान चार्टर गर्न दिएको छ ।

यदि उक्त विमान अष्ट्रेलियन दूतावासले सोझै चार्टर्ड गरेको खण्डमा उसले कमिसन पाउने थिएन । किनकी दूतावास नेपाल वायुसेवा निगमको आधिकारिक टिकट विक्रेता हुने कुरा भएन ।

ट्राभललाई फाइदा नै फाइदा, निगमलाई घाटामाथि घाटा

अहिले अष्ट्रेलियामा यात्रु उडाउन लागेको बोन ट्राभलले २ सय ५२ जना यात्रुको टिकट काटेको छ । २ सय ५२ जना यात्रुमध्ये १६ जना बिजनेस क्लास र २ सय ३६ यात्रुलाई इकोनोमिक क्लासमा राखेर उडान भर्दैछ ।

ट्राभलले अष्ट्रेलिया उड्ने यात्रुबाटै पैसा असुल गरेको छ । जसका लागि विजनेस क्लासमा बस्नेले प्रतिव्यक्ति २ हजार ३ सय डलर र इकोनोमिक क्लासमा बस्नेले प्रतिव्यक्ति १ हजार ७ सय ९५ डलर तिर्नुपरेको छ ।

यसको हिसाब गर्दा ट्राभल एजेन्सीले बिजनेस क्लासमा बस्ने १६ जना यात्रुसँग ३६ हजार ८ सय डलर लिएको छ भने इकोनोमिक क्लासमा बस्ने २ सय ३६ यात्रुबाट ४ लाख २३ हजार ६ सय २० डलर लिएको छ । दुबै क्लासको सबै यात्रुको भाडा जोड्दा ट्राभलले ४ लाख ६० हजार ४ सय २० रुपैयाँ भाडावापत उठाएको छ ।

ट्राभल एजेन्सीले भाडावापत यात्रुबाट लिएको रकम र नेपाल वायुसेवा निगमलाई बुझाउनुपर्ने रकममा पनि ७ हजार ९ सय २० डलर कम पर्ने देखिन्छ । यो भनेको बुधबारको नेपाली मूल्य ९ लाख ६१ हजार १ सय रुपैयाँ हुन आउँछ ।

त्यसबाहेक ट्राभल एजेन्सीले कमिसनवापत पाउने २७ लाख ४५ हजार रकम जोड्दा उसले दुबै रकम गरेर ३७ लाख ६ हजार रुपैयाँ कमाउनेछ । यो रकम नेपाल वायुसेवा निगमका कर्मचारी र ट्राभल एजेन्सी मिलेर बाँडफाँड गर्न लागिएको बुझिएको छ ।

प्रवक्ता भन्छिन्, ‘कमिसन दिनु पर्दैन होला’

बुधबार अष्ट्रेलिया उड्न लागेको चर्टड विमानको सम्बन्धमा नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्जना खड्कासँग बुझ्दा उनले विमानले लिने भाडाको विषयमा केही बोल्न नमिल्ने बताइन् । निगमको एग्रिमेण्ट को सँग भएको छ भन्दा पनि उनले त्यो कमर्सियल डिपार्टमेण्टले नै हेर्ने भएकाले थाहा नभएको बताइन् ।

यद्यपि खड्काले दूतावासले नै पत्र पठाएकाले दूतावाससँगै सम्झौता भएको हुनुपर्ने बताइन् ।

तर जब रातोपाटीले सम्झौता दूतावाससँग नभएर कुनै एक ट्राभल एजेन्सीसँग भएको बारे बताउँदै ट्राभललाई कमिसन दिनुपर्छ कि पर्दैन भनेर सोध्यो त्यसपछि भने अनि केही समय अकमकिइन् । अनि भनिन्, ‘अब दूतावासले नै पत्र काटेर विमान चार्टर गरेको कारण कुनै ट्राभल एजेन्सीलाई कमिसन दिनुपर्छ जस्तो त मलाई लाग्दैन, तर पनि यस विषयमा थप बुझ्नुपर्छ । अनि कतिपय विषय कन्फिडेन्सिएल हुने भएकाले सबै कुरा बताउन पनि मिल्दैन ।’

ट्राभल एजेन्सी भन्छ, ‘सित्तैमा कसले काम गर्छ’

यस विषयमा के कसो भएको हो भनेर बोन ट्राभलका सञ्चालक रमेश पौडेललाई सम्पर्क गर्दा उनले २ सय ५२ जना यात्रुको टिकट काटिएको र एअरपोर्ट पुग्दासम्म यात्रु थपघट हुनसक्ने बताए ।

यात्रु सङ्ख्या कति छन् र यात्रुको टिकटको पैसा कसले तिर्ने हो भन्दा उनले बिजनेस क्लासमा १६ जना तथा इकोनोमिक क्लासमा २ सय ३६ जनाले टिकट काटेको बताए । साथै बिजनेस क्लासमा बस्नेले २ हजार ३ सय अमेरिकी डलर तथा इकोनोमिक क्लासमा बस्नेले १ हजार ७ सय ९५ डलर तिरेको बताए ।

एम्बेसीलाई सोझै पैसा उठाएर काम गर्न अप्ठेरो परेकाले आफूहरुले पैसा उठाउने तथा डकुमेण्ट मिलाउने काम गरेको पनि पौडेलले बताए ।

एम्बेसीलाई सहयोग गरेको र सबै काम तपाईंहरुले नै गरेको भन्ने रातोपाटीको प्रश्नमा उनले एम्बेसीलाई फेसिलिटेट मात्र गरेको बताए । यद्यपि रकम उठाउने काम आफैले गरेको र निगमसँग एग्रिमेण्ट पनि आफैले गरेकाले निगमलाई पैसा बुझाउने काम पनि आफ्नै भएको बताए ।

निगमसँग कमिसनको रकम लिनुहुन्छ कि लिनुहुँदैन भन्ने रातोपाटीको प्रश्नमा यो कुरा अहिले नगरौँ भन्दै उनी उम्किन खोजे । मुख्य कुरो नै यही भएकाले के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले कमिसन वापतको रकम कटाएर नै निगमलाई पैसा बुझाउने बताए ।

यता, यसै सम्बन्धमा कुन कम्पनीसँग कुन शर्तमा सम्झौता भएको हो भन्ने प्रश्न नेपाल वायुसेवा निगम, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाललाई सोध्दा उनले त्यो कुरा भन्न नमिल्ने बताए । सम्झौता दूतावाससँग भएको हो कि एजेन्सीसँग भनेर सोध्दा पनि उनले प्रवक्तासँगै सोध्न भने । प्रवक्ताले बताउनुभएन ट्राभललाई पैसा दिनुपर्छ कि पर्दैन भन्ने प्रश्नमा उनले यस्तो कुरा भन्न नमिल्ने भन्दै फोन काटे ।

नेपाल वायुसेवा निगमले आज बुलुका ५ः३० बजे अष्ट्रेलियामा गर्न लागेको उडानमा निगमकै निर्देशक तथा कर्मचारीको मिलेमतोमा करिब २८ लाख रुपैयाँ कमिसनवापत दिन लागिएको छ । जबकि यो व्यापार निगमलाई प्रत्यक्ष नै आएको थियो र प्रत्यक्ष आएको व्यापारमा कसैलाई कमिसन छुट्याउनु पर्दैन ।

तर निगमकै कर्मचारीको मिलेमतोमा कमिसन बाँडेर खानका लागि निगमलाई करिब २८ लाख रुपैयाँ घाटा भएको छ । बिचमा एजेण्ट राखेर ५ प्रतिशत कमिसन खानका लागि निगमले यस्तो मिहेनत गरेको देखिएको छ ।

निगमले २ सय ५२ जना यात्रु तथा चालकदलका २५ सदस्य गरी कुल २ सय ७७ जनालाई लिएर अष्ट्रेलिया उड्दैछ ।

विमान स्थानीय समय अनुसार भोलि बिहान ११ बजेर ५० मिनेटमा ब्रिसबेन पुग्नेछ । उताबाट भने विमान रित्तै सोही रुट हुँदै नेपाल फर्कने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप