शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथाम तथा नियन्त्रणमा चुनौती, भारतबाट आउनेको लेखाजोखा नै छैन

मङ्गलबार, १८ चैत २०७६, १७ : ३४
मङ्गलबार, १८ चैत २०७६

बुटवल । विश्वमै महामारीका रुपमा देखा परेको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामाका लागि प्रदेश ५ सरकारले स्थानीय तह र संघीय सरकारबीच समन्वयका साथ आवश्यक तयारी गरिरहेको छ ।

भारतसँग खुला सिमाना भएका ६ वटा जिल्ला रहेको यो प्रदेशमा भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका युवा तथा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकाहरु उल्लेख्य रहेका कारण पनि कोरोना नियन्त्रणको लागि उच्च सतर्कता अपनाइएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार निर्माणमन्त्री बैजनाथ चौधरीले रातोपाटीलाई बताए ।

यद्यपि भारतबाट पछिल्लो समय कति नेपाली भित्रिए र उनीहरुको अवस्था के छ भन्नेबारे प्रदेश सरकारलाई ठोस जानकारी नहुँदा संक्रमण रोकथाम तथा नियन्त्रणमा चुनौती देखिएको छ ।

लकडाउन दोस्रो तेस्रो दिनसम्म यो प्रदेशमा विभिन्न नाका हुँदै भारतबाट सयौंको संख्यामा नेपालीहरु भित्रिएका थिए । नाकामा सामान्य ज्वरो परीक्षणपछि उनीहरुलाई घरतर्फ पठाइएको थियो ।

रातोपाटीले उनीहरु कति संख्यामा आए भन्ने जानकारी माग्दा प्रदेशको कुनै पनि निकायले यकिन विवरण उपलब्ध गराउन सकेको छैन । प्रदेश सरकारले विदेशबाट आएकाहरुको अनुगमन र उनीहरुलाई क्वारेन्टाइनमा राख्ने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरे पनि अहिलेसम्म नेपाल भित्रिनेको तथ्यांक संकलन मै समस्या देखिएको हो । स्थानीय तहहरुले आफ्नै ढङ्गले काम गरेका छन् भने प्रदेश सरकार पनि स्थानीय तहहरुबाट प्रभावकारी ढङ्गले काम भइरहेकोमा विश्वस्त देखिन्छ । तर वास्तविकता फरक छ ।

कतिपय स्थानीय तहले भारत लगायत विभिन्न मुलुकबाट हालै फर्किएकाहरुको रेकर्ड राख्ने प्रयास गरेका छन् । तर कतिपयले यस्तो रेकर्ड संकलन सम्भव नहुने भन्दै आलटाल गरेको समेत देखिन्छ ।

भारतबाट आउनेहरूका कारण पनि पछिल्लो समय प्रदेशमा संक्रमणको जोखिम बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ । भारतमा हालै कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ । यस्तो अवस्थामा खुला सीमाका कारण पछिल्ला दिनमा सयौंको संख्यामा नेपालीहरु भारतको विभिन्न सहरबाट घर फर्किएका छन् । यसरी भित्रिएका नेपालीलाई निगरानीमा राख्नुपर्ने भए पनि उनीहरुको वास्तविक तथ्यांक समेत फेला पार्न नसकेको अवस्थामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा चुनौती थपिएको जानकारहरु बताउँछन् ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयका सचिव शंकर शर्माले स्थानीय तहबाट संकलन गरेको विवरण अझै नआएको रातोपाटीलाई बताए.। उनले स्थानीय तहलाई चाँडै त्यस्तो विवरण बुझाउन ताकेता गरिएको बताउँदै केही दिनमै यकिन विवरण आइसक्ने विश्वास व्यक्त गरे ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले तेस्रो मुलुकबाट आएका १० जनालाई  अहिले क्वारेन्टाईनमा राखिएको जनाएको छ । उपमहानगरका मेयर डा.धवल शमशेर राणाले भारतबाट १० जना जति नगरपालिकाभित्र आएको बताए । उनले चारैतिर  खुला सिमानाका कारण तथ्यांक संकलन गर्न कठिन भएको रातोपाटीसँग खुलाए ।

‘चारैतिर बाटो छ, दैनिक आउजाउ गर्ने मान्छे हुन् कि रोजगारीबाट फर्किएका हुन् भन्ने छुट्याउन पनि कठिन हुन्छ,’ उनले भने, ‘हुलमुलमा कति मान्छे आए, कसरी विवरण तयार पारेर प्रदेश सरकारलाई बुझाउने ?’
गुल्मी जिल्लामा विदेशबाट आएका ५९ जना क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले रातोपाटीलाई बताए । अधिकांश स्थानीय तहले प्रशासन र जिल्ला संमन्वय समिति विदेशबाट आउनेको तथ्यांक बुझाएका छैनन् । पहाडी जिल्लाहरुमा तेस्रो मुलकबाट आएकालाई अलि ध्यान दिए पनि भारतबाट आउनेलाई खासै ध्यान दिइएको छैन ।

प्रदेश प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एसएसपी नरबहादुर केसीले कोरोनाबाट प्रभावित हुन थालेपछि भारत तथा तेस्रो मुलकबाट झन्डै १ लाख मानिस आएको बताए । उनका अनुसार सबैभन्दा धेरै भारतबाट आउने नै छन् ।

प्रदेश सरकारले कोरोना विशेष अस्पताल निर्माणदेखि भारत लगायत विदेशबाट आएकालाई क्वारेन्टाईनमा राखेर उनीहरुको खाने तथा बस्ने व्यवस्थासम्म गरेको छ । यद्यपि त्यसरी आउने व्यक्तिको पहिचान र उनीहरुलाई क्वारेन्टाइनमा प्रभावकारी रुपमा राख्ने प्रक्रिया भने भरपर्दो हुन सकेको छैन ।

प्रदेशमा चारवटा कोरोना विशेष आइसोलेसन अस्पताल निर्माण गरिएको छ । बुटवलको धागो कारखाना, भैरहवाको भिम अस्पताल, दाङको बेलझुन्डीस्थित आयुर्वेदिक अस्पताल र बाँकेको सुशील कोईराला अस्पतालमा आईसोलेसनको व्यवस्था गरिएको छ ।

यस्तै, कोरोनाभाइरस परीक्षण गर्न दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर र नेपालगञ्जको भेरी अस्पतालमा गरी जम्मा तीनवटा प्रयोगशाला स्थापना गरिदै छ ।

संघीय सरकारद्वारा घोषित ‘लकडाउन’लाई पुर्णरुपमा कार्यान्वयन गर्नुका साथै विदेशबाट आएका व्यक्तिहरुको लागत संकलनको काम पनि भईरहेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री चौधरीले जनाए ।

१०९ स्थानीय तहका आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण भएको र ती क्वारेन्टाइनबाट प्रदेश सरकारलाई दैनिक रिपोर्ट आइरहने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार विद्यालय, अस्पताल, केही सामाजिक भवनमा विदेशबाट आएका व्यक्तिलाई १४ दिनसम्म राख्ने व्यवस्था गरिएको छ । 

यदि कोही बिरामी भएमा उपचारका लागि एम्बुलेन्ससहित सम्बन्धित अस्पालतमा ल्याउन निर्देशन दिइएको मन्त्री चौधरीले बताए ।

स्थानीय तहहरुले लकडाउन कार्यान्वयनदेखि विपन्न वर्गका लागि खाद्यान्य वितरणसम्मका काम गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलबस्तुको कृष्णनगर नगरपालिकाले लकडाउनमा विपन्न वर्गका नागरिकलाई सहयोगार्थ चामल, दालजस्ता खाद्यान्य वितरण गरेको छ । 

कृषि उपज खेर
चैत ११ गतेदेखि जारी लकडाउनका कारण विभिन्न समस्या देखा परेका छन् । भारतबाट आएका नेपालीहरु सीमा क्षेत्रमा अलपत्र छन् भने किसानको दुध, तरकारी, कुखुरा उपभोक्तासम्म पु¥याउन नसक्दा कृषि उपज खेर गएको छ । 

मन्त्री चौधरीले सीमाक्षेत्रमा अलपत्र नेपालीको उद्धारदेखि किसानलाई सहयोग गर्नेसम्मका योजनाहरु बनाएर काम गरिरहेको बताए । सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने काम भइरहेको उनको भनाइ छ ।

भारतमा पनि लकडाउन भएकाले दैनिकजसो नेपालीहरु भारतका विभिन्न सहरबाट सीमाक्षेत्रसम्म आइपुग्ने गरेको विषयले प्रदेश सरकारलाई गम्भीर बनाएको उनले बताए । भारतभर लकडाउन भएका कारण त्यहाँ कार्यरत नेपालीहरु जो जहाँ छन्, त्यही बसेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले लकडाउनको अवधिमा कृषि उपज खेर गएर मारमा परेका किसानका समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । गहुँ लगायतका बाली भित्र्याउने बेला भएका कारण पनि कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायतलाई ठाउँ ठाउँमा पु¥याउनका लागि गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने निर्णय गरेको उनले जानकारी दिए ।

किसानहरुले उत्पादन गरेका कृषि उपज माछा, मासु, दूध बिक्रीवितरणमा समस्या नहोस् भनेर विशेष पासको व्यवस्था गरिएको उनले बताए । यस्तै, निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । त्यस्ता मजदुरलाई घर जान यातायातका साधनको व्यावस्था सम्बन्धित ठेकेदारले गर्नुपर्ने र पासको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारले निर्देशन दिएको छ ।

स्थानीय तहले गरेका कामहरु 
१०९ स्थानीय तह रहेको ५ नम्बर प्रदेशमा स्थानीय तहरुले पनि कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छन् । प्रदेशमा हालै विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम भइरहेको र स्थानीय तहहरु टोलटोलमा पुगेर रेकर्ड संकलनमा लागिरहेको जनाइएको छ । 

दाङमा मात्र भारत लगायत विदेशबाट हालै दुई हजार मानिस आएको बताइन्छ । उनीहरुको पहिचान गरी तथ्यांक संकलनको काम भइरहेको जनाइएको छ ।

तिलोत्तमा नगरपालिकाले लकडाउनलाई कार्यान्वयन गराउने सन्दर्भमा अत्यावश्यक सामग्री खरिद—बिक्रीका लागि समय निर्धारण गरेको छ । खासगरी अपरान्ह र बिहानको समयमा अत्यावश्यक सामान खरिद गर्ने नाममा सडकमा मानिसको चहलपहल बढेको पाइएपछि त्यसलाई रोक्न नगरपालिकाले समय निर्धारण गरेको हो ।

अर्घाखाँचीमा हेलिप्याडसहितको आईसोलेशन कक्ष
अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले कोरोनाभाईरसविरुद्ध लड्न गाउँपालिकाले सबै खालको तयारी पुरा गरेको रातोपाटीलाई बताए ।

उनले गाउँपालिकाबासी मात्र नभई छिमेकी जिल्ला गुल्मी र पाल्पाका सिमावासीको सुरक्षाका लागि पनि गाउँपालिकाले ध्यान दिएको दावी गरे । उनका अुनसार त्यस गाउँपालिकामा हाल भारत र तेश्रो मुलकुबाट १ सय ७४ जना भित्रिएका छन् । तीमध्ये शंकास्पद २३ जनालाई क्वारेन्टाईनमा राखिएको उनको भनाइ छ ।

३८ शैयाको ५ वटा आईसोलेशन कक्ष र वडास्तरसम्म क्वारेन्टाइन निर्माण भएको जानकारीसमेत उनले दिए । उनले हेलिप्याड सहितको आईसोलेशन कक्ष बनाईको र तीन वटा एम्बुलेन्स स्ट्याण्डबाई राखिएको बताए .।

उनले कोरना सक्रमित धनगढीका ब्यक्तिसँग आउने अर्घाखाँचीका दुई मध्ये एक जनालाई बुटल पठाईएको र एक जनालाई सन्धिीखर्कमा राखिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप