कारागार कोरोना संक्रमणको उच्च जोखिममा, कसरी सावधानी अपनाइएको छ ?
विश्वभर जस्तै नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को त्रास सर्वत्र छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने यो भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनसम्मको कडा नीति अख्तियार गरेको छ ।
सरकारले सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन समेत रोक लगाएर जनतालाई घरमै बस्न आदेश जारी गरेपनि कैदीबन्दी राखिने जेलको अवस्था भने दयनीय रहेको छ ।
मुलुकका सबै कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी रहेको अवस्था रहनुका साथै बाहिरबाट भेटघाटका लागि विभिन्न मानिसहरु समेत पुग्ने भएकाले कारागार कोरोना संक्रमणको उच्च जोखिममा छ ।
यदि कसैमा कोरोनाको संक्रमण छ र उसले हाच्छ्यूँ गर्यो, खोक्यो वा नजिकै भएपनि अर्कालाई सहजै सर्न सक्ने विज्ञहरु बताउँछन् ।
तर, कोरोना त्रासको बीच संक्रमण रोकथाममा कारागार व्यवस्थापन विभागले कैदीबन्दीहरुको उचित व्यवस्थापन गरिरहेको दावी गरेको छ ।
व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले कैदीबन्दीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विशेष सावधानी अपनाइएको बताए ।
साबुन पानी र सेनिटाइजर अनिवार्य
देशको ७२ वटै कारागार छिर्नेबित्तिकै साबुन पानी र सेनिटाइजर अनिवार्य गरिएको महानिर्देशक कणेलले बताए । कणेलका अनुसार आगन्तुकहरुलाई हात धोएर र त्यसपछि पनि सेनिटाइजर लगाएरमात्रै प्रवेश दिइन्छ । त्यस्तै मास्क पनि अनिवार्य गरिएको छ ।
कारागारभित्र रहेका कैदीबन्दीहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको पनि उनले बताए ।
उनले भने, ‘कैदीबन्दीको स्वास्थ्यका विषयमा हामी सचेत छौं । संक्रमण फैलिन नदिनका लागि बाहिरबाट आउनेहरुमा कडाइ गर्ने नीति लिएका छौं ।’
नयाँ आउने कैदीबन्दीलाई सामान्य स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुसार कारागार परिसरमै क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको पनि उनले बताए ।
कारागार अस्पतालमा २५ शैयाको अस्पताल
यता केन्द्रीय कारागारमा २५ शैयाको अस्पताल समेत सञ्चालनमा आइसकेको महानिर्देशक कणेलले बताए । यस्तै नख्खु कारागार परिसरभित्र पनि अस्पताल सञ्चालनमा आउने क्रममा छ ।
सम्भावित कोरोना संक्रमितको जोखिमलाई मध्यनजर राखेर कारागार अस्पताल जगनाथ देवलमा १५ शैया र नख्खु कारगार पसिरमा रहेका मनो सामाजिक अस्पतालमा २० शैयाको आइसुलेसनको बेड राख्ने काम अन्तिम चरणमा पुगेको महानिर्देशक कणेलले बताए ।
महानिर्देशक कणेलका अनुसार केन्द्रीय कारागारको कारखाना परिसरभित्र रेडक्रसको सहयोगमा १० वटा पाल टाँगी २० जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था भइसकेको छ । सो क्वारेन्टनाइमा बाहिरबाट ल्याइएका १३ बन्दीलाई राखिएको छ ।
यस्तै सुनसरीस्थित झुम्का कारागारमा प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा ४ वटा पाल टाँगिएको र सो पालमा १२ जना क्वारेन्टाइनमा रहने सक्ने व्यवस्था मिलाइएको उनले बताए ।
दर्दनाक नेपालका जेल
नेपालका अधिकांश जेलमा घामसमेत नछिर्ने अँध्यारा कोठा छ । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिति छ । बन्दीका लागि शौचालय, औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ ।
त्यसैले कैदी–बन्दी व्यवस्थापन समितिले समेत क्षमताभन्दा बढी कैदी–बन्दी रहेका जेलमा कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम बढी हुने भएकाले कानुनको दायरामा रहेर रिहा गर्न मिल्नेलाई रिहा गरेर सरकारलाई निर्देशन दिएको थियो ।
कारागारभित्र एकै ठाउँमा धेरै जना सुत्नुपर्ने भएकाले एक जनामा संक्रमण देखिए एकै रातमा सबैमा सर्न सक्ने भएकाले सरोकारवाला गम्भीर बन्नुपर्ने देखिन्छ ।
२१९ कैदीबन्दी रिहा
सरकारले कैदी बन्दीहरुलाई अस्थायी रुपमा रिहा गर्ने निर्णय कार्यान्वयन गर्दै हालसमम २१९ जना कैदीबन्दी रिहा भएको महानिर्देशक कणेलले बताए ।
कोरोनाको त्रास फैलिएसँगै अपराधी क्रियाकलापमा संलग्न रहेर दोषी ठहरिएर जेलजीवन बिताइरहेका देशभरका कारागारबाट १०० जना र बाल सुधार गृहबाट ११९ जना रिहा भएका हुन् ।
सर्वोच्च अदालत फुल बेन्चको चैत ७ गतेको आदेशको बुँदा नम्बर ६ अनुसार एक वर्ष वा सो भन्दा कम कैद सुनाइएका कैदीबन्दीहरु मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा १५५ बमोजिम सम्बन्धित अदालतको आदेशमा छुट्नसक्ने व्यवस्था छ ।
यस्तै सो व्यवस्था अनुसार एक वर्ष भन्दा कम कैद सुनाइएका व्यक्तिहरुले आफू छुट्न पाउँ भनी सम्बन्धित कारगारमा निवेदन दिनुपर्ने महानिर्देशक कणेलले बताए ।
कारागार प्रशासनले त्यस्तो निवेदन सम्बन्धित जिल्लाको जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने र सरकारी वकिलको कार्यालयले मुद्दा हेर्ने अदालत वा न्यायिक निकाय समक्ष पठाउनेछ ।
यसरी आदेश भएमा बुझाउनपर्ने जरिवाना बाँकी भए त्यस्तो जरिवाना पूरै दाखिला गर्नुपर्ने र बाँकी कैदको प्रतिदिन ३०० का दरले राजश्व दाखिला गर्नुपर्ने जनाइएको छ ।
नेपालको ८२ वटा कारागारमा करिब २४ हजार कैदीबन्दी रहेको सरकारी तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त
-
५ महिनामा देशको व्यापार घाटा ५ खर्ब नाघ्यो