शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित गर्भवती र सुत्केरीले यसरी सावधानी अपनाउनुपर्छ

मङ्गलबार, १८ चैत २०७६, १६ : ०२
मङ्गलबार, १८ चैत २०७६

के तपाई गर्भवती अनि सुत्केरी अवस्थामा हुनुहुन्छ ? यस अवस्थामा ज्वरो, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या देखा परेको छ ? सुत्केरी तथा गर्भावस्थामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएका आमाबाट जन्मिने शिशुलाई कोरोनाभाइरसको संक्रमण हुन्छ कि हुँदैन भन्ने प्रश्नले पनि धेरैलाई सताएको हुन सक्छ । यस्तै, आमालाई कोरोनाभाइरसको संक्रमण हुँदा नवजात शिशुलाई स्तनपान गराउँदा बच्चामा पनि संक्रमण सर्छ कि सर्दैन भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ ।

प्रस्तुत छ, गर्भावस्था र सुत्केरी अवस्थामा कोरोनाभाइरसको लक्षण देखिएका तथा संक्रमित महिलाले सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा रातोपाटीले तयार पारेको सामग्री :

के गर्भवतीहरु कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?
गर्भवतीमा कोरोनाभाइरस संक्रमणका असरहरु बुझ्न हाल वैज्ञानिकहरु अनुसन्धानमै छन् । सीमित तथ्याङ्कका कारण अहिलेको अवस्थामा उनीहरु आम मानिसको तुलनामा उच्च जोखिममा हुन्छन् भन्ने कुनै ठोस प्रमाण छैन । तर पनि शारीरिक र रोग प्रतिरोधात्मक प्रणालीमा हुने परिवर्तनका कारण गर्भवतीहरु श्वासप्रश्वास सम्बन्धी जटिल संक्रमणबाट प्रभावित हुन सक्छन् । तसर्थ कोरोनाभाइरसबाट आफुलाई बचाउन उनीहरुले सावधानी अपनाउन र सम्भावित लक्षणहरु (ज्वरो, खोकी, सास फेर्न गाह्रो भएमा) स्वास्थ्यकर्मीको सल्लाह लिन जरुरी हुन्छ ।

गर्भवतीहरु कोरोनाभाइरसबाट कसरी बच्ने ?
कोरोनाको संक्रमणबाट जोगिन अन्य व्यक्तिले जस्तै गर्भवतीले पनि आवश्यक सावधानी अपनाउनुपर्छ 

–साबुनपानी वा अल्कोहोल मिस्रित हात धुने झोल प्रयोग गरेर बारम्बार हात धुने ।
–आफु र अन्य व्यक्तिबिच दुरी कायम राख्ने ।
–आफ्नो आँखा, नाक र मुखहातले नछुने ।
–श्वासप्रश्वाससम्बन्धि सरसफाईमा ध्यान दिने । खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्ने । त्यसपछि प्रयोग भएको रुमालको उचित बिसर्जन गर्ने । यदि ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्छ । 

स्वास्थ्य संस्था जानुअघि फोन गरेर सम्पर्क गर्नुपर्छ । त्यसपछि स्वास्थ्य संस्थाको सल्लाहअनुसार चेकजाँच गर्नुपर्छ । गर्भवती र भर्खरै सुत्केरी भएका आमाहरु तथा कोरोनाभाइरस संक्रमण भएका आमाहरु नियमित जाँच गराउन स्वास्थ्य संस्थामा जानुपर्छ । 

के गर्भवतीले कोरोनाभाइरसको जाँच गर्नुपर्छ ?
तपाई बसोबास गर्ने क्षेत्रको आधारमा कोरोनाभाइरस जाँच सम्बन्धि प्रोटोकल र योग्यता फरक पर्न सक्छ । तथापि विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोनाको लक्षण देखा परेका गर्भवतीलाई जाँचका लागि प्राथमिकता दिनुपर्छ । गर्भवतीलाई कोरोना संक्रमण देखापरेमा उच्चस्तरीय स्याहार आवश्यक पर्न सक्छ । 

के कोरोना संक्रमित आमाबाट गर्भमा रहेको शिशु वा नवजात शिशुमा संक्रमण सर्न सक्छ ?
गर्भवती आमाबाट गर्भमा रहेको शिशुलाई कोरोना संक्रमण सर्न सक्छ भन्ने ठोस प्रमाण उपलब्ध छैन । संक्रमित आमाको गर्भे पानी वा आमाको दुधको जाँच गर्दा देखा परेको छैन ।

गर्भावस्था र प्रसुतिको समयमा के केस्ता स्याहार उपलब्ध हुनुपर्छ ?
गर्भवतीले झैँ कोरोना संक्रमण पुष्टि भएका वा आशंका गरिएका आमा लगायत अन्य सबै गभर्वतीले प्रसुति र त्यसपछिको  समयमा गुणस्तरीय  स्याहारको  उपभोग गर्न  पाउनु उनीहरुको नैसर्गिक अधिकार हो ।  यसमा एन्टी–नेटल, जवजात शिशु, पोष्ट–नेटल र मानसिक स्वास्थ्य सम्बन्धी स्याहार पर्दछन् । एउटा सुरक्षित र सकारात्मक प्रसव अनुभवका लागि निम्न कुराहरु आवश्यक छन् ।
–सम्मानपूर्ण र मर्यादित ढंगले उपचार र स्याहारको उपभोग गर्न  पाउनुपर्छ ।
–प्रसुतिको समयमा आफुले  चाहेको  साथीलाई आफ्नो साथ राख्न पाउनु पर्छ ।
–बुझ्ने भाषामा प्रसुतिकक्षका स्वास्थ्यकर्मीबाट परामर्श पाउनु पर्छ ।
–दुखाईबाट छुटकाराका लागि उपयुक्त उपचार पाउनु पर्छ ।
–सम्भव भए प्रसुतिको समयमा हिँडडुल गर्न पाउनु र आफुले रोजेको आसनमा प्रसुति गर्न पाउनु पर्छ ।

यदि कोरोना संक्रमणको  आशंका गरिएको  वा पुष्टि भएको खण्डमा स्वास्थ्यकर्मीहरुले आफ्नो तथा अन्य बिरामीहरुलाई  हुन सक्ने संक्रमणको जोखिम न्युनीकरण गर्नका लागि उचित सावधानी अपनाउनु पर्छ । साथै सुरक्षाका सामग्रीहरुको उचित प्रयोग गर्नुपर्छ ।

कोरोनाभाइरस संक्रमणको पुष्टि भएका वा आशंका गरिएका गर्भवतीलाई शिशु जन्माउन शल्यचिकित्सा आवश्यक छ ?

छैन । विश्व स्वास्थ्य संगठनका अनुसार चिकित्सकीय आवश्यकता भएको अवस्थामा मात्र शल्यचिकित्सा गर्नुपर्छ ।

कोभिड १९ संक्रमित आमाले स्तनपान गराउन  सक्छिन् ?
कोरोनाभाइरस (कोडिभ १९) संक्रमित आमाले चाहेको खण्डमा स्तनपान गराउन सक्छिन् । यसका लागि ः
– स्तनपान गराउँदा श्वासप्रश्वास सम्वन्धी सरसफाईको अभ्यास गर्ने, सम्भव भएसम्म मास्क लगाउनु पर्छ ।
–शिशुलाई छुनुपूर्व र छोएपछि हात धुनुपर्छ ।
–आफुले छोएका सामानहरु नियमित निर्मलीकरण गर्नुपर्छ ।

कोरोनाभाइरसबाट संक्रमित भएमा आफ्नो शिशुलाई  छुन वा काखमा बोक्न हुन्छ ?
हुन्छ । नजिकको संसर्ग र स्तनपान समयमै सुरु गर्नाले र पुर्ण रुपमा गर्नाले नवजात शिशुलाई स्वस्थ रुपमा हुर्कन मद्दत पुग्छ । निम्न अवस्थामा सहयोग हुनुपर्छ ।
–श्वासप्रश्वास सम्बन्धि सरसफाईका कुराहरु अँगाल्दै सुरक्षित तरिकाले स्तनपान गराउन सकिन्छ ।
–छालादेखि छालासम्मको संसर्गमा नवजात शिशुलाई राख्ने ।
–नवजात शिशुसँग एउटै कोठामा बस्ने ।
नवजात शिशुलाई छुनुपूर्व छोइसकेपछि आफ्नो हात धुनुपर्छ, त्यसपछि सबै सामानहरुको सरसफाई गर्नुपर्छ ।

कोरोनाभाइरस संक्रमणको कारण सिधै स्तनपान गराउने अवस्थामा छैन भने के गर्ने ?
यदि कोरोनाभाइरस वा अन्य  जटिल रोगको कारण अशक्त भई स्तनपान गराउन नसकेको अवस्थामा सम्भव, सुलभ र स्वीकार्य हुने किसिमबाट शिशुलाई सुरक्षित तरिकाले आमाको दुध खुवाउन सहयोग पु¥याउनु पर्दछ । यसका लागि निम्न विधि अपनाउन सकिन्छ । 
–आमाको स्तन निचोरेर दुध निकाल्ने ।
–केही समय स्तनपान बन्द गरेर पुनः स्तनपान गराउने ।
–शिशुलाई अरु कुनै स्वस्थआमाको दुध खुवाउने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप