शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाः  डोल्पामा १३२ जना क्वारेन्टाइनमा

मङ्गलबार, १८ चैत २०७६, १२ : ०६
मङ्गलबार, १८ चैत २०७६

डोल्पा । ‘लकडाउन ’को समयमा डोल्पा जिल्ला फर्किएका १३२ जनालाई  विभिन्न स्थानका  क्वारेन्टाइनमा राखिएको छ  । कोरोना भाइरस (कोभिड–१९) जोखिम हुन नदिन ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र वुद्धडोल्पो गाउँपालिकाका विभिन्न स्थानमा तयार गरिएको क्वारेन्टाइन उनीहरुलाई राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सबैभन्दा बढी ठुलिभेरी नगरपालिकामा  ७५ जनालाई  क्वारेन्टाइनमा राखिएको नगरपालिकाका सूचना अधिकारी दिलु केसीले जानकारी बताइन् ।

त्रिपुरासुन्दरी नगरपालिकाका २ जनालाई ‘होम क्वारेन्टाइन’ र  ठुलिभेरी नगरपालिका अन्तर्गत वडा नं ३ स्थित सरस्वती माध्यामिक विद्यालय दुनैमा बनाइएको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको छ । सोही नगरपालिका वडा नं ५ माझफाल स्थित स्वास्थ चौकीको क्वारेन्टाइनमा १६ जना राखिएको छ ।  नगरपालिकाकै वडा नं ८ मा पर्ने गौरी आधारभूत विद्यालय डाँगीवाडाको क्वारेन्टाइनमा १० जना राखिएको छ ।

ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने आदर्श माध्यामिक विद्यालय जुफालको क्वारेन्टाइनमा १६ जना राखिएको छ । तीन ठाउँमा (जुफाल , मोतीपुर , कालिका मन्दिर) स्वाथ्य सहायता कक्ष स्थापना गरिएको छ ।  नगरप्रमुख गणेसबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाही काठमाडौँमा रहेका कारण व्यवस्थापनमा समस्या देखिएको छ । त्यस्तै उपप्रमुख शाही लामो समयदेखि बाहिर हुँदा बजार अनुगमन समेत हुन सकेको छैन । 
 डोल्पोवुद्ध गाउँपालिका – २  मा ५५ जनालाई कृष्टेल माण्टेनमा क्वारेन्टाइन बनाएर राखिएको प्रजिअ  सुनारले जानकारी दिए । १३ जनालाई पठाएको भएपनि क्वारेन्टाइनमा राखिएका वा नराखिएका जानकारी नआएको उनले जानकारी दिए । मुड्केचुला गाउपालिका –१ कालिकाको भोटाऔलमा क्वारेन्टाइन निमार्ण गरिएको छ ।

रुकुमको त्रिवेणी बजारदेखि मुड्केचुला गाउँपालिका प्रवेशद्वार  भोटाऔलम सामुदायिक स्वस्थ्य भवनमा क्वारेन्टाइन तयार गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । भोटाऔल बस्तिहुँदै मुड्केचुला,जगदुल्ला,जुम्ला लगायतका ठाउँहरुबाट आवतजावत गर्ने मुख्य नाका भएकोले यस ठाउँमा बनाएको छ । जगदुल्ला गाउँपालिकाले ३ ठाउँमा ११ श्ययाको  आइसोलेशन कक्ष स्थापना गरेको छ । ६  वडा रहेको सो  गाउँपालिकामा जुम्ला र डोल्पाको सीमानाकामा पर्ने चौरीकोट स्वास्थ्य चौकी चौरीकोट,रिमी स्वस्थ्य चौकी झ्याकोट र काईगाउँ स्वास्थ्य चौकी काइगाउमा सबै जनताको पायक पर्ने ठाउँ हेरेर तीन ठाउँमा गरी ११ श्ययाको आइसोलेशन वार्ड स्थापना गरिएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले जानकारी दिए  । 

जिल्ला अस्पतालमा दुइ जना आइसोलेसनमा भर्ना गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखिएको डा सिजन रावलले जानकारी दिए । उनका अनुसार ती कर्मचारी लकडाउन  अघि डोल्पा आएका थिए । डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा सम्भावित कोरोना भाइरसको उपचारका लागि आवश्यक उपकरण  तथा स्वास्थ्यकर्मीका लागि पिपिई अभाव रहेको प्रजिअ सुनारले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप