बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एकजना कोरोना संक्रमित फेला परेसँगै सुदूरपश्चिम प्रदेश सरकार ‘हाइ अलर्ट’ मा

सोमबार, १७ चैत २०७६, १५ : ५५
सोमबार, १७ चैत २०७६

कैलाली । अहिले कोरोना भाइरसको प्रकोपका कारण विश्व नै आतंकित छ । कोरोना भाइरसबाट बच्न सेल्फ क्वारेन्टाइनमा बस्न जोड दिइएको छ भने नेपाल सरकारले कोरोनाको संक्रमणलाई रोक्न लकडाउनको नीति अख्तियार गरेको छ । 

यो भाइरसको संक्रमणको जोखिम सुदूरपश्चिम प्रदेश पनि उत्तीकै छ । भारतसँगको सीमा नाकाबाट अत्यधिक नेपाली नेपाल भित्रिएको र दुबईबाट आएका कैलालीकै एक युवामा कोरानाको संक्रमण पनि देखिएपछि सुदूरपश्चिम सरकार सचेत भन्दै जोखिम न्यूनीकरणका कार्यमा सक्रिय बनेको छ । 

यस्तो विषम परिस्थितिमा सुदूरपश्चिम सरकारले उपलव्ध स्रोतसाधन प्रयोग गरी नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट वचाउन लागिपरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वताए । 
संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखेर सतर्कता अपनाइएको उनले बताए । 

 सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लामा कोरेन्टाइन निर्माण भइरहेको छ भने स्वास्थ्य सुरक्षाको सन्दर्भमा अन्य व्यवस्थापनमा पनि कुनै कसर बाँकी नराखेको मुख्यमन्त्री भट्टले बताए । 

‘भारतवाट आएका नेपालीको डाटालिने काम देखि उनीहरुको स्वास्थ्य स्थितिका विषयमा जानकारी लिएरहेका छौं’, भट्टले भने, ‘कोरोना भाइरसको परीक्षण गर्ने उपकरण पनि २ दिनभित्र सेती प्रादेशिक अस्पतालमा आइपुग्छ ।’

 त्यसैगरी क्वारेन्टाइनमा बसेका नागरिकको व्यवस्थापनका लगि नगरपालिकालाई ४ लाख, उपमहानगरपालिकालाई ५ लाख र गाउँपालिकालाई ३ लाखका दरले बजेट दिएको सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । 

अपुग रकम फेरि पठाउने तयारी भइरहेको पनि उनले बताए । भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर भएर लागिपरेको उनले बताए । 

यो महाविपत्तिलाई रोकथामका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकार डटेर लागिपरेको बताउँदै उनले भने, ‘यो घडीमा सवैको सहकार्य अपरिहार्य  छ । हाम्रो तर्फबाट क्वारेनटाइनको व्यवस्थापनमा कुनै गरिएको छैन ।’

सुदूपश्चिमका ९ वटै जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयले सूचना डेस्क स्थापना गरी भारतबाट आएका नेपालीको लगत संकलन गर्ने काम गरिरहेको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

 जिल्ला प्रशासन कार्यालय कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले भारतवाट  गड्डाचौकी नाका हुँदै एक लाख नेपाली आएको जानकारी दिए । 

उनीहरुलाई सम्बिन्धत जिल्ला पठाइ स्थानीय तहले व्यवस्थापन गरेको बताए । 

महाकाली अस्पतालमा संक्रमणका सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र शंकास्पद व्यक्तिलाई उपचारको प्रभावकारी व्यवस्था मिलाइएको छ । महाकाली अस्पतालमा ३५ वेडसम्मको आइसोलेसन वेड निर्माण भएको छ । 

त्यसैगरी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बैतडी जिल्ला अस्पतालमा आइसोलेसन वेड २ र क्वारेन्टाईन बेड ५७ वटा व्यवस्था गरेको वैतडी प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । भारतबाट अहिलेसम्म झुलाघाट बैतडी  नाका हुँदै २४०५ नेपाली प्रवेश गरेको उनले रातोपाटीलाई जानकारी दिए ।

 उनले क्वारेनटाइनको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको वताए । वैतडी जिल्ला अस्पतालमा शंकास्पद दुईजना भर्ना भएपनि उनीहरुमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाइएको पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप