शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना परीक्षणका नाममा रातभर हस्पिटलको चौतारामा बास

सोमबार, १७ चैत २०७६, १५ : ०१
सोमबार, १७ चैत २०७६

पोखरा । भारतमा मजदुरी गर्दै आएका तनहुँ, रिसिङ्ग गाउँपालिका–६ निवासी लालबहादुर थापा चैत ८ गते गाउँ फर्किए । घर आएपछि उनी खेतीपातीमै व्यस्त भए । घर आएको तीन दिनपछि उनलाई ज्वरो आयो । मेडिकल पसलमा गएर औषधि ल्याएर खाए । त्यसपछि ज्वरो निको भयो र उनको स्वास्थ्यमा खासै केही समस्या भएन ।

तर भारतबाट आएकै कारण गाउँलेहरुले उनलाई कोरोना संक्रमण चेक गराएर आउन दबाब सिर्जना गर्न थाले । राति ९ बजे रिसिङ्गबाट गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर थापा, उनका तीन छोरी र श्रीमतीलाई गण्डकी अस्पताल पठाएको रिसिङ्ग गाउँपालिका प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले बताए । 

बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्दा हुनेमा अस्पताल पठाएर बिरामीले अनावश्यक दुःख पाएको गण्डकी अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । उनले गम्भीर समस्या विना अस्पताल आइरहन नपर्ने पनि बताए । 

गाउँले र स्थानीय तहको अनुरोधलाई स्वीकारेर रातको १२ बजे गण्डकी अस्पताल आईपुगेका लालबहादुर थापाको परिवार रातभर अस्पताल बाहिरको चौतारामा चिसो खाएर बस्न बाध्य भयो । ‘हामीलाई गाउँपालिकाले अस्पताल जा भनेर पठायो तर यहाँ ज्वरोबाहेक केही परीक्षण भएन । इमरजेन्सीमा परीक्षण गर्दा ज्वरो देखिएन,’ लालबहादुरले भने, ‘त्यसपछि भोलि डाक्टरसँग कुरा गरौँला भने हामी पाँचैजना चौतारामा बसिरहेका छौँ ।’
अस्पतालको गार्डले यताउता हिँडहुल गर्न नदिएको बताउँदै उनले परिवार र बालबच्चा भोकै रहेको पनि सुनाए ।

अस्पताल जाँच गराउन आउँदा उल्टो बिरामी पर्ने अवस्था सिर्जना भएको उनीहरुको गुनासो छ । आफूहरु सबैजना यता आउँदा गाउँमा बाख्रापाठाको बिचल्ली भएको चिन्ता पनि उनले सुनाए ।

अस्पतालमा चेकजाँचका लागि आउनेलाई रातभर चौतारामा राखिएकोबारे सोधिएको प्रश्नमा गण्डकी अस्पतालका निर्देशक डा.अर्जुन आचार्य भन्छन्, ‘उहाँमा टेष्ट लिनुपर्ने केही लक्षण नै देखिएको छैन ।

भारतबाट आएको हुँदा गाउँपालिकाले अस्पताल पठाएको होला । तर अहिलेको अवस्थामा लक्षण नै नदेखिएकाहरुलाई परीक्षण गर्न आवश्यक छैन । बरु जहाँको बासिन्दा हुनुहुन्छ, त्यहीँ क्वारेन्टाइनमा राख्ने हो ।’
बिरामीमा देखिएको लक्षण हेरेर मात्र विस्तृत परीक्षण गरिने उनको भनाइ छ । ‘सबैको स्वाव टेष्ट गर्ने अवस्थामा हामी छैनौँ,’ उनले भने, ‘म उहाँहरुको गाउँपालिका प्रमुखसँग कुरा गरेर उहाँलाई गाउँमै क्वारेन्टाइनमा राख्न अनुरोध गर्छु ।’   

थापाका परिवारले अस्पताल आएपछि पानीबाहेक केही खान पाएनन् । सरकारको निर्देशनलाई गाउँपालिकाले राम्रोसँग नबुझ्दा थापा परिवारले चौतारामा रात काट्न प-यो । 

विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्नुपर्नेमा गाउँपालिकाले अस्पताल पठाउँदा दुःख पाएको थापाको गुनासो थियो । उनलाई रातभर चौतरा बस्दाको दुःख त छँदै थियो, त्योभन्दा बढी दुःख छिमेकीहरुले बारम्बार फोन गरेर रिपोर्टबारे चासो राखेर दिने गरेका छन् । थापा भन्छन्, ‘यता अस्पतालमा ज्वरो बाहेक केही परीक्षण भएको छैन । के भनेर जवाफ दिने ?’

गाउँपालिका प्रमुख श्रेष्ठलाई सोध्दा केही समन्वय तथा बुझाइमा कमीका कारण केही समस्या भएको बताए । थापा परिवारलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने उनले बताए ।

गाउँपालिका प्रमुख श्रेष्ठले भने, ‘हामी उहाँहरुलाई लिनका लागि एम्बुलेन्स पठाउँदै छौँ । गाउँपालिकाले उहाँहरुलाई यतैको क्वारेन्टाइनमा राख्छ ।’    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप