बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा 'स्वीडिस मोडल'

सोमबार, १७ चैत २०७६, १२ : ५१
सोमबार, १७ चैत २०७६

स्वीडेन । इटली अथवा ब्रिटेनजस्ता युरोपेली मुलुक कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ‘लकडाउन’ जस्ता कडा सामाजिक प्रतिबन्ध लागू गरिरहेका छन् । तर यसको विपरीत स्वीडेनले आफ्ना नागरिकलाई आफैँ जिम्मेवार बन्न सुझाव दिइरहेको छ । स्वीडेनले ‘लकडाउन’ को सहारा अझै लिएको छैन ।

स्वीडेनले यसका लागि केही निर्देशिका जारी गरेको छ । अधिकांश मानिस घरमै बसेर काम गरिरहेका छन् । यद्यपि बाहिर निस्किएर गर्मी मौसमको आनन्द लिने पनि प्रशस्त छन् । स्वीडेनको यस्तो शैलीले कोरोनाविरुद्धको युद्ध जित्न सहयोग पुग्ला त ? स्वाभाविक रुपमा प्रश्न उब्जिएको छ ।

लामो जाडोपछि बल्ल गर्मी सुरु भएको छ, मानिसहरु बाहिर बस्न पाएका छन् । राजधानी स्टकहोमका बासिन्दा गर्मीको आनन्द लिनका लागि घरबाहिर निस्कन थालेका छन् । कयौं मानिस आइसक्रिम खान निस्किन्छन्, कोही सडक किनार घुमिरहेका पाइन्छन् ।

आइतबारबाट नाइट क्लबमा ५० जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ । तर त्यसअघि नाइटक्लबमा कुनै अवरोध थिएन ।

छिमेकी मुलुक डेनमार्क या ब्रिटेनसँग तुलना गर्ने हो भने कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा स्वीडेनले अपनाएको विधिमा निकै भिन्नता पाइन्छ । डेनमार्कमा १० जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ । ब्रिटेनमा घरबाट बाहिर निस्किएर कसैसँग भेट गर्न रोक लगाइएको छ ।

हरेकलाई जिम्मेवारी

स्वीडेनको सडकमा सामान्य अवस्थाको तुलनामा निकै शान्ति छ । स्टकहोमको सार्वजनिक यातायात कम्पनी ‘एसएल’ का अनुसार गत साताबाट सब–वे र सामुदायिक रेलमा यात्रीको संख्यामा ५० प्रतिशत कमी आएको छ ।

स्टकहोमका आधाभन्दा बढी मानिस घरमै बसेर काम गरिरहेका छन् ।

सरकारी कोषबाट सञ्चालित एवं सहरको ग्लोबल बिजनेस कम्युनिटीलाई सहयोग गर्दै आएको कम्पनी ‘स्टकहोम बिजनेस रिजन’ का अनुसार घरमा बसेर काम गर्नेहरुको संख्या ९० प्रतिशतसम्म पुग्न सक्छ ।

स्वीडेन सरकारले नागरिकलाई आफ्नो जिम्मेवारीवोध गराउने रणनीति अख्तियार गरेको छ ।

सार्वजनिक स्वास्थ्य अधिकारी र नेताहरुलाई कुनै ठूलो कदम नचालिकनै कोरोना संक्रमण फैलनबाट रोक्न सकिने विश्वास छ । त्यसैले कडा नियमभन्दा पनि निर्देशिका जारी गरिएको छ । कोही बिरामी वा वृद्ध छ भने घरमै बस्न सरकारले निर्देशिका जारी गरेको छ । नियमित रुपमा हात धुन तथा अनावश्यक यात्राबाट जोगिन पनि सुझाव दिएको छ । सम्भव भएसम्म घरबाटै काम गर्न सरकारले निर्देशिका बनाएको छ ।

स्वीडेनमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ५ सय पुगेको छ । त्यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या एक सय ५ पुगेको छ ।

प्रधानमन्त्री स्टीफन लोफभेनले गत साता देशबासीलाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीले परिपक्व व्यवहार गर्नुपर्छ, भ्रम र त्रास फैलाउने होइन ।’ यो संकटमा कोही एक्लै नरहेको र हरेकले गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारप्रति विश्वास

नोभस नाम गरेको एउटा पोलिङ्ग कम्पनीले हालै गरेको सर्वेक्षणमा स्वीडेनका अधिकांश जनताले प्रधानमन्त्रीको उक्त सम्बोधन सुने । उनीहरु प्रधानमन्त्रीको भनाइमा सहमत पाइएको पनि सो कम्पनीले जनाएको छ ।

अर्कोतिर स्वीडेनका सरकारी अधिकारीहरुमा उच्चस्तरको भरोसा छ । त्यसैले पनि त्यहाँका नागरिक स्वेच्छाले सरकारी निर्देशिका पालना गरिरहेका छन् ।

अर्को महत्वपूर्ण कुरा, भूमध्यसागरीय देशहरुमा कयौं पीढिका मानिस एउटै घरमा बस्छन् तर स्वीडेन त्यसको विपरीत छ । स्वीडेनमा आधाभन्दा बढी घर यस्ता छन्, जहाँ केवल एकजना मात्र बसोबास गर्छन् । घरमा एकजना मात्र बसोबास गर्दा भाइरसको संक्रमण फैलने सम्भावना घट्छ ।

यस्तै, स्वीडेनका मानिस प्रायः घरबाट बाहिर निस्कन रुचाउँछन् । यसबाट मानसिक र शारीरिक रुपमा मानिस स्वस्थ रहने अधिकारीहरुको भनाइ छ । त्यसैले पनि ‘लकडाउन’ जस्ता प्रतिबन्धात्मक आदेश त्यहाँ पालना नहुने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् ।

मूल्याङ्कनको जिम्मा भविष्यलाई

एकातिर युरोपका अन्य मुलुकमा कोरोना संक्रमणको रौद्र रुप स्वीडेनका नागरिकले देखिरहेका छन्, अर्कोतिर आफ्नो देशमा यस्तो खुला र स्वतन्त्रता कायम राखिएकोमा कतिपयले आलोचना गरिरहेका छन् ।

स्वीडीस मेडिकल युनिभर्सिटी ‘द केरोलिन्स्का इन्स्टिच्युट’ मा एपीडेमियोलोजिस्ट डा. एमा फ्रान्स भन्छिन्, ‘स्वीडिस जनता हाम्रो सिफारिसलाई स्वीकार गर्छन्, तर जुनप्रकारको गम्भिर स्थिति छ, त्यसअनुसार पर्याप्त कदम उठाइएकोजस्तो मलाई लाग्दैन ।’

मानिसलाई सार्वजनिक स्थल, पसल तथा अन्य क्षेत्रमा कसरी भेटघाट गर्ने, कसरी प्रस्तुत हुने भन्नेबारे प्रष्ट निर्देशन जारी गरिनुपर्ने उनको भनाइ छ । केही कारोबार सामान्य रुपमा चलिरहे पनि कयौँ कारोबार प्रभावित भएको उनले बताइन् ।

डा. एमा भन्छिन्, ‘युरोपको कुन देशको कुन राजनेता र वैज्ञानिकले कोरोना संक्रमणका बारेमा सही निर्णय लियो भन्नेबारे भविष्यले मूल्याङ्कन गर्ने छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप