बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राहत लिएर आश्रममा डिआइजी पोखरेल

सोमबार, १७ चैत २०७६, ११ : ५३
सोमबार, १७ चैत २०७६

काठमाडौं । पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ । कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको पहलमा काठमाडौँस्थित मानव सेवा आश्रमबाट उक्त अभियान शुरु गरिएको छ ।

एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैँ आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगे । अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै उनले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

उनले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गर्नुभएको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । आश्रममा खाद्यान्नको अभाव भइरहेको अवस्थामा राहत उपलब्ध गराएको भन्दै बर्तौलाले मानवीय कार्य गरेकामा डिआइजी पोखरेलको प्रशंसा गरे ।

उपत्यकाको तीन जिल्लामा आश्रममा हाल २६० जना असहाय तथा बेसहाराले आश्रय लिइरहेका छन् । उनीहरुका लागि यो राहत सामग्री एक हप्तासम्म पुग्छ । मुलुकभरका आश्रममा भने झन्डै एक हजार १०० बेसहारा आश्रित छन् । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता सङ्घसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ । त्यस्ता सङ्घसंस्था तथा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरले दैनिक सामग्रीको समस्या व्यहोर्न नपरोस् भनी कार्यालयले उक्त अभियानको शुरुवात गरेको डिआइजी पोखरेलले बताए ।  

लकडाउन भएपश्चात् असहाय, अशक्त व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुन्छ । सङ्कटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाइन १०० मा खबर गर्न आग्रहसमेत उनले आग्रह गरेका छन् । वास्तविक समस्या भएकाहरुलाई भने उनले सिधै आफ्नो सम्पर्कमा आउन सक्नेसमेत पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप