बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो आर्थिक मन्दी : अर्थतन्त्र सुधार्न ठूलो रकमको आवश्यकता, कसरी गर्ला नेपालले सामना ?

आर्थिक संकटले शिथिल अर्थतन्त्रलाई गति दिन राहतको प्याकेज
सोमबार, १७ चैत २०७६, ०९ : ४०
सोमबार, १७ चैत २०७६

विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व अझै कस्तो आर्थिक संकटतर्फ जाने हो भन्दै विभिन्न संस्था तथा विज्ञहरुले चिन्ता जनाइरहेका छन् । यतिबेला विश्वको अर्थतन्त्र सन् २००८ को स्थितिमा पुगेको विश्व बैंक र अन्र्तराष्टिय मुद्रा कोष लगायतले जनाएका छन् ।

अन्र्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिष्टलिना जर्जीवाले विश्व आर्थिक मन्दीमा प्रवेश गरिसकेको बताएकी हुन् । यसले विश्वको विकसित अर्थतन्त्र भएको देशलाई समेत ठूलै चुनौती थपिदिएको छ । अहिले त्यस्ता देशका अर्थतन्त्र सुधार्न ठूलै रकम र सहायताको आवश्यकता उनले औल्याएकी छिन् ।

उनले भनेकी छिन्, ‘हामी आर्थिक मन्दीको अवस्थामा प्रवेश गरिसकेका छौं । दुनियाभरिको अर्थतन्त्र रोकिएको छ । यस्तो बेलामा प्रमुख बजारहरूलाई संकटको सामना गर्न कम्तिमा २.५ लाख करोड डलर मद्दतको खाँचो देखिएको छ ।’

आइएमएफ प्रमुखका अनुसार अहिलेसम्म ८० भन्दा बढी देशका संस्थाहरूले आर्थिक संकटबाट उम्कन मद्दत चाहेको बताइसकेका छन् । विश्वको यो मन्दीको असर दुई कुरामा निर्भर गर्छ ‘पहिलो, कोरोनाको मर्का कहाँसम्म कति पर्छ र दोस्रो, संसारभरका शीर्ष नेतृत्वले योसँग जुध्न मिलेर प्रयास गर्छन् कि गर्दैनन् ?’ ‘सन् २०२१ मा यो अवस्थामा सुधार आउने अपेक्षा गर्न सकिने’ उनले भनेकी छिन् ।

कसरी गर्ला नेपालले संकटको सामना ?

विश्वकै विकसित देशलाई संकट सामना गर्न चुनौती खडा भएको बेला अल्पविकसित देश नेपालले यस्तो संकटको सामना कसरी गर्ला भन्ने प्रश्न यतिखेर खडा भएको छ ।  सरकारले ‘देशमा कोरोनाले पारेको प्रभाव अध्ययनपछि मात्र भन्न सकिने’ भन्दै देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छैन । तर विज्ञहरुले देश ७० प्रतिशत जति नोक्सानमा गइरहेको विश्लेषण गर्न थालेका छन् । अहिले देश ‘लकडाउन’को स्थितिमा  छ । आर्थिक गतिविधि लगभग शुन्यको अवस्थामा छ । उद्योग कलकारखाना बन्द छन् । व्यावसायिक गतिविधि शून्य छन् ।  आर्थिक गतिविधि नै नहँुदा सरकारको आम्दानीको मुहान नै सुकेको छ ।

आयातको ढोका बन्द, भन्सार राजस्व गुम्यो 

‘लकडाउन’को कारण मानिसको आवज जावत नै ठप्प छ । सीमा नाकाहरु बन्द छन् । भन्सार विभागका अनुसार ‘लकडाउन’अघि आयात निर्यात सामान्य अवस्थामै भएपनि ‘लकडाउन’पछि यो अवस्था ठप्प छ । चैत १८ गतेसम्मका लागि ‘लकडाउन’ भनिएपनि यो अवस्था अझै बढ्न सक्ने देखिन्छ । भन्सार व्यापार ठप्प भएपछि राजस्व  गुमेको छ । आम्दानी कम हुँदा आयकर घट्ने र सामानको खपत नहुँदा मूल्य अभिबृद्धिकर घट्नेछ जसका कारण चैतको अन्त्यसम्ममा राजस्व नराम्ररी प्रभावित हुने निश्चित छ ।

डलर बलियो हुँदा अर्थतन्त्रलाई थप आहत 

अहिले अमेरिकी डलर १२० रुपैयाँ पुगेको छ । मंहगो डलरले कमजोर पारेको नेपाली रुपैयाँका कारण कोरोनाले ग्रसित अर्थतन्त्रमा थप आहत दिएको छ । नेपाल राष्ट बैंकका अनुसार आइतबार (चैत १६) एक अमेरिकी डलरको खरिद मूल्य ११९ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य १२० रुपैयाँ ८ पैसा रह्यो । आयातमा बढी निर्भर रहनुपर्ने अर्थतन्त्रमा डलरको मूल्य बढ्दा मूल्यबृद्धि स्वभाविक रुपले आकासिन्छ । तर निर्यात बढाउन सके यसबाट लाभ भने लिन सकिनेछ । यद्यपि, अहिले ‘लकडाउन’ले आयात निर्यात दुबै ठप्प छ ।

डलर बढ्दा पर्यटन क्षेत्रले तुलनात्मक रुपमा लाभ लिन सक्छन् । तर अहिले पर्यटन क्षेत्र सबैभन्दा बढी थला परेको छ । अर्कोतर्फ डलरमा भित्रने रेमिट्यान्सलाई पनि अहिलेको कोरोना महाव्याधिको विश्वव्यापी प्रकोपले ठूलै धक्का दिइसकेको छ । अहिले वैदेशिक रोजगारमा जान बन्द छ । वैदेशिक रोजगारमा रहेकाहरु प्नि ‘लकडाउन’का कारण घरभित्रै बन्द छन् । उनीहरुले आम्दानी गर्न सकेका छैनन् ।

आर्थिक संकटले शिथिल अर्थतन्त्रलाई गति दिन राहतको प्याकेज

कोरोनाबाट संकटग्रस्त भएको अर्थतन्त्रलाई गति दिन विभिन्न देशले राहतको प्याकेज घोषणा गरेका छन् । नेपाल सरकारले पनि आइतबार साँझ विभिन्न राहतका प्याकेज ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पूरै तलब दिनुपर्नेछ । सरकारी, निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणहरु आयात गर्दा भन्सार छुट पाउने भएका छन् । व्यवसायीहरुले मुल्य अभिबृद्धि र आय कर तिनुपर्ने समय २०७७ बैशाखसम्म थप गरेको छ । त्यस्तै, सरकारको कोरोना उपचार कोषमा योगदान गरेको रकम कर योग्य आयमा घटाउने गरी निर्णय भएको छ । क्षेत्रै तोकेर ल्याएको राहतको प्याकेजले शिथिल अर्थतन्त्रलाई गति दिने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप