बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : हिरोइन फकाउने चक्करमा पागलप्रेमीद्वारा अमेरिकी राष्ट्रपतिमाथि गोली प्रहार

सोमबार, १७ चैत २०७६, ०८ : ३६
सोमबार, १७ चैत २०७६

आज २० मार्च ।  १९८१ मा आजैका दिन अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि वासिङ्टन डिसीस्थित एक होटलबाहिर गोली प्रहार भयो । वासिङ्टन हिल्टन होटलमा कामदारहरुको बैठकलाई सम्बोधन गरेर बाहिर निस्केर आफ्नो कारतर्फ अघि बढेका राष्ट्रपतिलाई रिपोर्टरको भीडमा उभिएर बसेका जोन हिन्क्लेले ६ पटक गोली हाने । राष्ट्रपतिसँगै रहेका अन्य तीन सहयोगी समेतलाई गोली लाग्यो ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी अर्थात् सरकारका प्रवक्ता जेम्म ब्राडीको टाउकोमा गोली लाग्यो र उनी गम्भीर घाइते भए । गुप्तचर सेवाका एजेन्स टिमोठी म्याकार्थीको साइड र कोलम्बिया जिल्लाका पुलिस थोमस डेलाहान्थीको घाँटीमा गोली लाग्यो । घटनामा सबै बाँचे, तर ब्राडीको मस्तिष्कमा क्षति पुग्यो र कहिल्यै काम गर्न नसक्ने भयो ।

प्वाइन्ट २२ क्लालिबरको गोली राष्ट्रपतिको मुटुमा लाग्न पाएन, देब्रे फोक्सोमा लाग्यो । ओहियोस्थिल क्लिभल्यान्डका मजदुर अधिकारी अल्फ्रेड एन्टीनुकी हिन्क्लेबाट नजिकको दुरीमा थिए, फायरिङ देखेपछि उनले हिन्क्लेको टाउकोमा हाने । हिन्क्ले तत्कालै जमिनमा ढले । दुई सेकेन्डभित्रै अर्का प्रत्यक्षदर्शी, एजेन्ट डेनिस म्याककार्थी हिन्क्ले लडेको ठाउँमा गए । उनी भीडबाट हिन्क्लेलाई जोगाउन र घटनास्थलमा अप्रिय नहोस् भन्ने चाहन्थ्यें । तर यसका बाबजुद अन्य व्यक्तिले पनि हिन्क्लेको टाउकोमा लात्ता प्रहार गरे, जसकारण उनको टाउकोबाट रगत बग्न थाल्यो ।

यता, ७० वर्षका रेगनलाई वासिङटन युनिभर्सिटी अस्पताल लगेर शल्यक्रिया गरियो । दोस्रो दिनमै उनले अस्पतालबाट राष्ट्रपतिको काम थाले, केही विधेयकमा हस्ताक्षर पनि गरे । ११ अप्रिलमा त उनी ह्वाइटहाउमै फर्किए । गोलीको असर जीवनभर परेपनि उनको प्रसिद्धी बढ्यो, आत्मविश्वासको प्रशंशा सबैले गरे ।

को थिए हिन्क्ले ?

रेगनमाथि गोली प्रहार गर्दा हिन्क्लेको उमेर केवल २५ वर्ष थियो । उनी अमेरिकी अभिनेत्री जोडी फोस्टरसँग एकतर्फी र काल्पनिक प्रेममा थिए । हिन्क्लेका वकिलहरुका अनुसार १९७६ मा रिलिज भएको ‘ट्याक्सी ड्राइभर’ फिल्म हेरेपछि हिन्क्ले फोस्टरप्रति आशक्त हुन थालेका थिए । उनले यो फिल्म दर्जनौँपटक हेरे । त्यसपछि फोस्टरलाई पछ्याउँदै उनी पढ्ने येल विश्वविद्यालयको ढोका चहारे । धेरैपटक उनलाई प्रेमपत्र लेखे । अन्तत, फोस्टरलाई फकाउन असफल भएपछि उनले यी अभिनेत्रीलाई प्रभावित गर्नका लागि ट्याक्सी ड्राइभरकै फिल्म सुत्र अपनाउन खोजे, यस फिल्ममा मुख्य पात्रले काल्पनिक सिनेटरको हत्या गर्न खोजेको कथा छ ।

प्रेममा पागल भएका हिन्क्ले हवाईजहाज हाइज्याक गर्ने र फोस्टरको ध्यान खिच्न उनकै अगाडि आत्महत्या गर्नेसम्मको कल्पनामा डुबे । अन्ततः उनले इतिहासमा नाम लेखाउन राष्ट्रपतिकै हत्या गर्ने योजना बनाए । राष्ट्रपति जिम्मी कार्टरलाई एक राज्यबाट अर्को राज्यमा पछ्याउन पनि थाले र यही क्रममा हतियार बोकेको आरोपमा नासभिल्ली टेनिस्सेबाट पक्राउ पनि परे ।

पैसा नभएपछि उनी घर फर्किए । तर, घर फर्किएर डिप्रेसनको औषधी खाएपनि उनको मानसिक स्वास्थ सुधार भएन । त्यसपछि उनले नयाँ राष्ट्रपति रोनाल्ड रेगनलाई निशाना बनाउन थाले । आफ्नो योजना सफल बनाउन उनले जोन एफ केन्नडीको हत्या कसरी गरिएको थियो भनेर अध्ययन समेत गरेका थिए ।

१९८२ मा वासिङटन डिसीस्थित अदालतमा सुनुवाईका लागि उपस्थित हुँदा हिन्क्लेविरुद्ध अपराधका १३ उजूरी थिए । स्वास्थ्य रिपोर्टले उनमा सिजोफ्रेनिया, नार्सिस्टिक, डिसथाइमिया, बोर्डरलाइन लगायत मानसिक समस्या रहेको देखायो,त्यसकारण दोषी करार गरिएन । बरु, हिरासतबाट निकालेर मानसिक उपचारका लागि वासिङटनको सेन्ट एलिथावेट अस्पताल पठाइयो ।

आफू र अरुका लागि खतरा पैदा नगर्ने विश्वासका साथ संघीय अदालतले २७ जुन २०१६ मा हिन्क्लेलाई रिहा गर्न अस्पताललाई अनुमति दियो, ५ अगस्टदेखि निर्णय कार्यान्वयन गर्न मिल्ने गरी । केही शर्त राखेर उनलाई छाडिदिन मिल्ने निर्णय गरिएको थियो । जस्तै – रेगन परिवार, ब्राडी परिवार, जोडी फोस्टर र उनको परिवार वा एजेन्ट कसैसँग पनि उनी सम्पर्कमा हुनेछैनन् । आफ्नी ९० वर्षकी आमासँगै भर्जिनियाको विलियमवर्गस्थित घरमा बस्नेछन् र ८० किलोमिटर नियन्त्रित क्षेत्रभित्रै रहनेछन् ।

१० सेप्टेम्बर २०१६ मा उनी मानसिक अस्पतालबाट निस्किए, आमाकै घरमा समय बिताउने गरी । मादकपदार्थ सेवन गर्न नपाउने, कुनै हतियार देखाउन वा चलाउन नपाउने, हिंसात्मक गीत–संगीत सुन्न नपाउने, पोर्न भिडियो वा फिल्म वा तस्विरको पहुँचमा नरहने, प्रेससँग बोल्न नपाउने र सातामा तीन दिन काम गर्नुपर्ने, ४८ किलोमिटरभन्दा लामो ड्राइभ गर्न नपाउनेलगायत विभिन्न कडाई उनलाई तोकिएको थियो । उनले इन्टरनेट प्रयोग गरेको विषय पनि परीक्षणमा रहने भएकाले कम्प्युटरको वेव ब्राउजर हिस्ट्री डिलिट गर्न नपाइने नियम पनि थियो । नियमअनुसार उनले महिनामा दुईपटक मानसिक रोगको जाँच गराउनुपर्ने थियो ।

अन्य घटना

१९८२ – नासाको अन्तरिक्ष यान ‘कोलम्बिया’ आफ्नो एसटीएस–३ मिशन पूरा गरेर पृथ्वीमा फर्कियो ।

१९९२ – भारतका चर्चित लेखक तथा निर्देशक सत्यजित रे मानार्थ ओस्कार अवार्डबाट विभुषित ।

२००६ – बेलायतमा आतंकवाद निरोधक कानुन लागु ।

(विगतका ठूला घटनाक्रमबारे पाठकलाई जानकारी दिने उद्देश्यले रातोपाटीले ‘इतिहासमा आज’ स्तम्भ सुरु गरेको हो । यो स्तम्भमा विगतका वर्षहरुमा आजकै दिन घटेका देश र विदेशका ठूला घटनाक्रमबारे संक्षेपमा जानकारी गराउने गरिन्छ–सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप