शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबैको एउटै प्रश्न : इटालीमा मृत्यु दर बढी किन ?

सोमबार, १७ चैत २०७६, ०८ : ०८
सोमबार, १७ चैत २०७६

जब मिलान निवासी एन्टोनिया मार्टेन्सनलाई कार चलाइरहेको बेला प्रहरीले रोके, उनले कुनै ट्राफिक नियम उल्लङ्घन गरेकी थिइनन् । प्रहरीले उनलाई उनीसँगै यात्रा गरिरहेका यात्रुलाई पछाडीको सिटमा बस्न निर्देशन दिन र दुवैले मास्क लगाएको छ कि छैन भनेर जाँच गर्नका लागि रोकेका थिए ।

‘हामीलाई प्रहरीले दुवैजना एकै पटक कारको फ्रन्ट सिटमा बस्न नमिल्ने भन्यो,’ सीएनएनकी पत्रकार रहेकी एन्टोनियाले भनिन् । उनी आफ्नो पतिसँगै अस्पतालमा बिरामी आफन्तलाई भेट्न गइरहेका थिए । उनको आफन्तलाई कोरोनाभाइरसको संक्रमण नभएको र आफूहरुसँग अस्पतालसँग जाने विशेष अनुमति भएको पनि खुलाइन् ।

कोभिड १९ को महामारीको केन्द्रविन्दु बनेको इटालीमा अहिले यतिसम्मको कडाई गरिएको छ । इटालीमा यतिबेला सबैभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार तयार पार्दासम्म १० हजार बढीले त्यहाँ ज्यान गुमाइसकेका छन् । शुक्रबारको तुलनामा एकै दिन ८८९ जनाले ज्यान गुमाउँदै ५ अंकको आँकडासम्म इटाली पुगेको हो ।

९२ हजार ४७२ जना संक्रमितको संख्या रहेको इटालीमा अहिले विश्वकै सबैभन्दा बढी मृत्यु दर रहेको छ । महामारीको शुरुवात भएको चीनमा ८१ हजार ९९७ संख्यामा संक्रमित रहेका छन् । तर, त्यहाँ ३ हजार २९९ जनाले मात्र ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकापछि इटालीमा नै विश्वकै सबैभन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा १ लाख ५ हजार ४७० संक्रमित हुँदा त्यहाँ मात्र १७ सयले ज्यान गुमाएका छन् ।

लकडाउनमा गएको छैटौँ हप्तामा इटाली प्रवेश गर्दै गर्दा यतिबेला प्रश्न उठेको छ, किन त्यहाँ अन्य देशभन्दा मृत्युदर बढी छ ?

विज्ञहरु यसमा विभिन्न कारणहरुको संमीश्रण रहेको बताउँछन् । जसमा कोरोनाभाइरसबाट बढी खतरामा रहेको वृद्ध जनसंख्या देशमा बढी हुनु र परीक्षणको विधिले संक्रमितको सही संख्या नदेखाउनु रहेको छ ।

संक्रमितको संख्या

मिलानस्थित साको अस्पतालमा संक्रामक रोग विभागका प्रमुख डा. मासिमो गाल्ली पुष्टि भएको संक्रमितको संख्याले देशको वास्तविक संक्रमितहरुको चित्र नदिने बताउँछन् । उनका अनुसार यो संख्या निकै धेरै रहेको छ ।

अहिले सबै जनसंख्याको जाँच नगरी निकै गम्भीर बिरामीहरुको मात्र जाँच भइरहेको कारण मृत्यु दर बढी देखिएको गाल्ली बताउँछन् ।

अहिले सबैभन्दा धेरै संक्रमित रहेको लोम्बार्डीमा दैनिकरुपमा ५ हजार जनाको स्वाब परीक्षण भइरहेको छ । उनले यो परीक्षण आवश्यकताभन्दा निकै कम भएको र हजारौँको संख्यामा परीक्षणको प्रतिक्षामा रहेको बताए ।

उनले परीक्षणका लागि सबैभन्दा ठूलो अवरोध भनेको स्वास्थ्य अधिकारीहरुका लागि उपलब्ध सिमित सङ्ख्यामा सुरक्षा सामग्री रहेको बताउँछन् ।

उनले विश्वका अन्य देशलाई चेतावनी दिँदै भने, ‘हाम्रो राष्ट्रिय जनस्वास्थ्य सेवा राम्रो थियो, विशेष गरेर लोम्बार्डीमी । तर यो महामारीले यसलाई पनि धरासायी बनाइदियो ।’ ‘अस्पतालमा बेडको संख्या वृद्धि गर्न चमत्कार नै गरियो,’ उनी भन्छन्, ‘तर औषधिको कमी छ । यो समस्या अन्य देशले पनि भोग्नेछन् ।’

जोखिममा वृद्धवृद्धा

इटालीमा कोरोनाभाइरस संक्रमितको मृत्युदर धेरै हुनुमा अर्को कारण त्यहाँको वृद्ध जनसंख्या पनि रहेको छ । इटालीमा जापानपछि सबैभन्दा धेरै वृद्ध जनसंख्या रहेको छ । देशको स्वास्थ्य संख्थाले शुक्रबार जारी गरेको तथ्याङ्कमा कोरोनाभाइरसको संक्रमित भएपछि ज्यान गुमाउनेहरुको औसत उमेर ७८ वर्ष रहेको थियो ।

गाल्ली भन्छन्, ‘अहिलेसम्म हाम्रो जनस्वास्थ्य सेवाले पूर्ववत स्वास्थ्य समस्या भएका बृद्धबृद्धाहरुलाई जीवन प्रदान गरिरहेको थियो । तर, उनीहरु निकै संवदेनशील अवस्थामा थिए । जसलाई कोरोनाभाइरसजस्ता भाइरसले सजिलै तोड्न सक्थ्यो ।’

यसका बावजुद केही आशाका समाचारहरु पनि बाहिर आएका छन् । उत्तरी सहर जेनोआमा २० दिनसम्म अस्पतालमा बसेर कोरोनाभाइरसबाट संक्रमित बनेकी १०२ वर्षीया इटालिका ग्रोन्डोना निको भएकी छिन् ।

‘हामीले उनीको नाम ‘हाइल्यान्डर द इमोर्टल (अमर)’ राखेका छौँ,’ उनको उपचारमा संलग्न डाक्टर भेरा सिक्बाल्डीले भने । इटालिका महामारीसँग लडिरहेका बृद्धबृद्धाहरुका लागि आशाको किरण भएको उनी भन्छन् ।

प्रतिबन्धको सफलता

केही विज्ञहरुले इटालीले लिएको प्रतिबन्धको उपायहरुले भाइरसको फैलावटलाई रोक्न कति सफल रह्यो भन्ने विषयमा प्रश्न उठाएका छन् ।

चीनको ऊहान आफ्ना नागरिकमाथि लकडाउन गर्ने पहिलो सहर बनेको थियो । गत जनवरीमा १.१ करोड जनसंख्या रहेको सहरको सबै यातायातका साधनहरु बन्द गरिएको थियो भने राजमार्गहरु सिल गरिएको थियो ।

दुई महिनापछि महामारीको केन्द्रविन्दु बनेको ऊहानमा नयाँ संक्रमित फेला पर्न छाडेपछि स्वास्थ्य अधिकारीहरु प्रतिबन्धहरु कम गर्ने तयारीमा छन् । इटालीमा भने प्रतिबन्ध थप गरिदैछ । सरकारी अत्वाश्यक कामबाहेक बाहिर निस्केर सरकारी आदेश ताडे त्यहाँ ३ हजार युरोसम्म जरिवाना तिर्नुपर्नेछ ।

तर, प्रा. डा. जर्जियो पालु इटालीको प्रतिबन्ध चीनको जस्तो सख्त नभएको बताउँछन् । ‘प्रजातन्त्रमा तपाईंले गर्नुसक्ने यति नै हो,’ उनले चीनको कम्युनिस्ट शासनतर्फ लक्षित गर्दै भने, ‘अहिले हाम्रा केही संवैधानिक अधिकारहरु खोसिएका छन् ।’ तर, मृत्यु हुनेको संख्या बढी रहँदा इटालीको प्रतिबन्ध यति चाँडै हट्ने छाँटकाँट देखिँदैन ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप