शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्यसामग्रीको पसल सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती, ग्यासको पनि उस्तै समस्या (भिडियोसहित)

आइतबार, १६ चैत २०७६, १४ : ४२
आइतबार, १६ चैत २०७६

काठमाडौं । राजधानीको सबैभन्दा धेरै चहलपहल हुने पुरानो बजार असन इन्द्रचोक अहिले सुनसान छ । 

अरु बेला पाइला टेक्ने ठाउँ नहुने न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी जस्ता ठाउँमा लकडाउन पछि सन्नाटा छाएको छ । सरकारले अत्यावश्यक सेवा अन्तर्गत मेडिकल, खाद्यान्न लगायत अत्यावश्यक पसल खुला गर्न भनेपनि दिउँसोको समयमा यस क्षेत्रमा कुनैपनि खाद्यान्न पसल खुलेको थिएन । 

असनका ८२ बर्षीय बृद्ध मुकुन्द कर्माचार्यले अघिपछि ३० रुपैयाँका किन्ने गरेको साग १ सय २० रुपैयाँ पुगेको भन्दै बजारको मूल्य कसले नियन्त्रण गर्ने भन्दै प्रश्न गरे । 

उनले मास्क, सेनिटाइजरमा कालोबजारी भयो भनेर त्यतामात्र नहेरी सरकारी निकायले दैनिक उपभोग्य खाद्यबस्तुमा भएको मूल्यवृद्धि रोकथाम गर्ने तर्फपनि दिनुपर्नेमा जोड दिए । 

उनले भने, ‘आज बिहान ३० रुपैयाँ पर्ने सञ्चो किन्न गएको त्यसको ३५ रुपैयाँ भन्यो । त्यसलाई के भन्ने ?’ 

उनले दैनिक उपभोग्य सामग्रीको भाउ बढेको भन्दै नियन्त्रण गर्न आग्रह गरे । 

असन चोकमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द प्रसाद भण्डारीले असन क्षेत्रका सम्पूर्ण खाद्यसामग्री पसल बन्द भएको बताए । त्यस क्षेत्रमा कपडा पसल धेरै रहेकोमा ती पसलहरु बन्द भएसँगै खाद्यान्न पसल पनि बन्द भएको बताए । 


असनमा साँझ मात्र खाद्यसामग्री पसल खुल्ने भएका कारण सबै स्थानीय एकैपटक गएर सामान खरिद गर्ने गरेको स्थानीय मनोज श्रेष्ठले बताए । 

सरकारले किराना तथा खाद्य ामग्री पसल कतिबेला खोल्ने, कसरी खोल्ने भन्ने स्पष्ट नपारेका कारण पनि व्यवसायी तथा उपभोक्ता अलमलमा छन् । अघिपछि हुने नेपाल बन्दमा ५ बजेपछि बजार खुलेजस्तै लकडाउनका बेला पनि साँझमा पसल खोल्ने र उपभोक्ताको भीड लाग्ने गरेको छ ।

मानिसहरु बीच एक अर्कामा सम्पर्क नहोस् र भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन घोषणा गरेपनि त्यसको कस्तो कार्यान्वयन भइरहेको छ किराना पसलमा देख्न सकिन्छ । 

अग्रिम घोषणा नभइ एक्कासी लकडाउनको घोषणापछि सर्वसाधारणले खाद्यबस्तुको जोहो गर्न नपाएको गुनासो पनि आइरहेको छ । कतिपय स्थानमा भने प्रहरीले आफैले खाद्य सामग्रीको पसल समेत बन्द गराउने गरेको छ । 

ग्यास नपाउदा दाउरा बाल्न थालेको सर्वसाधारणको गुनासो 
चीनमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि नेपालमा ग्यासको लाइन लाग्न थालेको थियो । झन्डै २ महिना अघिदेखि वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा ग्यासको अभाव नभएको र हुन नदिने बताउँदै आएका थिए । तर उपभोक्ताले खाना पकाउने ग्यास नपाएर हैरानी खेप्न थालेका छन् ।  

भक्तपुरको ठिमीमा बसोबास गर्ने मनोज साह काठमाडौंकोे जडिबुटीमा ग्यास खोज्दै आइपुगेका थिए । बाराका जबर पटेलले चामल, दाल, ग्यास किन्न नपाएर समस्या भएको बताए । ग्यास नपाएपछि फर्निचर कारखानाबाट दाउरा किनेर खाना पकाएको उनले ताए । उनी पनि ग्यासको रित्तो सिलिन्डिर बोकेर जडिबुटी स्थित साल्ट ट्रेडिङ कर्पोरेशनको बिक्री डिपो अगाडि लाइन बसेका थिए । 

सानोठिमीका टेकबहादुर गिरीले घरमा ग्यास सकिएको ५ दिनपछि बल्ल तल्ल ग्यास पाए । ५ दिनसम्म उनले दाउरा बालेर खाना बनाउनुपर्यो । 

काठमाडौं पेप्सिकोलाका हरि श्रेष्ठले दिउँसोको समयमा खाद्यान्न पसल नखुल्दा समस्या परेको बताए । 

मनकुमार राई ज्यामी काम गर्छन् । काम नपाएपछि कोठाभाडा कसरी तिर्ने भन्ने समस्या रहेको उनले बताए । सरकारले ग्यासको अभाव नहुने बताएपनि १ महिनादेखि ग्यास नपाएको उनको गुनासो थियो । किराना पसल ठप्प रहेको र सरकारले खानेकुरा सामग्री घरसम्म ल्याइदिने व्यवस्था गर्न उनको आग्रह छ । 

निगमका कार्यकारी निर्देशक भन्छन्ः डिलरमा पाइन्छ

उपभोक्ताले दैनिक रुपमा ग्यासको समस्या झेलेपनि ग्यासको अभाव नभएको नेपाल आयल निगमको दावी छ । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भारतबाट आउने ग्यासमा कमि नभएको बताउदै ग्यास अभाव नभएको र निगमले तोकेको डिलरबाट सजिलै ग्यास पाउने दावी गरे ।

सरकारले लकडाउनको घोषणा गरेपछि उपभोक्तालाई सहज होस् भनेर निगमले काठमाडौं उपत्यकामा १८ वटा डिलर र उनीहरुको फोन नम्बर सार्वजनिक गरेको थियो । निगमले दिएको यी डिलरको नम्बरमा फोन गर्दा कि फोन उठाउदैनन् कि त फोन व्यस्त भएको हुन्छ । 

एकान्तकुनामा सागर र लोकप्रिय ग्यासका बिक्रेताले सरकारले डिलर मार्फत ग्यास पाउने बताएपनि आफ्नो डिलरले १० दिनदेखि ग्यास नपाएको बताए । 
तर शुक्रबार मात्र ८० हजार सिलिन्डर ग्याँस बिक्री गरेको निगमका कार्यकारी निर्देशक पौडेलको दावी छ । आइतबारदेखि आधा भरेर  ग्यास बिक्री थालिएपछि ग्यास थप सहज हुने उनको दावी छ । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप