शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका मृत्यु प्रकरणः किष्ट अस्पतालले दियो यस्तो स्पष्टीकरण

आइतबार, १६ चैत २०७६, १३ : २४
आइतबार, १६ चैत २०७६

ललितपुर– ललितपुर इमाडोल स्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा हिजो ९ महिनाकी बालिकाको मृत्यु भएपछि अस्पतालले स्पष्टीकरण दिएको छ ।

डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेका थिए । ९ महिनाकी बालिका कृष्टिना खत्री शुक्रबार साढे १२ बजे लडेर बेहोस भएपछि १५ मिनेटभित्र अस्पतालमा ल्याएको भएपनि डाक्टरले उपचार नै नगरेको आरोप अफन्तले लगाएका थिए । 

घटना बाहिर आएसँगै अस्पतालले एक विज्ञप्ती जारी गरी बालिकाको मृत्युको कारणबारे बोलेको हो ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महालक्ष्मी नगरपालिका निवासी ९ महिनाकी बालिका अस्पतालको इमर्जेन्सीमा चैत १४ गते दिनको १२ः०५ बजे अविभावकले लिएर आउनु भएको र अस्पताल ल्याउँदाको अवस्थामा बच्चाको स्वास प्रश्वास नचलेको, मुटुको धडकन नभएको, कार्डियक पल्स (Cardiac Pulse) पनि नभएको तथा पूर्ण अचेत अवस्थामा थियो । तत्काल विरामीको उपचारमा बालरोग विशेषज्ञ, एमडीजीपी कन्सल्टेन्ट तथा मेडिकल अफिसरको संयुक्त टोलीले सुरुदेखिनै प्रयास गरेको थियो । बच्चा मृत अवस्थामा नै अस्पताल आए पनि चिकित्सकको टोलीले आफ्नो नितीअनुरुप सीपीआर (Cardiac Pulmonary Resuscitation) गर्दा पनि बच्चाको अवस्थामा कुनै परिवर्तन नभएको जानकारी गराइन्छ ।’

अस्पतालले बच्चाको अविभावकलाई त्यसै क्षणमा सम्पूर्ण जानकारी गराएको र अविभावकले सकेसम्मको कोसिस गर्न मौखिक मन्जुरी दिएको पनि अस्पतालले जनाएको छ ।

हालको विषम परिस्थितीमा पनि अस्पतालले सम्पूर्ण जेनरल तथा कोभिड–१९ संक्रमणको शंका लागिेका बिरामीहरुको उपचारमा अस्पताल लागिरहेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप