बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा नाममात्रको ‘लकडाउन’, हजारौँ यात्री सडकमा, सयौँ बस सञ्चालन

आइतबार, १६ चैत २०७६, ११ : २८
आइतबार, १६ चैत २०७६

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारत सरकारले लागू गरेको ‘लकडाउन’लाई मजदूरहरुले चुनौती दिएका छन् । दिल्ली, गाजियावाद, नोएडा लगायतका सहरमा हजारौँ प्रवासी मजदूर सडकमा निस्किएका हुन् ।

दैनिक कमाइ गरेर आफू तथा परिवारको गुजारा चलाउँदै आएका मजदूरहरु लामो समयसम्म कामविहीन भएर जीविकोपार्जन गर्न सक्ने अवस्था नभएका कारण घर फर्कनका लागि सडकमा निस्किएका हुन् । 
मजदूरहरु सडकमा निस्किएपछि स्थानीय प्रशासनले उनीहरुलाई घरसम्म जानका लागि बसको सुविधा उपलब्ध गराएको छ । गाजियावादस्थित युपी गेटमा फसेका हजारौँ मजदूरलाई जिल्ला प्रशासनले बस उपलब्ध गराएर कौशाम्बी डिपोमा पु¥याएको छ । त्यहाँबाट युपीका विभिन्न सहरमा जान छुट्टाछुट्टै बसको व्यवस्था गरिने जनाइएको छ ।

यद्यपि सडकमा हजारौंको संख्यामा भेला भएका मजदूरहरु, उनीहरुलाई घण्टौँसम्म सार्वजनिक बसमा यात्रा गराइनुले कोरोना संक्रमण फैलिने जोखिम बढ्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्न सरकारले लकडाउन गरेको भए पनि बसभित्र कोचाकोच, छतमा समेत खचाखच भरिएका मजदूरहरुलाई बोकेर दर्जनौँ बस हिँडिरहेको दृष्यले सरकारलाई कोरोना नियन्त्रणमा चुनौती थपिएको अधिकारीहरुको भनाइ छ ।

सडकमा मजदूरहरु भौँतारिइरहेको, कयौँ त पैदल नै सयौँ किलोमिटरको दूरी हिँडेको पाइएपछि स्थानीय प्रशासनले उनीहरुलाई बस उपलब्ध गराएको हो ।

युपी गेटमा भीड लागेको जानकारी पाएपछि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियासमेत केही अधिकारीहरु उक्त क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । दिल्लीसँग जोडिएको गाजियावादको कौशाम्बी बसपार्कबाट एक हजार बस सञ्चालन गर्ने निधोमा राज्य सरकार पुगेको हो ।

लकडाउनका बाबजुद सरकारले यस्तो फैसला लिनुले लकडाउनको औचित्यमाथिसमेत प्रश्न उठेको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ भने केहीले मजदूरहरुलाई उद्धार गर्नु राज्यको कर्तव्य भएको तर्क गरिरहेका छन् ।

एजेन्सीकाे सहयोगमा रातोपाटीको अनुवाद
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप