शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहमा सुरु भयो ‘जनता कर्फ्यु’, विदेशबाट आउनेको तथ्यांक निकाल्दै पूर्ण निगरानीमा

आइतबार, १६ चैत २०७६, ११ : २२
आइतबार, १६ चैत २०७६

 कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र रहेका जनतालाई पूर्ण निगरानीमा राख्न थालेको छ । मुख्यतः विदेशबाट आएका नागरिकहरुमा कोरोनाको संक्रमण देखिएपछि स्थानीय तहले विदेशबाट आउने नागरिकको तथ्यांक संकलन र निगरानी बढाएको छ ।

धादिङको धुनिवेशी गाउँपालिकाले चैत्र महिनामा विदेशबाट आउने नागरिकको तथ्यांक संकलन गरी प्रकाशनसमेत गरेको छ । आफ्नो स्थानीय तहमा चैत महिनामा विदेशबाट आउनेहरुको तथ्यांक संकलन गरी उनीहरुलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले रातोपाटीलाई बताए ।

नगरपालिकाको चैत महिनामा बाहिरी देशबाट फर्कने १८ जना नागरिकको सूची सार्वजनिक गर्दै उनीहरुलाई पूर्ण क्वारेन्टाइनमा राखिएको छ । 

रातोपाटीसँग कुराकानी गर्दै मेयर आचार्यले भने, ‘हामीले चैत महिनामा विदेशबाट हाम्रो नगरपालिकामा फर्कनेहरुको तथ्यांक संकलन गरी सार्वजनिक गरेका छौँ । यसको कारण उनीहरुलाई हतोत्साही गर्ने नभएर उनीहरुलाई निगरानी गर्नका लागि हो । किनभने अहिले देखिएको कोरोना संक्रमण विदेशबाट आउनेमा मात्रै देखिएकाले हामीले उनीहरुको तथ्यांक संकलन गरेका हौँ ।’

मेयर आचार्यका अनुसार अहिले धुनिवेशी नगरपालिकामा १८ जना नागरिक चैत महिनामा विदेशबाट फर्केको पाइएको छ । उनले भने, ‘हामीले उनीहरुलाई सम्पर्क गरी हामीले बनाएको क्वारेन्टाइनमा बस्न भन्यौँ । तर उनीहरुले आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने र बाहिर ननिस्कने बताएका छन् । हामीले पनि उनीहरु र उनको परिवार घरबाट बाहिर निस्कन नपाउने गरी उनीहरुकै घरमा पूर्ण क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छौँ । यसले उनीहरु र सम्पूर्ण समाजलाई कोरोनाबाट बचाउन सक्नेछ ।’

उनीहरु बाहिर निस्किए के हुन्छ त भन्ने रातोपाटीको प्रश्नमा मेयर आचार्यले भने, ‘हामीले बाहिरबाट आउनेको सूची सार्वजनिक गर्नुको कारण पनि उनीहरु निगरानीमा छन् भन्ने जानकारी दिनका लागि हो । यो सूची सार्वजनिक भएपछि छिमेकीहरुले अर्थात स्थानीय जनताले नै उनीहरुमाथि निगरानी राख्नेछन् । यसको अर्थले छिमेकीले नै उनीहरुमाथि कर्फयू लगाउनेछन् र निगरानी राख्नेछन् । यदि उनीहरु बाहिर निस्किए भने त्यो सूचना हामीलाई आउँछ र हामी उनीहरुलाई नियन्त्रणमा लिई हामीले बनाएको क्वारेन्टाइनमा राख्ने छौँ ।’

मेयर आचार्यका अनुसार विदेशबाट आएका वा उनीहरुका परिवारलाई कुनै स्वास्थ्य समस्या भएमा तत्कालै खबर गर्न भनिएको छ । खबर आउनेबित्तिकै नगरपालिकाले स्वास्थ्यकर्मीको टोली पठाएर प्रारम्भिक चेकजाँज तथा उपचार गर्ने र थप उपचारको आवश्यकता भए काठमाडौं पठाउने व्यवस्था मिलाइएको आचार्यले बताए । 

विदेशबाट आउने जनतालाई निगरानी र क्वारेन्टाइनमा राख्न सकिए कोरोनाको संक्रमण नफैलिने भन्दै अहिले नगरपालिकाभित्रै जनताबाटै कर्फ्यू लगाउने व्यवस्था मिलाइएको र निगरानी गरिएको उनले बताए ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप